PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मृत्युको नमीठो धूनलाई बिर्साउँदै आर्यघाटमा बज्ने अध्यात्मिक धून, जसमा लट्ठिन्छन् नास्तिक पनि



स्वेच्छा राउत

मृत्युको नमीठो धूनलाई बिर्साउँदै आर्यघाटमा बज्ने अध्यात्मिक धून, जसमा लट्ठिन्छन् नास्तिक पनि

मृत्युको पनि धून हुन्छ, करुण रसको। त्यो धून धेरैतिर गुन्जन्छ र आर्यघाटमा समाहित हुन्छ। चिताको तापसँगै रोदनको संगीत चर्किन्छ, थामिन्छ र सेलाउँछ। यो धून सबैले सुन्छन् भन्ने होइन, भोग्नेको मनभित्र र कहिलेकाहीं बाहिर पनि तरङ्गित भइरहन्छ। यही धूनको ठीक विपरित छ – सन्ध्याको अर्को धून जहाँ बिथोलिएका मनहरु शान्त बन्छन्। ईश्वरको अस्तित्व अस्वीकार गर्नेहरु पनि एकटक भएर अडिन्छन्। लस्करै धूँवा उड्दै गरेका चिताहरु, मुर्छित आफन्तजन र तिनलाई समवेदना दिन पुगेकाहरुभन्दा ठीक उल्टो छ यो धुन र संगीत।    

मृत्युको कोलाहलपूर्ण चिच्याहट चिर्दै हरेक साँझ घन्किने धून र संगीतमा झुम्मिएकाहरु झुम्मिरहेकै हुन्छन्। धून र संगीतले मन एकाएक शान्त हुन्छ, स्थिर पनि उस्तै। सधैं पुग्नेमात्र होइन, पहिलो पटक यो माहोल देख्न पुग्नेका हात पनि एकाएक सल्बलाउन थाल्छ र धूनमा तालीको रिदम गुन्जन्छ। हरेक दिन दोहोरिने यो प्रकृया कुनै पनि दिन पुरानो झैँ लाग्दैन। हरेक दिन नयाँ ऊर्जा र नयाँपन महसुस हुन्छ। हामी आज तपाईँलाई पशुपतिनाथ मन्दिरपूर्वको आरतीमा लैजाँदैछौँ। गंगा वाग्मती आरतीमा। 

साँझ ६ बजे आर्यघाट सधैं झैँ शवदाहमै व्यस्त छ। भस्मेश्वरतिर धूँवाको मुस्लो उडिरहेकै छ। त्यसको पारी भने मानिसहरु एकत्रित भइरहेका छन्। धोती फेरेका तीन युवक बत्ती मिलाउँदैछन्। संगीत भर्नेहरु पनि आफ्नै सुरमा तयारी गर्दैछन्। घाम मधुरो हुँदैछ, बलेका बत्तीले मानिसका अनुहारमा बेग्लै रङ पोतिरहेको छ। दृश्यको यो कोलाजमा संगीत, अध्यात्म, चिन्तन र चिन्तकहरु घुलिन्छन्। अनि, अनुभूति हुन्छ एउटा अद्भुत स्वादको। मान्छेहरु थपिँदै जान्छन्। र ती आगन्तुकहरु संगीत र आरतीमा लठ्ठिन थाल्छन्।    

***

यी युवा आफूलाई नास्तिक बताउँछन्। 

नाम : सुरज फुयाँल।
ठेगाना : शिवपुरी (पशुपतिबाट ११ किलोमिटर टाढा)

हरेक साँझ आरतीको यो अद्भूत स्वादपानका लागि यहाँसम्म आइपुग्छन्। पूजा, आराधनामा यिनको कुनै चासो छैन। कहिलेकाहीँ त फर्किँदा गाडी पनि पाउँदैनन्। भन्छन्, 'आरती हेरेपछि बेग्लै आनन्द पाइन्छ। काम र पढाइको थकान, टेन्सन मेटिन्छ।'

मन शान्त पार्न आउँदा गाडी नपाए पनि यिनलाई चिन्ता छैन। त्यसैले यहाँबाटै हिँडेर घरसम्मको दुरी तय गरेका छन्, पटकपटक। आरतीको रोमान्टिक पक्ष यही हो – गाडी नपाएर हिँड्दै घर पुगेको पनि प्रफुल्ल मुद्रामै सुनाउँछन् सुरज। 

अर्की पात्र भेटिइन् जसले १० वर्षयता मिलेसम्म आरती छुटाउँदिनन्।

नाम : कल्पना महर्जन।
ठेगाना : जयबागेश्वरी।
यिनी आस्तिक नै हुन्। भगवानमाथि विश्वास गर्छिन्।

१० वर्षदेखि नियमित छिन् यिनी। भन्छिन्, 'हरेक साँझ आरती हेर्न विश्वास र आस्थाले तानेर ल्याउँछ।'

कल्पना पतिको स्वास्थ्य लाभ र विदेशमा रहेका छोराको कुशलताको कामना गर्छिन् यहाँको भजनमा सहभागी भएर। 
संगीत, साधना र अध्यात्मको दमदार प्रस्तुति हुने यो स्टेजमा सबै पात्र अटाउँछन्। कान्छीमाया तिनैमध्ये एक हुन्।    

नाम : कान्छीमाया तामाङ
ठेगाना : काभ्रे

कलाको यो कोलाज सजाउन कान्छीमाया सक्रिय छिन्। मानसिक रुपमा यिनी अरु झैं स्वस्थ छैनन्। यिनको दिन गौशाला, पशुपति, गौरीघाटतिरै बित्छ। साँझ पर्दा आरतीको माहोलमा पुगिसक्छिन्। मञ्च सजाउन सघाउँछिन्।  कान्छीको दुःखद् पक्ष के छ भने आफन्तको ठेगाना, आमाबुबाको पूरा नाम, आफ्नो उमेरसमेत उनलाई याद छैन। तर पूरै याद छ आरतीमा गाइने भजनका शब्द-शब्द। यहाँ बज्ने तबला होस् या बाँसुरी, धुनसँगै गाउन सक्छिन्। कसरी याद भयो सबै भजन? लजाउँदै भन्छिन्, 'स्कूलमा पढेको।'

*** 

पशुपतिनाथ मन्दिरको पूर्वबाट मन्दिरतिरै फर्केर हुने भजन र आरती गंगाको हो। वाग्मतीमाथिको समर्पण हो, जस्तै काशीमा गंगाको आरती। सूत्रधार पनि काशीबाट प्रेरित। 

काशी आरती हेर्दा हृदयमा उत्पन्न प्रफुल्लता, भक्तको शान्त भीड, ताली र भजन गुञ्जन हुन्थ्यो। त्यसैले तानिरहेको थियो एउटा समूहलाई। त्यस्तै वातावरणको खोजी गरिरहेका उनीहरुलाई लाग्यो - त्यस्तै वातावरण त पशुपतिनाथको मन्दिर र आर्यघाट पारी किन बन्दैन? बनारसको सम्पूर्णानन्द विश्वविद्यालय पढेर नेपाल फर्किएको त्यही समूहले योजना बनायो - काशीको गंगा आरती जस्तै वाग्मती गंगा आरती। 

नाम : वाग्मती गंगा आरती।
ठेगाना : पशुपतिनाथ
सुरुवात : २०६४ साउन २१ गते। 

गंगा आरतीमा बज्ने संगीत र स्वरसँग दर्शकको ताली मिसिने क्रम सुरु भएको भर्खर भने होइन। १० वर्षयता दर्शकको उपस्थिति कहिले बाक्लो हुन्छ त कहिले पातलो।  ठन्डी, गर्मी, झरी, भूकम्प जेसुकै होस्, साथ छुटेको छैन। यो खुशी यसरी व्यक्त गर्छन् संस्थापक सदस्य भीमप्रसाद भट्टराई, ’हामीले तबला, बाँसुरीमा भजन सुरु गरेदेखि माहोललाई थप संगीतमय बनाउन साथ दिनेहरु थुप्रै हुनुहुन्छ। भूकम्पले सिङ्गो सहर लडाउँदा पनि आरती जारी रह्यो। भक्त आइरहे। यो १० वर्षयता हाम्रो समूहले जितेको विश्वास र साथ हो।‘ 

जम्मा हुने भिडको प्रवृत्तीमा केही भिन्नता भने उनले पनि पक्कै महसुस गरेका छन्। गंगा आरती बारे जानकारी नहुँदा दर्शक सल्बलाउँथे। बीचबाट उठेर हिँड्थे। तर अब हरेक दिन घाम ढल्किएसँगै पशुपतितर्फ ओरालो लाग्ने अनुहार धेरै छन्। ती अनुहार स्थिर रहन्छन् आरती अवधिभर। र त्यहाँ एक किसिमको स्थिरता कायम रहन्छ। धेरैको त सधैं आफू बस्ने ठाउँ पनि छ।

७ जनाको समूहले प्रति व्यक्ति १० हजार उठाएर सुरु गरेको समिति न हो। यसरी विस्तारित रुप लिन्छ भन्ने अपेक्षा स्थापनाको लागि काम गरेका रमेश पोखरेल, दुर्गाप्रसाद खतिवडा, धर्मदास बुढाथोकी लगायत कसैले पनि राखेका थिएनन्। सबैको लक्ष्य एउटै थियो- एक किसिमको धार्मिक, आध्यात्मिक र सांगीतिक माहोल बनाउने। तर एउटा समूह सिङ्गो संस्था बन्यो। 

'हामीले व्यवस्थित हुनका लागि समिति नै दर्ता गरेका छौं। यस्तो गर्दा हामीलाई दाताहरुले, भक्तहरुले विश्वास गर्ने ठाउँ रहन्छ।' 
बनारसबाट आएर गंगा आरती सुरु गर्ने त्यो समूह कति सफल कति असफल त? 

वाग्मती गंगा आरती समूह भक्त र दर्शकको सहभागिताको आधारमा त सफल देखिन्छ। आर्थिक हिसाबमा पनि यो संस्था कमजोर पक्कै छैन। किनकी प्रायः दाता, भक्तहरुबाट प्राप्त हुने आर्थिक सहयोगबाट नै आरती सदस्यलाई दक्षिणा, प्राविधिक सामान, वाद्यवादन, वस्त्र आदिमा खर्च गर्न पुगेको छ। 

***
सांगीतिक माहोल बीच गरिने यो आरती पशुपतिनाथको आरती भने होइन। पशुपतिनाथको आरती त मन्दिर भित्र हुन्छ। हरेक साँझ ६ देखि ६:३० कै बिचमा पशुपतिनाथ मन्दिरभित्र वाद्यवादन बिना धूप र बत्ती घुम्छन्। भट्टहरुले गर्ने यो आराधना बाहिरको तुलनामा केही शान्त हुन्छ। त्यहाँ पनि सीमित मात्रामा भक्तहरुको उपस्थिति नरहने हैन। 'तर धेरैले गंगा आरतीलाई नै पशुपतिनाथको आरती बुझ्ने गरेका छन्', पशुपती क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले भने। पशुपति क्षेत्र परिसरमा हुने यो आरतीको लागि पनि समितिले विकास कोषको अनुमति भने पाएको छ।  

यो आकर्षक गंगा आरतीले पर्यटक विकासमा पनि पक्कै केही योगदान पुर्यामएको छ। 'राम्रो कामको लागि सधैं साथ रहन्छ। त्यसैले हामीले स्थलसँगै सामान राख्ने कोठा, बिजुली पनि नि:शुल्क उपलब्ध गराएका छौं,'  समितिका तर्फबाट भीमप्रसाद भट्टराईका अनुसार सुरुवाती केही वर्ष पशुपति विकास कोषले गंगा आरतीका लागि वार्षिक २४ हजार सहयोग समेत गर्यो्। 

कोषले पनि समितिसँग केही अपेक्षा राख्नु स्वभाविक हो। विकास कोषका निर्देशक उप्रेति भन्छन्,'संस्थाको रुपमा स्थापित भएपछि केही योगदान आरती हुने परिसरको लागि पनि होस् भन्ने चाहेका हौं। र अर्को आवश्यक कुरा, भक्तहरुको धार्मिक भावना र विश्वासको कारण जम्मा भएको आर्थिक सहयोग पारदर्शी भयो भने भोलि कसैले समितिमाथि नै प्रश्न गर्ने ठाउँ रहन्न। आफ्नो सहयोग केमा खर्च भयो थाहा हुन्छ।' उप्रेतीको आशय गंगा आरती समूहलाई प्राप्त हुने अनुदान, दक्षिणा र खर्च विवरण भक्तहरुलाई नै देखाइयोस् भन्ने हो। 



***  
समितिको काम आरतीमा मात्र सीमित छैन। बागमती सरसफाईमा सक्रियता, भूकम्पपीडितलाई गरेको सहयोगको उदाहरण समितिसँग छ। 'हाम्रो समिति पैसामुखी होइन। तर पनि हामी आर्थिक रुपमा बलियो भएका छौं। पहिलेजस्तो व्यक्तिगत खर्च गरेर आरती सम्पन्न गर्नुपर्दैन। यो भक्तको आशा र हामीले कमाएको विश्वास हो। यसैका कारण हामीलाई थप ऊर्जा मिल्छ। त्यो ऊर्जाले हामीलाई सामाजिक, धार्मिक र मानवीय जिम्मेवारी बोध गराइ रहनेछ।' 

आरतीले ताली बजाएर बस्ने दर्शकलाई मात्र आनन्द दिने कहाँ हो र? 
नाम : भूवन चालिसे 
ठेगाना : खरीबोट, बौद्ध 
काम : फाइनान्समा अकाउन्ट सम्हाल्नु 

तर भूवनसँगको भेटमा उनको हातमा स्टेटमेन्ट र क्याल्कुलेटर हुँदैन। उनीसँग त शङ्ख र पानस हुन्छ। धोति पहिरिएर बाहिरिन्छन्। आरतीको लागि आवश्यक फूल, धुप, बत्ती, जल आदिको तयारी गर्छन्। भूवनलाई सन्तुष्टि मिल्छ यसरी दैनिक आरतीमा बत्ती घुमाउनु र शङ्ख फुक्दा। १० वर्षदेखि आरतीको नियमित कर्मचारी उनी दिनभर जहाँ रहेपनि साँझमा पशुपति आइपुग्छन्। आरती गर्ने पालो आफ्नो भएपनि नभएपनि। बिदाहरुले उनलाई खुशी दिंदैनन्। भने,'आज के भइरहेको होला पशुपतिमा भन्ने हुन्छ। म गंगा आरतीसँग धार्मिक रुपमा मात्र नभएर भावनात्मक रुपमा पनि जोडिइसकें।'  

तीन पुजारीले एकसाथ एक सुरमा शङ्ख फुक्छन्। बत्ती बाल्छन्, पूजा गर्छन्, धूप घुमाउँछन्। हरेक कुरा क्रमिक रुपमा हुन्छ जसको मज्जा आरती हेर्ने दर्शकले उठाउँछन्। 

'तर देखिए जस्तो सजिलो कहाँ छ र?', भुवनको आरती अनुभव गज्जब छ,'दर्शक धेरै हुँदा त नर्भस भइन्छ। पानस उचाल्न पनि उस्तै गाह्रो। चिसोमा झन् धेरै।' 

तीनजनाले एकअर्कालाई नजानिदो तरिकाले हेरिरहेका हुन्छन्। हरेक प्रक्रिया एकसाथ गर्न। तर कहिलेकाहीँ फोटो खिच्ने, नाच्ने वा अनावश्यक ओहोरदोहोर गर्नेहरुका कारण ध्यान र समिकरण टुट्छ र पुन: ध्यान फर्काउन अप्ठ्यारो हुन्छ। 



*** 
बाँसुरी: दुर्गाप्रसाद खतिवडा
तबला: वेङ्कटेश ढकाल र अर्जुन आचार्य 
स्वर: राजन खतिवडा, नारायणमणि कोइराला र रमेश पोखरेल 

यो वाद्यवादन र गायन टोली गंगा आरतीको मुख्य आकर्षण हुन्। यी अनुहार नदेखाइकनै आरतीको दृश्यलाई थप सुन्दर तुल्याउँछन्।

आरती हेर्न आउनेमध्ये धेरैलाई यही सांगीतिक वातावरणले आकर्षित बनाउँछ। दुई वर्षयता नियमित दर्शक रहेका आशिष भुर्तेल आरतीमा बज्ने संगीत र गाइने भजनले आफ्नो मानसिक तनाव कम गर्ने बताउँछन्। धर्मकर्ममा दत्तचित्त, पाको उमेरका र जिम्मेवारीको थुप्रोले थिचिएका बाहेकले पनि त आरतीस्थललाई आराम प्राप्त गर्ने ठाउँ मानेका रहेछन्। स्नातक तह पढ्ने तयारी गरिरहेका उनलाई पढाईको बाहेक अन्य तनाव छैन। तर उनी पशुपति आउँछन् हरेक दिनको थकाई मेट्न। उनको भनाइलाई पुष्टि गर्छन् मनोविश्लेषक बासु आचार्य। 'संगीतले दिने आनन्द र मानसिक स्थिति सम्बन्धित छन्। संगीतले तनावमुक्त हुन भूमिका खेल्छ।' 

जब मान्छे तनावमा हुन्छ तब उसले संगीत वा कलाको अन्य विधालाई आफ्नो ध्यान मोड्ने माध्यम बनाउँछ। कला, धर्म र साधना तीन धारले मान्छेलाई एकत्रित बनाउन सक्ने आरती जस्तो प्रत्यक्ष सांगीतिक प्रस्तुतिले अझ बढी सहयोग पुर्या उन सक्ने आचार्यको बुझाइ छ। 
भने,'मनमा गुम्सिएका पीडा, इच्छा, रहरको ठाउँमा संगीतले एक किसिमको आनन्द र शान्त भाव भरिदिन्छ। जसलाई बिरेचन पद्दति भनिन्छ।'  बिरेचन पद्दतिको प्रयोग नेपालमा सुरु नभएपनि मानसिक रुपमा केही थाकेकाहरुले आरतीजस्तै अन्य सांगीतिक माहोलको सहारा लिने गरेको उनी बताउँछन्। 

नेपालमा संगीतको प्रयोगमा हुने मनोवैज्ञानिक थेरापी भने सुरु भएको छैन। 

*** 
'चिया पिउनुहुन्छ?,' कोही बोलेको सुनियो, 'दूधको २०, फिक्काको १५ मात्र'

नाम : मञ्जु कार्की
ठेगाना : ओखलढुंगा

साधना र संगीतको यो समागममा जीवन गुजारा गर्नेहरुको कथा पनि घुलमिल हुँदो रहेछ। मञ्जु कार्कीको आर्थिकोपार्जनको आधार यही कोलाजमय जीवन हो। हरेक साँझ बागमती गंगा आरती हेर्न आउनेको लस्करमा जय बागेश्वरीतिरबाट ओरालो लाग्दै हुन्छिन् यिनी। 

उनी हरेक साँझ छ बजेपछि दुईवटा थर्मस बोकेर सिफलबाट पशुपतिसम्म आउँछिन्। एउटा थर्मसमा दूध चिया र अर्कोमा फिक्का। गंगा आरतीको समय उनको पार्ट टाइम काम हो। आरती हेरिरेहका दर्शक उनका ग्राहक। प्लास्टिकको ग्लासमा चिया खन्याउँदै भन्छिन् 'दूध चियाको २०, फिक्का चियाको १५।' 

'हरेक साँझ दुई तीन सय हुन्छ। टाइम पास पनि हुने छोरीको लागि खाजा खर्च पनि जुट्छ,' मञ्जु भन्छिन्। हँसिलो मिजासकी उनी सोध्छिन्,'जाडोमा चिया पिलाउनु पनि धर्म हो नि, होइन र?' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell