PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वध : थाहा छैन यस्तो किन हुन्छ?



वध : थाहा छैन यस्तो किन हुन्छ?

  • लिलाराज खतिवडा

मध्यरात।

झम्झम् पानी परिरहेको थियो। एउटा बीस–बाइस वर्षे युवक नयाँ सडकको पेटीमा टुक्रुक्क बसेर रुझिरहेको थियो। ऊ दुब्लो थियो। एउटा थोत्रे र भ्वाङ् परेको कम्बलले उसले आफ्नो शरीर ढाकेको थियो। झुस्स दाह्री थिए। लामो र लट्टा परिसकेको कपाल। उसका आँखाहरु शून्यमा टोलाइरहेका प्रतित हुन्थे। ऊ लगातार ‘हो... हो...हो...’ गर्दै लामो र अनौठो लय हालेर एकोहोरो अनि उराठलाग्दो धून गुनगुनाइरहेको हुन्थ्यो। घरीघरी सडकबाट भुस्याहा कुकुरहरु वर र पर दगुर्ने गर्दथे। अनि ती बेतहासा भुकिरहेका पनि हुन्थे।

झल्याँस्स व्यूँझियो साइक्याट्रिस्ट उद्धव थापा। 

उफ् ! फेरि त्यही रहस्यमय सपना ? ऊ हैरान भयो। बिस्तारै उठ्यो। बत्ती बाल्यो। एक अंखोरा पानी घट्घटी पियो। अनि दिमागमा जोर दिएर त्यही रहस्यमय सपनाका बारेमा सोच्न थाल्यो।

‘यो कस्तो सपना हो?’ आँखिभौं एकत्रित गर्दै केही बेर सोचेर उसले आफैँलाई प्रश्न गर्यो,‘यो मलाई नै किन बारम्बार आइरहेको छ ?’

लगभग एक महिनाअघिदेखि त्यो रहस्यमय युवक लगातार उसको सपनामा टप्किरहेको थियो। सबै सपनाहरु उस्तै हुन्थे। मध्यरात, भारी वर्षा, झुत्रे युवक, नयाँ सडको पेटी, भुस्याहा कुकुरहरु। अनि सबै भन्दा रहस्यमय, त्यो युवकको उराठलाग्दो एकोहोरो धून।

डा. उद्धव थापाले पन्ध्र वर्ष अगाडि भारतको एउटा मेडिकल कलेजबाट साइक्याट्रिमा एमडी गरेको थियो। र पढाइ सकेर स्वदेश फर्किएकै सालदेखि एउटा सरकारी अस्पतालमा मानसिक रोग विशेषज्ञको हैसियतले काम गरिरहेको थियो। सात महिनाअघि नै उसकी जीवन संगीनीको देहान्त भैसकेको थियो। उसकी एक मात्र छोरी अमेरिकामा एमविविएस गर्दै थिई। घरमा एउटा काम गर्ने केटो मात्रै थियो उसको साथी। तर त्यो पनि आजकल आमा बिमारी भएर लिन आफ्नो घर गएको थियो।

ओछ्यानमा पल्टिएर डा. थापाले निकै बेरसम्म त्यही पुनरुक्तिक सपनाका बारेमा सोचिरह्यो। सिग्मंड फ्रायडको दि इन्टरप्रिटेसन अफ ड्रिम्स एबम् कार्ल गुस्ताभ युंगका सपना सम्बन्धी च्याप्टरहरुबाट राम्रैसँग परिचित ऊ कसै गर्दा पनि त्यो रहस्यमय सपनाको अर्थ वा संकेतलाई बुझ्न सकिरहेको थिएन।

‘सायद म आवश्यकता भन्दा बढी नै गंभीर हुँदैछु,’ उसले सोच्यो, ‘आखिर सपनै त हो। यसका बारेमा धेरै सोच्नु भनेको आफूलाई अरु तनावग्रस्त तुल्याउनु हो।’

अनि उसले निदाउने प्रयत्न गर्यो। तर कसैगर्दा पनि उसलाई निद्रा परेन। ओल्टेकोल्टे फेर्दाफेर्दै छर्लङ्ग उज्यालो पनि भयो। अनि सबेरै ऊ मर्निङ्वाकमा निस्कियो। सोच्न नचाहँदा–नचाहँदै पनि उसलाई त्यो सपनाको युवकले बारम्बार सताइरहेको थियो। हुन त एउटा भनाइ पनि प्रचलित
छ : मान्छे जुन कुरा सोच्न चाहँदैन त्यही कुराले पछ्याएर ऊ हैरान हुन पुग्छ।

त्रिपुरेश्वरमा थियो डा. थापाको घर। 

रंगशालालाई पछाडि छाडेर उ सुन्धारा हुँदै न्यूरोडको पीपलबोटतर्फ लाग्यो। पीपलबोट पुगेपछि उसले एउटा अखबार किन्यो। यो उसको नियमित प्रातः दैनिकी थियो। सँधै उ अखबार किनेर पुनः घर फर्किन्थ्यो। तर त्यो दिन के विचार आयो कि ऊ न्युरोड गेटतर्फ हान्नियो। त्यता जाने कुनै ठोस योजना वा काम त थिएन। तर पनि ऊ विस्तारै अघि बढिरह्यो। न्युरोड गेटनिर के पुगेको थियो, नराम्रोसँग झस्किन पुग्यो ऊ।

अचम्म ! 

उसले सपनामा देख्ने गरेको जस्तै एउटा झुत्रे युवक सडक पेटीमा कम्बल ओढेर टुक्रुक्क बसेको थियो। अनायाशै डा. थापा त्यो युवकको छेउमा पुग्यो र उसलाई नियालेर हेर्न थाल्यो। त्यस्तै भ्वाङ् परेको कम्बल, झुस्स दाह्री, लट्टा परेको लामो कपाल ...। उसले युवकको चेहरा झन् नियालेर हेर्यो। बिल्कुलै उस्तै। उसले सपनामा देख्ने गरेको युवकसँग काटीकुटी मिल्थ्यो यो युवक।

‘यो संयोग हो कि अर्थोकै केही?’ युवकलाई गहिरिएर हेर्दै माथामा जोर दिएर उसले सोच्यो। 

ठीक त्यसैबेला पानी दर्किन थाल्यो। पानी दर्किनासाथ युवकले एउटा उराठलाग्दो ‘हो...हो ...हो...’ धुन गुनगुनायो। डा. थापा फेरि नराम्रोसँग झस्किन पुग्यो। उसलाई चिट्चिट् पसिना पनि आइरहेको थियो। ऊ एउटा घनघोर आश्चर्यमा हेलिन पुगेको थियो। यो बिल्कूलै त्यही धून थियो जो सपनाको युवकले पनि गाउने गथ्र्यो। सबै कुरा उस्तैउस्तै लाग्दै गइरहेको थियो। डा. थापालाई आश्चर्य र भयले एकसाथ आक्रमण गरेको थियो।
‘भाइ तिमी को हौ ?’ युवकको छेउमा टुक्रुक्क बसेर डा. थापाले सोध्यो, ‘यहाँ किन यसरी बसिरहेको ?’

युवकले कुनै प्रतिक्रिया जनाएन। ऊ लगातार शून्यमा टोलाइरहेको थियो। यस्तो लागिरहेको थियो कि युवकले उसको आवाज सुनेकै थिएन।

डा. थापाले युवकलाई काँधमा समाएर झक्झक्यायो र पुनः सोध्यो ‘भाइ तिमी को हौ?’

तर युवकले यसपाली पनि कुनै प्रतिक्रिया ब्यक्त गरेन। उसले पुनः त्यही अनौठो धून गुन्गुनायो। यस्तो लाग्थ्यो, उसलाई डा. थापाको उपस्थितिको कुनै हेक्का नै छैन।

डा. थापाले लामो सास फेर्यो। त्यो युवक क्रोनिक् मानसिक रोगले ग्रस्त भएको कुरा बुझ्न उसलाई कुनै बेर लागेन। अनि ऊ जुरुक्क उठ्यो। पानी अझै दर्किरहेको थियो। भिज्दै भए पनि उसले एउटा ट्याक्सी रोक्यो। ड्राइभरको सहयोगमा उसले युवकलाई पछिल्लो सिटमा राख्यो। त्यसरी झ्यानाकुटी पार्दै ट्याक्सीमा लोड गर्दा पनि युवकले कुनै विरोध वा प्रतिवाद गरेन।

आफ्नो अस्पताल पुर्याएर डा.थापाले युवकलाई मानसिक वार्डमा भर्ना गरिदियो। अनि सहायकहरुलाई केही निर्देशन पनि दियो। युवकको उपचार शुरु भयो।

एक सहकर्मी डाक्टरलाई डा. थापाले आफ्ना रहस्यमय पुनरुक्तिक सपना र युवक कसरी फेला पर्यो भन्ने बारेमा बतायो।

‘यो घटना जति संयोगजनक छ त्यति नै रहस्यमय पनि। कहिले काहीँ भविष्यमा हुने घटनाहरुको झझल्को कुनै न कुनै रुपमा हाम्रो सामु प्रकट हुने गर्दछन्,’ सहकर्मी डाक्टरले यत्ति नै प्रतिक्रिया व्यक्त गरयो।

डा. थापाले थप्यो, ‘अवश्य। यो डेजाभू हुन सक्छ। तर यो डेजाभू मात्रै चाहिँ पक्कै होइन।’

सहकर्मीले सही थाप्यो। अनि उनीहरु आआफ्नो काममा लागे।

केही दिन बिते। 

युवकमा धेरै सुधारहरु आउँन थाले। ऊ आफैँ भात खान, दाँत माझ्न र नुहाउन पनि थाल्यो। तर एउटा कुरा भने अझै पनि आश्चर्यजनक नै थियो। त्यो के भने, युवक कसैसँग दोहोरो कुराकानी गर्दैन थियो। सोधेका कुराको जवाफ पनि दिँदैन थियो। बेला–बेला त्यही उराठलाग्दो र एकोहोरो धून भने उसको मुखबाट उसैगरी निस्किने गर्दथ्यो।

यसैबीच डा. थापा एउटा कन्फेरेन्समा भाग लिन पेरिस जाने भयो। उसले आफ्ना सहायकहरुलाई भन्यो, ‘यो केटाको उपचार म नआउन्जेल जारी
राख्नू र मुख्य औषधिको रुपमा बीस एमजी ओलान्जेपाइन चलाइराख्नू। केटाको अवस्था हेरी अरु औषधीहरु थपघट् गर्नू।’

अनि डा. थापा दुई हप्ताका लागि पेरिसतर्फ उड्यो।

युवक फेला परेदेखि त्यस्तो कुनै सपनाले उसलाई सताएको पनि  थिएन। कन्फेरेन्स राम्रै भयो।

ऊ पेरिसबाट फर्कियो।

‘कस्तो छ त्यो केटालाई अहिले?’ सामान्य कामहरु सकेर ओपिडीमा उसले आफ्नो सहकर्मीलाई सोध्यो।

‘त्यो केटो बोल्न थाल्यो। तर होशको कुरै गर्दैन। उराठलाग्दो धून गाउँनचाँहि चटक्कै छाडेको छ,’ सहकर्मीले बतायो। 

‘ग्रेट !’ डा. थापाले भन्यो र वार्डतर्फ हान्नियो।

वार्डमा युवक भित्तापट्टि फर्किएर आफ्नो बेडमा बसेको थियो। 

डा. थापाले विस्तारै उसको काँधमा हात राख्यो र सोध्यो, ‘भाइ कस्तो छ अहिले तिमीलाई?’

युवक विस्तारै ऊतिर फर्कियो र नियालेर डा. थापालाई हेर्न थाल्यो। 

एकै छिन उसको चेहरा नियालिसकेपछि युवकले झस्किएर भन्यो,‘अरे, बुबा?’

सुनेर डा. थापा पनि झस्किन पुग्यो।

तर तुरुन्तै सम्हालिएर उसले सामान्य भावमा युवकलाई प्रश्न गर्यो, ‘बुबा रे ? के म तिम्रो बुबा जस्तै देखिन्छु र?’

‘कस्तो अचम्मको कुरा गर्नुहुन्छ तपाईं? तपार्इं मेरो बुबा त हो नि,’ युवक तोडले बोल्यो।

‘ए, बल्ल बुझेँ। सडकबाट उठाएर मैले तिम्रो उपचार गरेकाले तिमीले मलाई आफ्नो बुबा ठानेको हुनु पर्छ,’ डा. थापाले आफ्नो चेहरामा मुस्कान ल्याउन खोज्दै नरम आवाजमा भन्यो।

‘होइन,’ युवकले अलिक क्रोधित भएर भन्यो,‘तपार्इं मलाई छल्न नखोज्नुहोस्। तपार्इं मेरो साख्खे बुबा हो। र म तपाईंको छोरो हुँ।’

‘तर कसरी?,’ डा. थापाले आश्चर्य मान्दै सोध्यो।

‘कसरी रे ? लाज लाग्दैन ? मेरी आमालाई तपाईंले बलात्कार गर्नुभएको थियो। थाहा छ ? म त्यही बलात्कारको परिणाम हुँ।’ युवकले फेरि उसैगरी भन्यो।

‘उफ् !’ डा. थापाले भन्यो, ‘सो स्याड् !’

युवकको मुखबाट फुत्कियो, ‘यु आर माइ ड्याड !’

युवकको अन्तिम कुरामा कुनै प्रतिक्रिया नजनाउने प्रयास गर्दै डा. थापा त्यहाँबाट हिँड्यो।

तर युवक विजुलीको रफ्तारमा फुत्त बेडबाट ओर्लियो र फुर्तिसाथ अगाडि पुगेर डा. थापाको कठालो पक्रिँदै क्रोधित भावमा भन्यो, ‘साले बलात्कारी ! म तेरो अहिले नै वध गरिदिन्छु।’

डा. थापाले एकै झट्कामा आफ्नो कठालोबाट युवकका हातहरु फुत्कायो। वार्डका कर्मचारीहरु अबेर नगरी गुरुर्र कुदेर त्यहाँ पुगे र युवकलाई नियन्त्रणमा लिए।

अनि डा. थापाले क्रोधित हुँदै आदेश दियो, ‘सिस्टर, यसलाई तुरुन्तै हेलोपेरिडोल, नर्फिन र फेनार्गन मिसाएर इन्जेक्सन हान्देऊ।’
सबैले युवकलाई समाते। ऊ फड्फड् गरिहेको थियो। नर्सहरुले इन्जेक्सन हानेपछि त्यो युवक अचल भएर वेडमा लुढ्कियो। उत्तानो सुतेर ऊ ख्वाँर्रख्वाँर्र मुखबाट सास फेर्न थाल्यो। कर्मचारीहरुले उसका हात र खुट्टाहरु मिलाएर बाँधिदिए।

डा. थापाले आफ्नो सहायकलाई आदेशात्मक लवजमा भन्यो, ‘अब यो केटालाई केही साइकल इलेक्ट्रोकन्भल्सिभ थेरापी दिनुपर्छ। विद्युतीय झट्का नदिएसम्म सायद यो केटो आफ्नो वास्तविकतामा फर्किँदैन।’

‘हुन्छ सर। म तयारी गर्छु। भोलिदेखि नै थेरापी शुरु गर्छु,’ सहायकले आदेश शिरोपर गर्दै भन्यो।

डा. थापाका लागि अब त्यो युवक केवल एउटा प्यासेन्ट थियो। उसलाई त्यो पुनरुक्तिक सपनाले सताउन पनि छाडेको थियो। बिरामी कसरी ठीक पार्नेबाहेक अन्य अनावश्यक सोचहरुबाट ऊ लगभग मुक्त भैसकेको थियो। विज्ञानका तर्कहरुमा बिश्वस्त भएर ती सपना र युवकसँगको भेटलाई उसले केवल एउटा संयोग ठानिसकेको थियो।

बेलुकाको खाना खाएर डा. थापा ओछ्यानमा पल्टियो र डेन ब्रौनको दा भिन्सि कोड पढ्न थाल्यो। पढ्दापढ्दै ऊ निदायो। रातको करीव साढे दुई बजे ऊ एउटा रहस्यमय सपनाबाट जाग्यो। सपनामा ऊ एउटी पच्चीस–छब्बीस वर्षे युवतीलाई बलात्कार गरिरहेको थियो। 

बलात्कारपछि उसलाई त्यो युवतीले भनी, ‘तैंले आज मलाई चौथो पटक बलात्कार गरिस्। यदि गर्भ बसेछ भने म यो सन्तानलाई जन्म दिनेछु। जसले ठुलो भएपछि तेरो वध गर्नेछ।’

‘यो के सपना ? छिः कति घिनलाग्दो ! जो मान्छेले जीवनमा कसैलाई बलात्कार त के आफ्नी श्रीमतीबाहेक अरु स्त्रीसँग संभोग पनि गरेन, उसैलाई यस्तो घिनलाग्दो सपना आउनु पर्ने ?’ ओछ्यानमा मडारिँदै ऊ सोच्न थाल्यो। 

सपनामा गरेको बलात्कारका कारण उसलाइ स्वप्नदोष भएको रहेछ। उसले आफ्नो भित्रि कपडा बदल्यो। तत्क्षण उसलाई त्यो युवकले अघिल्लो दिन वार्डमा भनेको कुरो याद आयो। युवकले भनेको थियो, ‘मेरी आमालाई बलात्कार गरेको होइन ? थाहा छ ? म त्यही बलात्कारको परिणाम हुँ।’

अब उसको छट्पटी तीब्र भएर आयो। रातको सन्नाटामा टाढाबाट आइरहेको लाटोकोशेराहरु कराएको आवाजले एक तमासको उराठ पनि लगाइरहेको थियो। ऊ निदाउँन चाहन्थ्यो। तर पटक्कै निद्रा आएन। ऊ उठ्यो र आफ्नो मेडिसिन व्यागबाट एउटा नाइट्रोजन ट्याब्लेट झिकेर पानीसँग निल्यो। अनि बल्ल ऊ निदायो।

एकाविहानै फोनको घण्टीले उसको निद्रा भङ्ग गरिदियो।

‘हेलो ?’ 

‘गुड मर्निङ् सर। म यहाँ साइक्याट्रिक वार्डबाट चन्दा बोल्दैछु। त्यो विरामी त राति नै भागेछ सर।’

‘कुन विरामी?’

‘त्यही केटो ! हिँजो सरको कठालो समात्ने ...।’

‘सेट् ! अनि के तिमीहरुले प्रहरीलाई खबर गर्यौ त ?’

‘गरिसक्यौं, सर।’

‘ठीक छ। म आउँला।’

डा. थापा चिन्तामा पर्यो। दिनभर उसको मूड नै अफ् भयो।

घरिघरि उसलाई आफू वेकारको झमेलामा फँस्दै गरेको भान हुन्थ्यो। बारम्बार त्यही सपना आउँनु। नयाँ सडकमा त्यो युवक फेला पर्नु। उसलाई उपचारार्थ अस्पताल भर्ना गर्नु। युवकले आफूलाई बलात्कारी बाबुको आरोप लगाउनु। वध नै गर्छु भनेर आक्रमण समेत गर्नु। अनि युवती बलात्कार गरेको सपना पनि देख्नु। अहिले आएर यो केटो वार्डबाट गायव हुनु। यो सब के भइरहेको छ? डा. थापा निकै नै असमञ्जसमा परिरहेको थियो।

साँझसम्म पनि प्रहरीले त्यो केटो फेला परेको सूचना दिन सकेन। डा. थापा घर आयो। राति अवेरसम्म पनि निदाउँन नसकेपछि एउटा नाइट्रोजन पानीसँग निल्नुअघि थकित भावमा आफैँलाई भन्यो, ‘म नै एउटा साइक्याट्रिस्ट। अनि म नै साइको भैसकें।’ 

ओछ्यानमा पल्टिएर उसले आँखा बन्द गर्यो। अनि ऊ कति खेर निदायो, पत्तै भएन।

मध्यरातमा एउटा चर्को आवाजले अकस्मात ऊ व्यूँझिन पुग्यो। उठेर बत्ती बाल्यो।

अचानक उसले देख्यो कि झ्यालको सिसा फोरेर त्यही युवक उसको कोठामा दाखिला भइरहेको थियो। उसको हातमा एउटा धारिलो छूरा पनि थियो। डा. थापाको होशोहवाश उड्न पुग्यो।

‘मेरी आमालाई बलात्कार गर्ने? हुन त तैंले बलात्कार नगरेको भए मेरो जन्म नै हुने थिएन। तर यो जन्म पनि के जन्म ? यो जीवन नै मलाई बोझ भएको छ,’ युवकको आक्रोशित स्वर निस्कियो,‘अब मेरो एउटा मात्रै काम बाँकि छ यस् दुनियाँमा। त्यो के हो भने, तेरो वध गर्ने। त्यसपछि मात्रै म मुक्त हुनेछु। अनि मेरी आमा पनि।’

डा. थापा डरायो र भन्यो, ‘भाइ, म बलात्कारी होइन। यो तिम्रो भ्रम हो। एउटा मानसिक रोग हो। हेर, मैले त सडकबाट उठाएर तिम्रो उपचार गरिरहेको छु। मलाई केही पनि नगर, प्लिज।’

तर युवक बुरुक्क उफ्रिएर डा. थापाको छेउमा पुग्यो र समय नगुमाई उसको पेटमा छूरा प्रहार गर्न थाल्यो। एउटा आर्तनादसँगै डा. थापा भुँइमा ढलेर छट्पटाउन थाल्यो।

युवकले ड्याङ्ड्याङ् उसको पेटमा छूरा घोपिरह्यो। 

डा. थापाको प्राण गइसकेको थियो तै पनि युवक लगातार उसको पेटमा छूराको चोट बर्षाइरहेको थियो। 

थाकेपछि मात्रै युवकले छूरा घोप्न छोड्यो। घुँडा मारेर बसेको ऊ विस्तारै उठ्यो। अनि एउटा घिनलाग्दो नजर डा. थापाको अनुहारमा फ्याँकेर चिच्यायो, ‘मुक्त भएँ म आज ! मुक्त भयौ आमा तिमी पनि !!’

त्यसपछि उसले आफ्नै पेटमा छूरा प्रहार गर्यो। र डा. थापामाथि नै घोप्टिन पुग्यो। केही बेर छट्पटाएपछि ऊ पनि निष्प्राण भैसकेको थियो। त्यहाँ रगतको भेल बगेको थियो।

बाहिर झम्झम् पानी परिरहेको थियो। रात क्रमशः निख्रिदै थियो। टाढाबाट आएको लाटोकोशेराहरु कराइरहेको आवाज कोठाभित्रसम्म पुगिरहेको थियो। तर त्यो आवाज सुन्ने अब त्यहाँ कोही पनि थिएनन्।

डिस्क्लेमर : घटना र पात्रहरु काल्पनिक हुन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell