PahiloPost

Feb 24, 2018 | १२ फागुन २०७४

कथाः द लास्ट रिसोर्ट    


पहिलोपोस्ट /पहिलोपोस्ट

कथाः द लास्ट रिसोर्ट    
  • लिलाराज खतिवडा -
मेरो नाम राहुल लामिछाने हो। कैयन दिनदेखि म एउटा मान्छेको खोजीमा थिएँ। त्यो मान्छेले कुनै बेला मलाई ठूलो गुन लगाएको थियो। त्यो मान्छे नभइदिएको भए आज म जुन ठाउँमा छु, त्यसको कल्पना समेत हुन सक्दैन थियो। तर, त्यस्तो मान्छे आज गायव छ। ऊ कहाँ छ भन्ने कुरा कसैलाई पनि थाहा छैन। 

चौध वर्षअगाडि ती अपरिचित व्यक्ति अखबारमा मेरो बारेमा छापिएको खबर पढेर मलाई लिन गाउँ पुगेका थिए। मानसिक रोग लागेर म साङ्लीमा बाधिँएको थिएँ, गोठका वस्तुहरु जस्तै। कुनै स्थानीय रिपोर्टरको नजर पर्यो ममा, उसले फोटो खिचेर मेरो हालत बयान गर्दै अखबारमा छापिदियो। त्यो पढेर मेरा उद्दारक मलाई रेस्क्यू गर्न एक्लै घरमा पुगेका थिए।
 
लीला नाम थियो त्यस मसिहाको। पेशाले चित्रकार भएता पनि उनी मेरा लागि एक मसिहा नै थिए। गाउँबाट एम्बुलेन्समा हालेर राजधानी पुर्याएपछि उनले नै मलाई अस्पताल भर्ना गरिदिएका थिए। मेरो स्वास्थ्यमा अचानक सुधार आयो। होश आएपछि लीलालाई आफ्नो विगत सुनाउन सक्षम भएको थिएँ म। मेरो कथामा आधारित भएर उनले एउटा उपन्यासै लेखे, म को हुँ। जगतमा लेखकले आफ्नो कथानकको लागि पात्रहरु त कैयन खोजेका छन्। तर, यहाँ उपन्यासको एउटा पात्रले लेखकलाई खोजिरहेको छ। 

उनैले मलाई त्रिचन्द्र कलेजमा विज्ञान विषय लिएर पढ्ने अवसर पनि जुटाइदिए। त्यसपछि मैले एमबीबीएस पढ्न छात्रवृत्ति पाएँ। भाग्यवश, त्यो उपचारपछि मलाई कुनै मानसिक समस्याले अहिलेसम्म गाँजेको छैन। आज, पढेर म एक न्यूरोसाइक्याट्रिस्ट भएको छु। र, यसको कृतज्ञता मैले मेरो जीवनको उद्दारकलाई व्यक्त गर्न पनि नपाउँदै उनी अचानक गायब भएका थिए।

दुई महिनाअघि मात्रै लन्डनबाट न्यूरोसाइक्याट्रीमा एमडी गरेर फर्किएको हुँ म। स्वदेश फर्किएर सर्वप्रथम मैले मेरो मसिहालाई खोजेँ। तर उनी भेटिएनन्। केही वर्षदेखि अचानक उनी कसैलाई खबरै नगरी बेपत्ता भएका थिए।

उनका सबै सोसल मिडिया कनेक्सनहरु डिएक्टिवेट थिए। कतै कुनै कन्ट्याक्ट नम्बरहरु उपलब्ध थिएनन् जहाँ उनलाई सम्पर्क गर्न सकियोस्।
घरका सदस्यहरुदेखि लिएर उनका साथीभाइ, छरछिमेकी तथा इस्टमित्रहरुलाई भेटेर कुरा गर्दा समेत उनको वर्तमान हालतको बारेमा बताउन सक्ने कोही पनि निस्किएनन्।

मलाई निकै नै छटपटी भइरहेको थियो। 

बेपत्ता हुनुभन्दा केही दिनअघि उनी तेह्रथुमको शुक्रबारेमा देखिएका थिए भन्नेसम्म जानकारी प्राप्त भयो। तर, अब पहाडहरुको त्यस अनकण्टारमा कसरी खोज्ने उनलाई? उनी उत्तर चढे कि दक्षिण झरे कसरी पत्ता लगाउने? जति धेरै उनलाई हिमालय मन पर्थ्यो, त्यति नै उनलाई सागर पनि त मन पर्थ्यो।

उनी एक अमूर्त चित्रकार। अनि कुशल लेखक पनि। कुनै कुराको कमी थिएन। त्यसरी हराउनु पर्ने खास् कारण पनि देखिँदैन। अकस्मात् उनको मनमा कुन अजिव रसायन उम्लियो, त्यो यकिन गर्न सकिएन; जसले उनलाई त्यसरी सबकूछ छाडेर एकाएक हराउन प्रेरित गरेको थियो।

त्यसो त उनी ध्यान, साधना गर्ने मान्छे। पहिले पनि लामालामा एपिसोड हराउँथे। खासियत् के भने, जस्तै हराए पनि ढिलोचाँडो उनी टुप्लुक्क घर आइपुग्थे। भन्थे, “वैराग्यानुभूत गरेर आएको हुँ। ताजा अनुभव भइरहेको छ। बेलाबेला तीर्थ यात्रा जानु भनेको नयाँ जन्म लिएर फर्किनुसरह हो।”
उनका अनुसार शरीर मैलो भए स्नान गर्ने हो। तर मन मैलो भए तीर्थ यात्रा जाने हो। 

उनको जीवन ज्यूँने तरिका अजिव किसिमको थियो। हप्तामा एकपटक रातभर जागा बस्थे। कहिलेकाहीँ तीनचार दिनसम्म खाना खाँदैन थिए। खाली पेटमा शारीरिक काम गर्थे। खाली खुट्टा लामालामा पैदल यात्रा जान्थे। साइक्लिङ पनि उत्तिकै गर्थे। चौबिस घण्टामा एक छाक मात्रै भोजन गर्न रुचाउँथे। भरिसक्य खाली पेट निदाउन मन पराउँथे। भन्थे, “जो खाली पेटमा पनि निदाउन सक्छ, ऊ पूर्णतः स्वस्थ छ भन्ने बुझ्नू। अनि अर्को महत्वपूर्ण कुरा, बेलाबेला जाग्राम र उपवाश बस्ने, नियमित पैदल यात्रा गर्नेहरु निरोगी र दीर्घजीवी हुने गर्छन्।” बुझ्नेलाई उनका कुराहरु श्रीखण्ड हुन्थे भने नबुझ्नेलाई आगो बाल्ने दाउरा। खुर्पाको बिँडमा त थोरै भए पनि कला फेला पर्छ।  

अर्को अनौठो कुरा, उनी धेरै जसो एक्लै बस्न मन पराउँथे। भन्थे, “मान्छेहरुसँग बस्नै मन लाग्दैन। बरु जनावरहरुसँग बस्न मलाई मन पर्छ। मान्छेहरु यान्त्रिक भइसकेका छन् भने जनावरहरु अझै प्राकृतिक नै छन्। मलाई प्राकृतिक बन्न मन पर्छ र यो नै मेरो नैसर्गिक स्वाभाव पनि हो।”
चार पाँच किलो राँगाको मासु किनेर हरेक शनिवार टोलका भूस्याहा कुकुरहरुलाई ख्वाउँथे। कहिले काहीँ त उनी रातभर भूस्याहा कुकुरहरुसँग बिताएर धुस्नेफुस्ने भएर घर फर्किन्थे। उनको एउटा फेसबुक स्टाटस मैले अझै बिर्सेको छैन। लेखेका थिए, ‘डी ओ जी डग हुन्छ। तर यसलाई उल्ट्यायो भने, जी ओ डी गड हुन्छ।’

भौतिक चरमताको बतासले बहकिइरहेकाहरुलाई उनका व्यवहार र बातहरु हावादारी लाग्थे। त्यस्ता मान्छेहरुले उनलाई पागल भन्थे र घण्टौं उनको कुरा पनि काट्थे। लाग्थ्यो, यहाँ कथित सद्देहरुलाई कथित पागलको कुरा काट्ने समयको कुनै कमी थिएन।

उनी पापा रोचको द लास्ट रिसोर्ट सुनिरहन्थे। मन परेपछि एउटै गीतलाई कैयनपल्ट दोहोर्याएर सुनिरहने उनको बानी थियो। बेलाबेला उनी एक्लै उक्त गीत गुनगुनाउँथे पनि :

कट माइ लाइफ इन्टु पिसेस् 
दिस इज माइ लास्ट रिसोर्ट...
सफोकेसन नो ब्रिदिङ 
डन्ट गिभ अ फक इफ आइ कट माइ आर्म ब्लिडिङ...
दिस इज माइ लास्ट रिसोर्ट...

केही वर्ष बिते। तर उनी फर्केर आएनन्। र, खोज्दा पनि फेला परेनन्। 
उनका परिवारका सदस्यहरु उनलाई खोजेर नभेट्टाउँदा निकै तकलिफमा थिए। अखबारमा कैयन नोटिस र समाचारहरु पनि छापिए। तर, अहँ, कतै केही खबर प्राप्त हुन सकेन। उनी भेटिएनन्। 
हेर्दाहेदै, अर्को एक वर्ष पनि बित्यो। यसबीच केही दिन म आफ्नो जन्मस्थान पुगेर बुबाआमासँग बसेँ। धेरैपछि मलाई भेटेर र मेरो प्रगति देखेर बुबाआमा निकै खुशी हुनुभयो। उहाँहरुको त्यो खुशीले मलाई अझै अगाडि बढ्न प्रेरित पनि गरेको थियो।
 
मैले धरानको सरकारी अस्पतालमा काम पाएँ। मलाई किन किन लीलाको यादले धेरै नै सताइरहेको थियो। धरानको अस्पतालको जब अफरलाई मैले सहर्ष स्वीकार्नुका पछाडि पनि एउटा कारण छुपेको थियो। त्यो के भने, अन्तिम पटक लीला तेह्रथुममा देखिएका थिए। 

यसबीच म केही पटक यसै तेह्रथुम घुमेर पनि आएँ। कतै कहीँ उनीसँग देखभेट भइ पो हाल्छ कि जस्तो पनि लागिरहेको थियो। तर, मेरा अन्दाजहरु गलत सावित भएका थिए। त्यहाँ मैले उनको कुनै झलक पाउन सकिनँ।

तथापि म निरास भइहालेको थिइँन। अर्को हप्ता फेरि म तेह्रथुम जाने योजना बनाइरहेको थिएँ।

एउटा अनौठो मानसिक रोगी युवक हाम्रो वार्डमा भर्ना भएको थियो। बाइपोलार अट्याक आएको थियो उसलाई।  ऊ लुगासुगा खोलेर रातिराति जंगलतिर कुद्न थालेपछि परिवारका सदस्यहरुले उसलाई यहाँ ल्याएर भर्ना गरेका थिए। र, संयोगको कुरा, यो केटो पनि तेह्रथुमको थियो। हुन त सबै बिरामीहरु हाम्रा लागि समान हुन्। तर, किनकिन यो केटाको उपचारमा म विशेष खयाल राखिरहेको थिएँ।

उसलाई हामीले हेलोपेरिडोलका साथमा अन्य कडा औषधिहरुको मद्दतले ढालेका थियौं। मैले मेरो सहायकलाई केटाको रगतमा लिथियमको मात्रा चेक गरेर सोही अनुसार लिथियम कार्बोनेट औषधि चलाउने आदेश दिएँ। वार्डका अरु विरामीहरु भने औषधिको असरले प्रायः स्ट्याबल नै थिए।

बेलुका डाक्टर नैनिकाले मलाई डिनरमा बोलाएकी थिई। भारतको बेंगलोर शहरकी मूल रहनेवाली नैनिका यसबीच ममाथि निकै चाख राखिरहेकी थिई। ऊ अलिक ठूला दारकी। कालो वर्णकी। तर, पनि कतै भद्दापन महसूस नहुने। टिमिक्क स्किन टाइट जिन्स् र टिशर्टमा घुसेपछि त ... त्यो श्यामसुन्दरीको चालढाल नै बिछट्टै। कहिलेकाहीँ त उसले मलाई निचोरेर कच्याककुचुक नै पार्छे कि भन्ने डर पनि लागेर आउँथ्यो। एक्लैदोक्लै ऊसँग बिताउनु पर्दा म बडो सचेत पनि रहने प्रयास गर्दथेँ। 

उसको हातको साउथ इन्डियन खानाले मलाई पहिले नै सम्मोहित गरेको थियो। माछाको ग्रेभीवाला करी, इमली हालेको साम्बार, काँचो नरिवलको अचार, शुद्ध घिउमा बनाएका परौठा अनि खानासँग उसले पेश गरेको रेड वाइन। साथमा थियो सिंगै बेंगलोर। 

त्यस रात नैनिकासँग मेरो अतिरेकको सीमा रहेन। लगभग ऊ मैसँग टाँसिएर भोजन ज्यूनार गरिरहेकी थिई। उसको मुस्कान, महक र लावन्यले म घामको दर्शन पाएर हिँउ पग्लिए जस्तै हुन पुगेको थिएँ। बेलाबेला खानाको स्वाद बिर्सिएर म उसको स्पर्शले वाष्पिभूत पनि हुन पुग्थेँ। तर, तुरुन्तै आफूलाई सम्हालेर म खानातर्फ नै ध्यान एकत्रित गरिरहेको हुन्थेँ।

राति साढे दश बजे म हिँड्न लाग्दा उसले रोक्दै प्रस्ताव राखी, “आज राति यतै बसे हुन्न ?” 

“आज थुप्रो काम छ। भोलिको एउटा सिम्पोजियमको तयारी पनि बाँकी नै छ,” उसको खास् आशय बुझेरै मैले एउटा झूठ बोलेँ।
 
“काम थुप्रो यता पनि त छ। गर्ने हो भने,” उसले ठाडै भनी। अनि ठूलाठूला आँखाले मलाई बादलले जस्तो ढाक्न खोजी। पिर्लिक पिर्लिक गरिरहेका उसका ती आँखाहरुमा एउटा ज्ञात आमन्त्रण प्रकट भइरहेको थियो। अनि उसको त्यो भावभंगी मलाई एउटी स्त्रीको अवमूल्यन हो जस्तो लागिरहेको थियो। मैले गर्नु पर्ने कुरा ऊ गरिरहेकी थिई। जमाना जो उल्टिएको छ !

“त्यसको लागि खाना खुवाएको हो तिमीले मलाई ?” म झर्किएँ। 

यौनको मामिलामा म त्यति उदार छैन। चाहे जमाना जतासुकै पुगेको होस्। आखिर, यो मजा मात्रै नभएर स्वास्थ्य, नैतिकता र अध्यात्मसँग पनि जोडिएको मामिला हो। यौन परमात्माको असिम उपहार हो। यसका कैयन काइदाकानून र तयारीहरु हुन्छन्। सोही कुरालाई दुरुपयोग गरेर नै आज मानव विक्षिप्त हुन पुगेको हो। उता लण्डनमा पढुन्जेल पनि मैले आफ्नो उशूल तोडेको थिइँन। जोसँग जता कुरा मिल्यो त्यतै लुगा खोलिहाल्ने आदत छैन मेरो। त्यही भएर उता लन्डन बसुन्जेल केटीहरुले मलाई घमण्डी पनि भन्थे। फलस्वरुप मेरा केटी साथीहरु कम थिए।  

“नो नो। नथिङ लाइक द्‍याट,” ऊ सम्हालिन थाली। अति ठण्डा नजरले मलाई हेरी।

त्यसै मौकामा एक जरुरी मुस्कान फ्याँकेर म बाहिरिएँ। पछाडि नहेरी झट्कामा आफ्नो क्वार्टर पुगेँ। एउटा क्‍विक सावर लिएँ। अनि बत्ती निभाएर सुतेँ। मेरो मानसपटलमा उही लीलाको अनुहार नाच्न थाल्यो। कतिखेर निदाएँ, पत्तै भएन।

ढोकाको एकोहोरो ढक्ढक् सुनेर गहिरो निद्राबाट अकस्मात् ब्यूँझिएँ म। बत्ती बालेँ। ढोकाको दस्तक रोकिएको थिएन। पुलुक्क भित्तेघडीमा नजर फ्याकेँ। भोरको साढे दुई बजेको थियो।
 
अलिअलि डर पनि लागिरहेको थियो। डरलाई काबूमा राखेर ढोका खोलेँ।
हेर्छु त?

बाइपोलार भएर मेरै वार्डमा भर्ना गरिएको त्यही तेह्रथुमे केटो पो सामुन्ने छ। उसलाई देखेर म तर्सिन पुगेँ।

“तिमी यहाँ कसरी ? म सेक्यूरिटी बोलाउँछु,” अत्तालिएर मेरो आवाज फुत्कियो।
“नआत्तिनुहोस् सर, म हजुरलाई एउटा अत्यन्तै महत्वपूर्ण जानकारी दिन आएको हुँ,” उसले नरम लवजमा भन्यो।

“केको जानकारी ?” मैले थुक निल्दै सोधें। म अझै डराइरहेको थिएँ।

“लीला कहाँ हुनुहुन्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ,” उसको यो भनाइले मलाई चार सय चालिस भोल्टको झट्का हान्यो।

“के रे ? कसरी चिन्छौ तिमी लीलालाई ?” मलाई अविश्वास र आश्चर्यले एकसाथ आक्रमण गरिहेको थियो।

“लीला किमाथांकामा हुनुहुन्छ। म हजुरलाई त्यहाँ पुर्याउन सक्छु। उहाँले त्यहाँ एउटा रिसोर्ट खोल्नुभएको छ। द लास्ट रिसोर्ट,” उसको आवाज दृढ थियो।

“यस्तो त मैले कहिल्यै सुनेको थिइनँ? तिमीलाई कसरी थाहा भयो यो सब कुरा?” मेरो शंकाग्रस्त स्वर निस्कियो।

“मलाई सब थाहा छ, सर। लीलाले नै मलाई यो खबर लिएर हजुर भए ठाउँमा पठाउनु भएको हो। यही सत्य हो। जाने हो भने बाइक स्टार्ट गर्नुहोस्। शुभकाममा केको देरी?” केटाले स्पष्ट आवाजमा भन्यो। ऊ लगातार मेरा आँखामा एकटक पनि लगाइरहेको थियो।

“तर तिमी त यस अस्पतालमा भर्ना भएका एक मानसिक रोगी हौ। तिमीले लीलालाई कसरी भेट्न पुग्यौ त?” मैले पुनः शंका ओकलेँ।

“मलाई कुनै रोग लागेको होइन। शक्ति आएको हो। जब केही हप्ताअघि म आफ्नो घरबाट कुदेकोकुद्‍दै किमाथांका पुगेँ, त्यहाँ मैले एउटा ठूलो रिसोर्ट फेला पारेँ। अनि त्यहाँ कैयन जनावरहरुसँग बसिरहेका लीलालाई भेटेँ। उनका जनावरहरुले मलाई खाना खुवाए। त्यहाँ जनावरहरु लीलासँग ध्यान गर्छन्। पुरै दुई हप्ता उनीहरुसँग बिताएर म घर फर्किएको थिएँ। उसै गरी, जसरी म त्यहाँ पुगेको थिएँ। अनि मलाई घरगाउँलेहरुले पागल भनेर बाँधेर यहाँ ल्याए,” लगभग एकै सासमा उसले भन्यो।

उसको कुरा सुनेर मलाई लीलाको आभाले नै घेरे जस्तो भइसकेको थियो। केटाका कुराहरु चमत्कारिक थिए त्यस मान्छेका बारेमा, जसलाई केही समयदेखि लगातार खोजिरहेको थिएँ म। कुनै सुराकसमेत नभेटिरहेको अवस्थामा यो जानकारीले म नचाहँदा नचाहँदै पनि त्यस केटाको बसमा परिसकेको थिएँ। बिना कुनै बिलम्ब मैले बाइक निकालेँ र, स्टार्ट गरेँ। केटो पछाडि बस्यो।
 
केही बेरमा नै हामी हाइवेमा नब्बेको स्पिड् चुमिरहेका थियौं।

“सर, बिस्तारै,” पछाडिबाट केटो करायो। तर, मेरो एक्सिलेटर झनझन दाविँदै गयो। मैले स्पिड् बडाइरहेँ। 

“सर रोक्नुहोस्,” केटो अत्तालिँदै थियो।

मैले उसको आवाजको पर्वाहै नगरी बाइक दौडाइरहेँ। तर...

अचानक बिपरित दिशाबाट तेज रफ्तारमा ठूलाठूला हेड्लाइट् बालेर आइरहेको ट्रकसँग हामी नराम्रोसँग ठोक्किन पुग्यौँ।

अन्धकार। 

झल्याँस्स...

अरे ? के भएको यो ? म कसरी ज्यूँदै छु त ? 

के यो सब एउटा सपना थियो ?

म आफ्नै ओच्छ्यानमा पसिनाले भिजेको अवस्थामा फेला परेँ। ब्यूँझिदा मुटुको धड्कन र सासको रफ्तार तेज थियो। 

मलाई सब याद आयो। म त नैनिकासँग डिनर भ्याएर आएर सुतेको पो थिएँ।

ओहो, सपना पो रहेछ ...! कस्तो खतरनाक ? कस्तो खौफनाक ?

खरो पनि भएको थियो। ओठतालु सुकेका थिए। उठेर एक जग पानी घट्घटी पिएँ। अनि ओच्छ्यानमा पल्टिरहेँ। निकै बेरसम्म त्यही रहस्यमय र डरलाग्दो सपनाका झल्याकझुलुक तरंगहरु मनको पर्दामा सल्बलाइरहेका थिए। साथै त्यस् तेह्रथुमे केटाका रहस्यमय बात्हरुको प्रतिध्वनि पनि गुञ्जिरहेको थियो।

बाहिर उज्यालो भइसकेको थियो। दूधवाला र अखबारवालाका साइकलहरु घण्टी बजाउँदै ओहोरदोहोर गर्न थालिसकेका थिए।

मैले नित्यकर्म सकेँ। अनि लुगा लगाएर फटाफट वार्डतर्फ हान्निएँ। सबेरै मलाई त्यहाँ देखेर स्टाफहरु सतर्क भए। म सिधै त्यो तेह्रथुमे केटो भए ठाउँमा पुगेँ। ऊ मस्त सुतिरहेको थियो। मैले केही बेर नियालेर केटालाई हेरेँ।

“एनी प्रब्लम, सर ?” सिस्टरले सोधिन्। 

“रातभर यो विरामी शान्तसँग सुतेको हो ?” मैले उनलाई नै सोधेँ।

“हो, सर। यो विरामी आजकल एकदम शान्त भएको छ,” सिस्टरले भनिन्।

म फनक्क फर्किएँ। अनि क्यान्टिनतिर लागेँ। कफी मगाएँ। 

एउटा मान्छेले मेरो अगाडि पढिरहेको अखबारको अन्तिम पानामा लेखिएको शीर्षकले अचानक मेरो ध्यान आकृष्ट गर्न पुग्यो। शीर्षक थियो, द लास्ट रिसोर्ट।

“एक्स्क्यूज मी,” मैले उसलाई भनेँ र अखबारको अन्तिम पाना मागेँ। उसले अप्ठ्यारो मान्दै पाना मलाई दियो।

मैले हतारहतार अखबार हेरेँ। पापा रोचको द लास्ट रिसोर्ट गीतको बारेमा पो रहेछ। कट् माइ लाइफ इन्टु पिसेस् दिस इज माइ लास्ट रिसोर्ट ... गीतले आजकल युवा पुस्तामाझ तहल्का पिटिरहेको छ।

मेरो शारीरिक हाउभाउ नियालिरहेको त्यस मान्छेलाई मैले चुपचाप अखबार फिर्ता दिएँ। 

कफी पिएर म क्‍वर्टर फर्किएँ। मन खुश थिएन। निद्रा पनि नपुगेको जस्तो लागिरहेको थियो। आँखाहरु पोलिरहेका थिए। भित्र कताकता खिन्नता प्रकट भएर कालो बादल छाए जस्तो पनि भएको थियो। सोफामा बसेर यसै झोक्राइरहेँ। अनि आँखा बन्द गरेर भित्री तिमिरमा हराइरहेँ। त्यहाँ झल्याकझुलुक अस्पस्ट चित्रहरु नाच्थे। अनौठा आवाजहरु पनि सुनिन्थे।

“म यहाँ छु,” अचानक एउटा हिउँ परेको पहाडको काखबाट कसैले बोलाए जस्तो भयो। त्यहाँ म लीलाको अनुहार प्रष्ट देखिरहेको थिएँ। सेताम्य हिउँले ढाकेको पर्वतको काखमा। वरिपरि जनावरहरुको आवाज सुनियो। साथै सरिसृप जस्ता जनावरहरु सल्बलाएको पनि देखियो। पन्छीहरु फड्फडाएको पनि सुनियो। मैले आँखा खोल्न खोजेँ। तर, असमर्थ भएँ।

“तुरुन्तै आफ्नो मोटरसाइकल स्टार्ट गर। र, उत्तरतिर लाग। किमाथांका प्रवेशद्वारबाट पाँच माइल मात्रै हिँडेपछि तिमीले मलाई फेला पार्ने छौ,” लीलाको चिरपरिचित आवाज निस्कियो, “तिमी जसरी भए पनि यात्रा शुरु गर। आफसे आफ् म भए ठाउँमा गुरुत्वाकर्षित हुने छौ। यो मेरो तिमीलाई वादा भयो।”

तत्क्षण मोबाइल फोनको रिङटोन बजेर मेरो तन्द्रा भंग गरिदियो। यान्त्रिक तबरले मेरा आँखा खुले। हेरेँ, नैनिकाको कल थियो। मैलेँ फोनको स्वीच अफ गरिदिएँ।

उठेँ। अलिकति हिँडे। अनौठो लागिरहेको थियो। मभित्र अर्कै कोही पसे जस्तो महसूस पनि भइरहेको थियो। अचानक स्फूर्ति पनि छाएको थियो। खिन्नता, अल्छिपना र अलमल गायव थिए। 

अबेर नगरी मैले बाइक स्टार्ट गरेँ र सडक तताएँ। मभित्र अर्कै केही हाबी भइरहे जस्तो पनि लागिरहेको थियो। आज एउटा साइक्याट्रिक डाक्टर नै कुनै दैवी शक्तिको बशमा परिरहेको थियो। हिजोसम्म, यस्ताखाले अनुभव भएकाहरुलाई मानसिक रोगी निदान गरेर औषधि खुवाउने डाक्टर स्वयम् आज कुनै रहस्यमय आवाजको पछि लागेको थियो।

दिनभरी बाइक चलिरह्यो। न म थाकेँ, न त बाइक नै थाक्यो। न भोक थियो न तिर्खा। न त लघुशंकाहरुले नै सताइरहेका थिए।

कहाँ पुगियो? कुन ठाउँ हो? केही थाहा भएन। रात पर्यो। तर पनि मेरो बाइक रोकिएन। हेड्लाइट् बालेर दौडिरह्यो। जति दौडियो, बाटो पनि आएको आयै। बाटो प्रष्ट देखिरहेको थिएँ म। चारपांग्रे गुड्न सक्ने कच्ची।

एक्कैचोटी उज्यालो भएपछि मेरो बाइक रोकियो। अचानक इन्जिन बन्द भएको थियो। पुनः स्टार्ट गरें। अहँ, काम दिएन। 

बाइकलाई त्यहीँ छाडेर मैले चारैतिर हेरेँ। सेताम्य हिउँले ढाकेको थियो। हेर्दाहेर्दै मेरो बाइक पनि हिउँका कपास जस्ता फुसफुसे डल्लाहरुले ढाकियो। उड्दै आएका त्यस्ता हिउँ डल्लाहरुले मलाई पनि छोप्न थालेपछि म अलि पर देखिएको घर जस्तो आकृतितर्फ लागेँ।

त्यस विशाल आकृतिनिर पुगेँ म। त्यो एउटा घर नै थियो। तर त्यहाँ कोही पनि मान्छे थिएनन्। घरलाई सबैतर्फबाट हिउँले ढाकेको थियो।

म अझैअघि बढेँ। एउटा ठूलो प्रवेशद्वार देखापर्यो। छेउमा पुगेपछि त्यहाँ केही पढ्न पनि सकियो। ठूलाठूला अक्षरहरुलाई कताकति हिँउले ढाके पनि मैले पढ्न भ्याएँ : 
वेलकम टु द लास्ट रिसोर्ट। अल सुपर न्याचुरल।
 
मेरा पदचापहरु एकाएक प्रवेशद्वारबाट छिरेर अघि बढिहाले। सबकूछ स्वचालित झै भएको थियो। म त केवल एउटा यन्त्र भएको थिएँ। उर्जा, दृष्टि र दिशानिर्देष सबै अन्तैबाट वर्षिएको थियो। म नितान्त भिन्नै भएको थिएँ। अनि यस अनौठो अहोभावले ओतप्रोत मात्रै होइन, पुलकित पनि भएको थिएँ।

कुन अनुग्रह कहाँबाट यस्तरी वर्षिएको थियो कि म मेरो मसिहालाई उसकै अति शक्तिशाली रुपमा भेट्न गइरहेको थिएँ। र, अब त म उसको बहुतै समिप आइपुगेको अनुभूति पनि हुन थालेको थियो।

हिँड्दाहिँड्दै म कुद्न थालेँ। कुद्दाकुद्दै म तेज कुद्न थालेँ। तेज कुद्दाकुद्दै म उड्न थालेँ। होइन, दुनियाँको सबै शक्ति मभित्र मात्रै खनिएको हो कि? उदेक लाग्नु स्वाभाविकै थियो।

अर्को पल म फेरि एउटा प्रवेशद्वार सामुन्ने पुगेर रोकिएँ। तर यो शुरुको प्रवेशद्वारभन्दा अपेक्षाकृतरुपमा सानो थियो। यता त झलमल्ल घाम लागिरहेका। हिँउ पग्लिएर भुइँमा जताततै छिपछिपे पानी। वरपर अत्याधिक स्याउका रुखहरु। अंगूरका लहराहरु। सबै लटरम्म फलेका। अन्य मैले नाम नजानेका रुखहरु पनि आफ्ना शाखामा अनेक थरी फल झुण्ड्याएर स्वागतमा उभिए झैं गरिरहेका थिए। कस्तो आनन्द ? कस्तो अतिरेक ? मलाई लाग्यो, म स्वर्गको मूलद्वारमा खडा छु। छेवैमा ढुंगाका विशाल चौताराहरु पनि थिए। एउटा चौतारोमा केही कोट, पाइन्ट र ज्याकेट झुण्ड्याइएका थिए। 

प्रवेशद्वारको दायाँतिर एउटा सूचनापाटी पनि थियो। लेखिएको थियो :
द लास्ट रिसोर्टमा यहाँलाई स्वागत छ। कृपया आफ्ना सम्पूर्ण कपडाहरु फुकालेर मात्रै प्रवेश गर्नुहोला। कपडा लगाएर भित्र प्रवेश निषेध छ।

अनौठो। अप्रत्यासित।

कसरी फुकाल्ने आफूले लगाएका सम्पूर्ण कपडा यस्तो खुल्ला ठाउँमा ?

तर भित्र घुस्न त्यहाँको नियम मान्नु पनि जरुरी भएकाले मैले कट्टुबाहेक अरु सबै लुगाहरु फुकालेँ र चौतारीको खाली ह्यांगरमा झुण्ड्याइदिएँ। अनि प्रवेशद्वारबाट भित्र छिरेँ। केहीबेर हिँडेपछि एउटा ठूलो खाडल आयो। त्यहाँ तल ओर्लिने भरयाङ्हरु देखापरे।

ठीक त्यसैबेला पछाडिबाट कसैले मेरो कट्टु खोस्यो। च्यातिएर मेरो जीउबाट कट्टु गायव भयो। मैले फनक्क फर्किएर हेरेँ। एउटा अनौठो पन्छी चुच्चामा मेरो त्यो कट्टु च्यापेर उड्दै थियो। आकाशबाट मलाई एक फन्का लगाएर ऊ एकातिर गायव भयो। अनायासै मेरा दुवै हत्केलाहरुले मेरो लाजलाई ढाक्न पुगे।

भर्याङ् ओर्लिनुको बिकल्प थिएन। त्यहाँ अर्को एउटा सूचना थियो : कृपया दुवै हातले रेलिङ समाएर ओर्लिनु होला। भर्याङ् अप्ठ्यारो छ। सावधानी पनि अपनाउनु होला।

अब मेरा हातहरुले दुवै रेलिङ समाउन पुगे। यता म भने सर्वाङ्ग स्वतन्त्र भएँ।

केही बेर ओर्लिएपछि एउटा ठूलो कक्ष आयो। त्यहाँ कैयन जनावरहरु बसेका थिए। मलाई डर लागेन। डर र लाजबाट म रहस्यमय पाराले मुक्त भइसकेको थिएँ।

बाघ, हिउँचितुवा, पाण्डा, डाँफे, चील र अन्य जनावर तथा पन्छीहरु थिए त्यहाँ। उनीहरुले मलाई स्वागत गरेजस्तो पो महसूस भयो। त्यहाँ कुनाकुनामा अरु कैयन जनावरहरु पनि आआफ्नै धूनमा मस्त थिए। घस्रिने विभिन्न जनावर, चमेरा, उल्लू र अन्य पन्छीहरु पनि त्यहाँ चलमल गरिरहेका थिए।
 
एउटा पाण्डा मेरो छेउमा आयो र मेरो दायाँ हातमा प्रेमपूर्वक मुख गाडेर मलाई तान्न थाल्यो। म उसको पछिपछि भएँ। ऊ अर्कै एउटा विशाल कक्षमा दाखिला भयो। अनि मेरा आँखाहरुमा हेर्दै मुस्कुराए जस्तो पनि गर्यो। कक्षमा मैले देखेँ, विशाल अजिंगरहरुका बीचमा थिए मेरा मसिहा : लीला।
कैयन ठूलासाना अजिंगरहरुले उनलाई बेरेका थिए। उनले विशालकाया एउटा अजिंगरको ढाडको सिराने लगाएका थिए। लौ, अचम्म!

“ए, तिमी आइपुग्यौ ?” उनले मतिर पुलुक्क हेरेर सोधे। अनि अजिंगरहरुलाई प्रेमपूर्वक एकातिर पन्छाएर सुस्तरी म भएनिर आए। उनी निर्वस्त्र थिए।

“प्राकृतिक वस्त्रमा तिमी राम्रो देखिएका छौ,” उनले मलाई माथिदेखि तलसम्म हेरेर भने।
 
मलाई कताकता संकोचले छोप्यो। तर केही पलमा नै मेरो त्यो संकोच पनि गायव भयो। किनभने, उनी पनि प्राकृतिक वस्त्रमा नै थिए। र, साथै त्यहाँ भएका सम्पूर्ण जनावर र पन्छीहरुसमेत प्राकृतिक वस्त्रमा नै सजिएका थिए।

“तल शहरमा मान्छेहरुसँग बस्नु भन्दा मलाई यहाँ जनावरहरुसँग बस्न धेरै आनन्द र शान्ति छ,” उनले भने, “यी जनावर होइनन्, ईश्वरका सन्तान हुन्। हुन त मान्छेहरु पनि ईश्वरकै सन्तान हुन्। तर आज उनीहरुको ईश्वरत्व शैतानले खोसिसकेको छ। यिनीहरुले भने अझै पनि आफ्नो ईश्वरत्व कायम नै राखिरहन सफल छन्।”

म उनको कुरा निकै ध्यानपूर्वक सुनिरहेको थिएँ। ठीक त्यसै बेला, एउटा बडेमानको अजिंगर मेरो खुट्टा छेउबाट गुज्रियो। म अलिक पछि हटेँ।

लीलाले भने, “यो तिमीसँग मित्रता गाँस्न चाहन्छ। बिस्तारै उठाएर यसलाई आफ्नो घाँटीमा राख।”

मैले सावधानीपूर्वक उसलाई उठाएँ। अनि लीलाले भने झैं घाँटीमा बेरेँ। अजिंगर खुशी भएर मेरो घाँटीमा सल्बलाउन थाल्यो। उसको नागवेली शरीर अपेक्षाकृतरुपमा चिसो थियो। र, ऊ निकै भारी पनि थियो।

उनी जनावरहरुसँग खेल्थे। जनावरहरुसँगै खान्थे, सुत्थे। जनावरहरु उनको खयाल राख्थे। उनलाई खाना खोजेर ल्याइदिन्थे। त्यहाँको नजारा नै भिन्न थियो। र, यस्तो मैले केवल टार्जन फिल्ममा हेरेको थिएँ।

उनले अपार स्नेहले भरिएको आवाजमा भने, “म आफ्नो प्राचीनतातर्फ मोडिएको छु। र, अहिलेको यो जीवन मलाई औधि मन परेको छ। अब म कहिल्यै पनि तल, मान्छेहरुको दुनियाँमा फर्किन्न। तिमीलाई यहाँ कस्तो लागिरहेको छ ? टेलिपैथिक शक्तिले मैले तिमीलाई यहाँसम्म खिचेँ। अब बस्ने कि जाने, निर्णय त तिम्रै हातमा छ। अर्कातिर, मलाई तिम्रो बारेमा जान्ने मन पनि अत्याधिक थियो। पढेर साइक्याट्रिस्ट भएछौ। खुशी लाग्यो।”

म केही बोलिनँ। ट्वाल्ल परिरहेँ।

उनी र उनको प्राकृतिक परिवारसँग केही दिन बसेँ म। पन्छीहरुले टिपेर ल्याएका फलफूल र बाघ, चितुवाहरुले मारेर ल्याएका शिकारहरु पोलेर खाइयो। 

तर, मलाई कताकता यहाँ उनीहरुसँग बस्न मन लागिरहेको थिएन। मलाई तलको दुनियाँले तानिरहेको आभाष पनि भइरहेको थियो।
 
मैले आफैँलाई आश्वस्त तुल्याउँदै भनेँ, “तैले जानु पर्छ। यो रिसोर्ट तेरा लागि होइन। तैले घरजम गर्नै बाँकी छ। अरु नजाने कैयन कामहरु गर्न बाँकी नै छ। पैसा कमाउन पनि नै बाँकी छ। कैयन मानसिक रोगीहरुको उपचार गर्न बाँकी नै छ। बूढा भएका बाबुआमाको सेवा गर्न बाँकी नै छ। आज विज्ञान र प्रविधिको पराकाष्ठा भोग्ने युग हो। ढुंगे युग होइन। ढुंगे युगबाट त हामी यहाँसम्म आइपुगेका हौं। फेरि त्यही पुरानो युगमा फर्किनुको कुनै तूक छैन।”

एक हप्तामा नै म त्यहाँ बोर हुन थालेँ। मान्छे भएर कसरी नांगै पशुहरुसँग बसिरहन सक्छु त म ? मलाई त त्यहाँ लगभग कहाली नै लाग्न थालिसकेको थियो। 

अनि मैले तल झर्ने निर्णय गरेँ। लीलासँग बिदा मागेँ। उनका जनावरहरुलाई टाटा बाइबाइ गरेँ। मेरो जाने निर्णय सुनेर लीलाले कुनै रोकटोक गरेनन्।  म जस्तो आएको थिएँ त्यस्तै उँधो झरेँ।
 
तल चौतारीमा मेरा लुगाहरु जस्ताको तस्तै झुण्डिरहेका थिए। म फटाफट आफ्ना लुगाहरुभित्र घुसेँ। निकै दिनपछि मलाई अब कताकता आफू मान्छे हुँ कि जस्तो लाग्न थाल्यो। नत्र केही दिन लीला र उनका साथीहरुसँग बस्दा मैले आफू मान्छे भएको कुरा बिर्सिसकेको रहेछु।

हिँड्ने बेलामा लीलाले भनेका कुरा स्मरण गर्दै म अझै तल झरेँ। झलमल्ल घाम लागिरहेको अवस्था थियो। लीलाले मलाई भनेका थिए, “पुनः प्रकृतिमा फर्किएर नैसर्गिक जीवन ज्यूँन त्यति सजिलोचाहीँ छैन। किनभने मान्छेहरु यान्त्रिकतामा बानी परिसकेका छन्।”

मैले ठानेँ, फिलहाल मलाई यान्त्रिकता नै ठिक छ।
 
चमत्कारिकरुपमा एकै किकमा बाइक पनि स्टार्ट भयो। अनि म तलतल हुन थालेँ।

उनले मलाई खोजेर एउटा उपन्यास लेखेका थिए। मैले उनलाई खोजेर एउटा कथा भए पनि लेख्न सकेकोमा आज म निकै सन्तुष्ट छु।
समाप्त।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal