PahiloPost

Aug 20, 2018 | ४ भदौ २०७५

कसरी हराए जोन? सात दिनसम्म के गरी बसे? अझै जवाफ खोज्दैछिन् उनकी आमा


स्वेच्छा राउत

कसरी हराए जोन? सात दिनसम्म के गरी बसे? अझै जवाफ खोज्दैछिन् उनकी आमा

गएको साता फुल्चोकीको अनकन्टार र चीसो जंगलको जोखिमपूर्ण खोँचबाट चमत्कारपूर्ण रेस्क्यु  गरिएका जोन तामाङ यतिबेला बीएन्डबी अस्पतालको आइसियुमा छन्।

हात खुट्टा हिउँले खाएर पुरा कालोनिलो बनाएको छ। फोका र घाउहरुले हेर्न नसकिने।  डाक्टरले  सुरुमा अपरेसन गर्नुपर्छ भने पनि आवश्यक रहेन। खुट्टामा प्लास्टर भने गरिएको छ।

बिरामी कुरुवा कक्षमा रहेकी जोनकी आमा रीमा तामाङ छोरालाई जनरल वार्डमा सार्ने दिनको पर्खाइमा छिन्। सबै कुरा सामान्य बनोस्, उसलाई घरको खाटमा लान सकियोस्, जोनले आफ्नो अनुभव सुनाओस्।

'अहिले ऊ शारीरिक र मानसिक दुवै रुपमा थाकेको छ। उसलाई जङ्गलमा घटेका घटनाहरु सोध्न मन छैन,' रीमालाई लाग्छ जोनलाई कुनै पनि किसिमको तनाव नहोस्। तर उनी छोरा सात दिनसम्म हराउँदा आफूले भोगेको पीडा पहिलोपोस्टसित सेयर गर्न भने तयार भइन्। 

***

रातभर निद्रा लागेन। खाना त परको कुरा। पटकपटक जुरुक्क उठ्थिन् र डाँको छोडेर रुन्थिन्। ढोकामा र फोनको स्क्रिनमा कतिपटक हेरिन्, याद छैन। छोरा खोज्न गएकाहरु आइ पो हाले कि? वा छोरो भेटिएको खबर सुनाउन फोन पो गर्छन् कि?

यस्तै भैरह्यो रीमालाई पहिलो रात जब स्कूलबाट हाइकिङ गएको छोरा घर फर्किएन। छोरालाई कहिले पनि रात काट्ने गरी बाहिर नपठाएकी उनका लागि फुल्चोकीको जंगलमा छोरा हराएको सातदिन सात वर्ष सरह भयो। 

'धन्न मेरो छोरा जिउँदै भेटियो। नत्र अहिले त म पनि अस्पतालमै हुन्थेँ होला,' उनी केही भावुक सुनिन्छिन्, 'मान्छेहरु आफैलाई सम्हाल्न भन्थे। तर, कसरी सम्हाल्ने मैले जन्माएर १७ वर्षसम्म हुर्काएको छोरा हराएको थियो। कसैले सक्छ आफूलाई त्यो अवस्थामा सम्हाल्न? सामान्य बन्न?' 

अरु पनि थुप्रै अनुत्तरित प्रश्नहरु अझै जिवितै छन्। पूरा ७ दिन, त्यो पनि घना जङ्गलबीचको झाडीमा, हिउँ र सितको चिसोबीच कसरी बस्यो होला? उसको मन कति आत्तियो होला? केही खायो या खाएन? होस थियो या थिएन? जवाफ पनि जान्न मन छ तर सोध्न सक्दिनन्।

आइसियुको बेडमा औषधीका पाइप जडित छोराको शरीर देखेपिच्छे उनी निकै भावुक हुन्छिन्। आँखाभरीको आँशु जबरजस्ती थाम्छिन्। छोरालाई सोध्छिन् : केही खान मन छ? 


ग्रहणको दिनले हटायो दुःखको ग्रहण

माघ १७ गते बिहीवार। पूर्णिमाको उज्यालो जूनको प्रकाशलाई छेक्ने गरी खग्रास ग्रहण लागेको थियो। 

चन्द्रमालाई ग्रहणको कालो छायाँले छोप्दै गर्दा अचानक फुल्चोकीको जंगलमा एक जना भेटिएको खबर आयो। आफै गएर जङ्गल जङ्गल चहार्दा पनि फेला नपरेको छोरो भेटिएको सुन्दा ग्रहण टरेको निश्चित भयो। सुन्नासाथ थचक्क बसिन्। आँखा चिम्म गरेर मनमनै कामना गरिरहिन्। आस्तिकहरु विश्वास गर्छन्- ग्रहणको बेला अचम्मको शक्ति हुन्छ। गरिएको प्रार्थनाको दोब्बर शक्ति हुन्छ। उनलाई यस्तो कुरामा मतलब थिएन। बस् कामना गरिरहेकी थिइन्।

केही समयपछि अर्को फोन आयो। भिनाजु दीपक राईले गरेका रहेछन्। फोनमै भने, 'जङ्गलमा भेटिएको हाम्रै जोन हो।'

छोरा भेटिएको निश्चित भएपछि लामो सुस्केरा हालिन्। भनिन्, 'म आफैलाई पहिलो पटक सास फेरेको जस्तै लाग्यो। मसँग न हाँस्नका लागि हाँसो थियो न रुनका लागि आँशु।' 

कसैले फोनमै जानकारी दियो – जोनलाई बीएण्डबी हस्पिटलको एम्बुलेन्समा लगिएको छ। छोराको खोजीका लागि प्रशासन गुहार्दै हिडेकी रीमा एकाएक बीएण्डबी हस्पिटल हान्निइन्। छोराको खबर नपाउन्जेल आफै बलियो बनेर प्रहरी र सेनाकोमा पुगेकी यी आमाले जब अर्ध होसमा रहेको छोरा जोनको अनुहारदेखिन् तबमात्र उनको भक्कानो फुट्यो। 

स्कूलबाट हाइकिङ गएका जोन तामाङ हराएको खबर राति ८ बजेमात्र आएको थियो। राती नै जोनको सानीमा रत्ना तामाङ लगायतको टोली फुल्चोकीतर्फ गयो। रीमा भने आफैलाई सम्हाल्न सक्ने अवस्थामा थिइनन्। 

'मैले आफ्नै होस गुमाएको थिएँ। चित्त बुझाउनकै लागि भए पनि आफू जानपाए हुन्थ्यो जस्तो लागेको थियो। तर सकिन,' पहिलो दिनको अवस्था सुनाउँछिन्, 'तर मैले नै आश मारेको भए तेस्रो दिनदेखि खोजी हुन छोड्थ्यो। मेरो छोरा भाग्यले बाँच्यो। थोरै मेरो आशले पनि।' 

छैठौं दिन। उनी फुल्चोकी पुगिन्। स्थानीय महिलाहरुको टोलीसँग जङ्गल पूरै चाहरिन्। ती महिलाहरु जंगलमा घाँस दाउरा गर्न पुग्थे अरुबेले, त्यस दिन उनको छोराको खोजीमा साथै थिए। 'जोन… जोन…' भन्दै चिच्याइन् पटकपटक। बुट्यान पन्छाउँदै हेरिन् – कतै भेटिन्छ कि।  'आफै खोज्न जाँदा पनि नभेटिएपछि प्रशासन गुहार्नै पर्छ भन्ने भयो। र यतातिर सहयोग माग्न जुटेँ,' यति सुनाइरहँदा उनका आँखा छिपछिपे भइसकेको थियो। भनिन्, 'धेरैले अब भेटिँदैन भन्न थालेका थिए।'


झुटा हल्लाले जोगाएको आशा

हल्लाहरु पनि आशाका किरण बन्छन् कहिलेकाहीँ। कसैले सुनायो – जोन जावलाखेलको माइक्रोमा देखिएको थियो। 

उनी माइक्रोपार्क पुगिन्। चालक र सहचालकसँग सोधपुछ गरिन्। केही लागेन। 

कसैले भन्यो – इट्टा भट्टामा देखियो। 

रीमा त्यतै पुगिन्। तर भेटिएन। 

जोनलाई देखेको झुटा कुरा  सुनाउने सबैको विश्वास गरिन्। तर, अब जोन भेटिँदैन भन्नेहरु पनि कम थिएनन्। तिनको कुरा सुने पनि सुनेझै गरिनन्। 

जोन बेपत्ता भएको पहिलो दिनदेखि रीमासँगै थिइन् देवकी राई। 

'न सुतेको छ न खाएको। आफू कमजोर भएर कसरी खोज्ने भनेर सम्झाएपछि बल्ल होसमा आइन्,' देवकीले भनिन्।

माघ १० गते थसिखेलस्थित अजय शिक्षा सदनको कक्षा ५ र ६ का विद्यार्थी हाइकिङ लगिएको थियो। हाइकिङबाट कक्षा ६ अध्ययनरत जोन तामाङ हराए। कुसुन्ती बस्ने १७ वर्षीय यी किशोरको खोजीमा थुप्रै समूह परिचालित थियो। प्रहरी, सेना र स्थानीयको फरक फरक टोलीको खोज पूरा भएन।

रीमाका पति पर्यटन क्षेत्रसँग जोडिएका छन्। पेशाकै कारण ट्रेकिङ गाइडहरु उनको सम्पर्कमा थिए। छोरो हराउँदा काठमाडौं बाहिरै रहेका उनी ५ औं दिनमात्र काठमाडौं भित्रिए। र, ट्रेकिङ गाइड तथा रिभर गाइडलाई छोरो खोज्नका लागि अनुरोध गरे।  माघ १६ गतेबाट परिचालित भए पर्यटन कर्ममा सक्रिए १२ जनाभन्दा बढी युवाहरु। खोजको पहिलो दिन निराशामात्र मिल्यो। टोली फर्कियो। पहिलो दिन असफल भए पनि दोस्रो दिन निराशालाई आशाले जित्यो, जोन भेटिए - ज्यूँदै। 

अहिले जोन आइसियुमा छन्। उनकी आमा भन्छिन्, 'हातखुट्टा हिउँले खाएर पुरा कालोनिलो बनाएको छ। फोका र घाउहरुले हेर्न नसकिने।' 

डाक्टरले सुरुमा अपरेसन गर्नुपर्छ भने पनि आवश्यकरहेन। खुट्टामा प्लास्टर भने गरिएको छ। 

'ढाडको तल्लो पाटो दुख्यो भन्छ। तर डाक्टरले धेरै असर परेको छैन भन्नु भएको छ।' 

बिरामी कुरुवा कक्षमा रहेकी जोनकी आमा छोरालाई जेनेरल वार्डमा सार्ने दिनको पर्खाइमा छिन्। 

उनीसँग छोरालाई सोध्ने प्रश्नहरु लामै छ। तर डाक्टरले दवाव नदिन भनेका छन्। दाहिने कान कम सुन्ने जोन आफ्ना कुरा व्यक्त गर्न पनि केही कमजोर छन्। उसकी आन्टी देविका भन्छिन्, 'हामी बुझ्छौं नि। उसले भनेका कुराहरु हामी प्रष्ट पार्छौ।' कान कम सुने पनि खेलकुद, इन्टरनेट आदिमा जोन केही अगाडि रहेको सुनाउँछिन् उनी।

अजय शिक्षा सदनका प्रिन्सिपल दुर्गा बहादुर ओली पनि घटनाका कारण दुखी छन्। जोन हराएकको दिनदेखि बन्द स्कूल आइतबारबाट पुन: संचालनमा आएको छ। दुर्गाबहादुर भन्छन्, 'दुर्घटना भयो। विद्यार्थीलाई कोरा किताबी ज्ञानबाट पर राखुँ भनेर हिउँ खेलाउन लगेको यस्तो दुखद् अवस्था झेल्नु पर्‍यो।' 

भन्छन्, 'प्रष्टिकरणको आवश्यकता छैन तर मेरो विश्वास गरेरै जोनको आमाले उसलाई हाइकिङ पठाउनु भएको थियो। यसअघि धुलिखेल र सुन्दरीजल पनि गएकै हो। त्यस्तो अप्रिय केही भएको थिएन। यो बस् एक दुर्घटना हो।'
 
दुर्गाबहादुर आफैँ पनि खोजीमा जुट्न चाहन्थे तर पारिवारकै सदस्यले खोजमा लाग्न नदिएको उनको दाबी छ। 'सुरुमा त विभिन्न किसिमका धम्कीहरु पनि आए। ममाथि हात पनि हालियो। तर अवस्था नै यस्तै हो परिवार आक्रोशित हुनु स्वभाविक हो भनेर चित्त बुझाएँ,' उनले भने। 

'अन्य विद्यार्थीका अनुसार उनीहरु सर्टकर्ट बाटो अपनाएर प्रिन्सिपल भएको ठाउँमा जम्मा हुन जाँदै थिए। अचानक जोनको टोपी खस्यो। टोलीकै अर्कोले उक्त टोपी फालिदियो र जोन रिसाए। भने, 'मेरो टोपी फाल्ने?' यति भनेर उनको रिस मरेन। र टोलीसँग हिडेनन्। साथीहरु पनि वास्ता नगरी हिँडे र उ कहाँबाट छुट्यो पत्तै भएन,' दुर्गाबहादुरले अन्य विद्यार्थीबाट सुनेको कुरा बिस्तार लगाए। तर यथार्थ जोनकै मुखबाट सुन्न आतुर छन्। 

सम्बन्धित सामाग्री
जोनको ज्यान जोगाउँदाको खुसी शब्दले बयान गर्न सकिन्न : एउटा अविश्वसनीय रेस्क्यु मिसनमा सहभागी हुँदाको अनुभूति
यसरी जोखिम मोलेर सम्भव भएको थियो जोनको जीवित उद्दार, सात दिनपछि फेला परेको जंगलबाट स्थलगत रिपोर्टिङ



कसरी हराए जोन? सात दिनसम्म के गरी बसे? अझै जवाफ खोज्दैछिन् उनकी आमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट