PahiloPost

May 27, 2018 | १३ जेठ २०७५

काठमाडौँ प्रहरी प्रमुखबाट धानुकलाई हटाइयो, विश्वराज पोखरेललाई जिम्मेवारी


सविन ढकाल/पहिलोपोस्ट

काठमाडौँ प्रहरी प्रमुखबाट धानुकलाई हटाइयो, विश्वराज पोखरेललाई जिम्मेवारी
एसएसपी विश्वराज पोखरेल
काठमाडौँ : एसएसपी विश्वराज पोखरेल काठमाडौँका नयाँ प्रहरी प्रमुख बनेका छन्। 

एसएसपी रविन्द्र धानुकलाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर पोखरेललाई जिम्मेवारी दिइएको हो। प्रहरी प्रधान कार्यालयले पोखरेललाई महानगरीय प्रहरी परिसर काठमाडौँमा सरुवा गरिएको पत्र आजै दिएको छ। उनी भोलिदेखि परिसरमा हाजिर हुँदैछन्। 

पोखरेल यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा थिए। 

गएको साउन ३१ गते २५ जना एसपीबाट एसएसपीमा बढुवा हुँदा ७६.४६६० अंकसहित बढुवा सुचीमा पूछारमा परेका थिए धानुक। तर काठमाडौँ जस्तो महत्वपूर्ण ठाउँको प्रमुख बन्ने दौडमा भने सबैभन्दा अगाडि भएका थिए उनी। 

प्रायः एसएसपीहरु काठमाडौं प्रहरी प्रमुख हुन लालायित हुन्छन्। तर सबैले यो अवसर भने पाउँदैनन्।  काठमाडौँ जिल्लाकै प्रमुख भएर रमेश खरेल र सर्वेन्द्र खनाल लगायतले नाम कमाएका छन्। एसएसपी धानुकले पनि गएको भदौ ७ गते यो अवसर पाए। तर उनले आफ्नो कार्यकालमा केही पनि स्मरणीय काम गर्न सकेनन्।

महानगरीय प्रहरी परिसर प्रमुखको पदमा कसलाई ल्याउने भन्नेबारे आइजी र गृहमन्त्रीबीच विवादका कारण लामो समयदेखि पदस्थापन हुन नसकेको पृष्ठभूमिमा तत्कालीन गृहमन्त्री जनार्दन शर्मा कै इच्छा अनुसार धानुकले यो जिम्मेवारी पाएका थिए। रुकुमको प्रहरी प्रमुख हुँदा एसएसपी धानुक र शर्मासँग नजिकिएका थिए। 

प्रधानमन्त्री शेरबहादुर देउवाका समेत विश्वास पात्र थिए धानुक। तर पाँच महिनामै हाल गृहमन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्रीको दबाबमा उनलाई हटाउनुको कारण बन्यो पूर्व डिआइजी नवराज सिलवाल। सांसद निर्वाचित भइसकेका सिलवाल यतिखेर सम्पर्कविहीन छन्। प्रहरीले उनलाई खोजिरहेको छ, तर फेला पार्न सकेको छैन। सिलवाललाई जानकारी दिने, कीर्ते मुद्दा चलाउन आनाकानी गर्ने जस्ता गतिविधिपछि देउवा र उनको दूरी बढेको स्रोत बताउँछ।  

धानुकलाई बाग्लुङमा सरुवा गरिएको पत्र दिइएको छ। 


काठमाडौँ प्रहरी प्रमुखबाट धानुकलाई हटाइयो, विश्वराज पोखरेललाई जिम्मेवारी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट