PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

किन बज्दैन अरुण थापाको अन्तिम गीत !

किन बज्दैन अरुण थापाको अन्तिम गीत !

सागर बुढाथोकी/पहिलोपोस्ट


कहिले हाँस्छु पागल सरी

रुन्छु घरि घरि…

तिम्रै यादले सताउँछ

अचेल किन फेरि

मुडमा आएर गीत सुनाए उनले । गीत सकाएर लामो सास तान्दै भने,‘यो नै अरुण थापाको अन्तिम रेकर्डेट गीत हो। म आफैँ उहाँसँग रेडियो नेपाल गएर यो गीत रेकर्ड गराएको हो।तर, आजसम्म मैले यो गीत सुन्न पाएको छैन।’

यो गीत खोजिदिन उनको आग्रह।

विश्व साइकल यात्री पुष्कर शाह विगतमा फर्किँदै छन्। स्वर्गीय गायक अरुण थापासँगको दोस्ती सुनाउन तयार छन् उनी। २६ वर्षपछि अरुण थापासँगको संस्मरण सुनाउँदा उनी ‘नोस्टाल्जिक’ छन्। थापासँग २२ वर्षको अल्लारे उमेरमा गरेको संगतको धुमिल यादमात्र बाँकी छ शाहसँग। कुराकानी गर्दागर्दै घरि गीत गाउँछन्, घरि शान्त र गम्भीर भएर विगत कोट्याउँछन्।

 

+++

भाटभटेनीबाट सय मिटरजति पूर्वतिर छिरेपछि साढे दुई तलाको घर छ। विगत केही वर्षदेखि त्यही छन् शाह। पहिल्लो तल्लामा छ उनको ‘मिनी संग्रालय’। भित्ताभरिपेन्टिङ सजिएको छ। विश्व साइकल यात्राको क्रममा बटुलेका विभिन्न सामानहरुले मिनी संग्रालयको झल्को दिएको छ। विभिन्न देशमा पाएका सम्मान र अवार्ड अनगिन्ती छन्। सबैदेशका झण्डा सजिएको छ। र्‍याकमा पुस्तकहरु मिलाएर राखिएको छ। मादल र गितार पनि। विश्वभरिका साइकल यात्रीहरुको ‘मिटिङ पोइन्ट’को रुपमा चिनिएको छ त्यो घर।
 

उनी साइकल यात्री मात्रै हैनन्। चित्र पनि बनाउँछन्। गितार समाएर गुनगुनाउँछन् पनि।तर, यतिबेला उनी कालजयी गीतका गायक अरुण थापासँग बिताएका दिनहरु सुनाउन बसिरहेका छन्।
 

चोट के हो व्यथा के हो, म जस्तो घाइतेलाई सोध

मिलन के हो खुशी के हो, मसँग कहिले सोध्दै नसोध !!

 

शाह मुडमा देखिन्छन्। थापाको अर्को कालजयी गीत सुनाए फेरि। ‘अरुण दाइ विन्दास हुनुहुन्थ्यो। हामीजस्तो अल्लारेलाई पनि उस्तै माया र सम्मान गर्नुहुन्थ्यो,’ शाहले विगत सुनाउन सुरु गरे।

 

+++

धोबीधाराबाट ६० मिटर पछाडि देब्रेतिर ‘होलिडे इन होटेल’ थियो। घरबेटीहरुको आपसी द्वन्द्वले होटेल बन्द भयो। कोठाहरु अत्यन्तै स्टान्डर्ट। होटेलले लामो समयसम्म बिल नतिरेकाले बत्ती काटिएको थियो। घरमा ४८ वटा कोठा थियो। बत्ती थिएन।
 

होटल बन्द भएपछि घर भाडामा दिइएको थियो। सस्तो भएकाले गाउँबाट आएका केटाहरु बस्थे।शाह पनि त्यही घरमा बस्थे।
 

स्टोभमा खाना पकाउनुपर्थ्यो। धोबीधाराबाट पानी ओसार्नु पर्थ्यो । काठमाडौं शहर झिलिमिली हुँदा त्यो घरमा मट्टितेलका बत्ती बल्थे। धेरै ठाउँका केटाहरु बस्ने भएकाले समय समयमा झगडा पनि पर्थ्यो। अध्याँरो घरमा छिर्न कमलपोखरीको प्रहरी डराउँथ्यो।

शाह विगत सुनाउँदै गए।

बत्ती नभएकाले भाडा सस्तो थियो। एउटै कोठमा ४/५ जना बस्थे। एउटा कोठाको ५ सय तिर्नुपर्थ्यो। ग्रुपमा मिलेर तिर्नुपर्नेभएकाले यो रकम ठूलो थिएन। अहिले त्यो घर भत्किसकेको छ। त्यही घरमा ३ वर्ष बसे पुष्कर। गायक अरुण थापासँग त्यही घरमा भेट भएको थियो।
 

समय २०४८ सालतिरको हो। उनी २२ वर्षको थिए। पिपुल्स र ललितकला क्याम्पस पढ्थे। दिनभरी काठमाडौंका गल्ली चहार्नु उनको दैनिकी। जागिर खाएका थिएनन्। एक किसिमको मस्ती थियो।

 

+++

पुष्करले अरुण थापासँगको पहिलो भेट सुनाए।
 

काभ्रेका गणेश उप्रेतीको घर थियो त्यो। घरबेटी अत्यन्तै ‘अल्कोहलिक।’ उनका परिवारले अल्कोहल छुटाउन सुधार गृहमा राखेको थिए। सुधार गृहबाट फर्किदा उप्रेतीले अरुण थापालाई सँगै लिएर आए। त्यो बेला घरमा बस्ने सबैजना अचम्म परे। शहरको चर्चित गायक एउटै घरमा सँगै बस्न आएका थिए।
 

‘हातमा गितार। चिटिक्क परेको ड्रेस अप। फूर्तिलो जिउडाल। मिलनसार व्यवहार। चर्चित मान्छे भएपनि सरल व्यवहार।आएको दिन नै थापा सबैको आकर्षणको केन्द्रबिन्दु बने,’ शाहले थापासँगको पहिलो भेट सम्झिए, ‘आएको दिन साँझमा नै गितार बजाएर गीत गाउन थाले। सबै केटाहरु पहिलो दिनमै फ्यान भए।’


 

यो २०४९ सालतिरको समयथियो। थापा ४० वर्षका जस्ता देखिन्थे। बिन्दास पाराका गज्जब थिए थापा। पहिलो दिननै पिउँदै गीत सुनाएका थिए।
 

घरबेटीको थापासँग दोस्ती सुधार गृहमै भएको थियो। घरबेटीलाई जस्तै थापालाई पनि परिवारले नै सुधार गृह पुर्याएका थिए। थापा घर नगइ सरासर उप्रेतीसँग आएका थिए। त्यहाँ आउँदा थापाको अवस्था नाजुक थियो। रक्सीबिना केही गर्न नसक्ने। आयस्रोत केही थिएन। परिवारको कोही भेट्न आउँदैन थिए। तैपनि उनी बिन्दास देखिन्थे।
 

 

‌+++

पुष्करको दोस्ती घरबेटीसँग राम्रो थियो। भाडा उठाउन उनले नै सहयोग गर्थे। हाँस्दै भन्छन्, ‘टोले गुण्डाजस्तै थियौं। त्यही भएर नि अरुण दाइसँग चाँडै आत्मियता बढ्यो।’
 

शाह अझै फ्लासब्याकमै छन्। भन्छन्, 'हामी साथीहरु मिलेर कोदोस्की (कोदोको झोल) ल्याएर उहाँलाई खुवाउँथ्यौं।कोदोस्की भएपछि उहाँ रातभर गाउनुहुन्थ्यो। उहाँलाई कोदोस्की खुवाउन हामी साथीहरु पालै पालो पैसा खर्च गर्थ्यौं।’
 

रक्सी भएपछि गीतार बजाएर गाउन सुरु गरिहाल्थे थापा।
 

थापा त्यो घरमा दुई वर्ष बसे। उनको स्वाभाव र व्यवहार फरक थियो। नियती र दुर्भाग्यले गर्दा आफन्तले साथ दिएनन्। अल्कोहलिक र ड्रगिष्ट भएकै कारण उनले क्षमता भएजस्तै उचाइ लिन सकेनन्। मरेपछि मात्रै उनको महत्व मान्छेले बुझे । सम्मान पाए। गीतहरु झनै हिट भए।
 

थापाको त्यतिबेलाका साथी भनेकै पुष्कर थिए। सँगै बस्थे, घुम्थे, खान्थे र गित सुनाउँथे।
 

पुष्कर र साथीहरुको लागि गीत चाहिएको थियो भने थापाको लागि रक्सी। जीन्दगी त्यसरी नै चलिरहेको थियो। ‘हामी कोही सिरियस भएनौं। त्यतिबेला उहाँको बारेमा  सोधिखोजी गरेर केही गर्न सकेको भए हुन्थ्यो। तर, हामी सबै अल्लारे। विद्यार्थी केही गर्न सकेनौं,’ शाहले आफैँसँग गुनासो गरे।’
 

फेरि त्यही गीत मुडमा आएर गुनगुनाउन थाले।
 

कहिले हाँस्छु पागल सरी

रुन्छु घरि घरि…

तिम्रै यादले सताउँछ

तिम्रै यादले सताउँछ

अचेल किन फेरि

उनी केही सम्झिएझै गरे। जुरुक्क उठेरमाथिल्लो फ्ल्याटमा गए। केही छिनमा एउटा फोटो ल्याएर देखाउँदै भने,‘लु हेर्नुस् त्यो घरमा बस्दाको अरुण थापा र म। उहाँको हातमा चुरोट छ। हामी रक्सी खाएर गीत सुन्दै बसेका थियौं।’

उनी फेरि गाउँन थाले।अरुण थापालाई सम्झिँदै।

यो मनको के भर हुन्छ

बहकिने मात्रै डर हुन्छ

जानी जानी पनि यहाँ

पिइरहने रहर हुन्छ।

 

भुलुँभुलुँ लाग्यो मलाई ,ऋतु हरुमा तिमी लगायत गीत  सुनाए शाहले। भने, ‘उहाँ धेरै बाच्नुपर्ने मान्छे, चाँडै मर्नु भो।’

 

‘अरुण दाइको डिभोर्स भएको थियो।उहाँको बुबा बैंकको म्यानेजर। एउटा छोरी छ भनेर सुनाउँथे। कुलतमा फसेर खान नपाउँदा कोही आएनन्। पछि उहाँको साथीहरुले त्यो घरबाट उहाँलाई लगे,’दु:ख मान्दै शाहले भने,‘म ५५ सालमा साइकल यात्रामा निस्केँ। २०५६ सालमा बागबजारको एउटा लजमा उहाँको मृत्यु भयो। सुन्दा दु:ख लाग्यो।’

कुरा सुनाउँदै गर्दा भावुक बनेका उनी किचेन तिर लागे। चिया बोकेर आए। गितार समाएर गुनगुनाउन थाले।

कलकत्ते काइयो केस मेरो बांगो

टेबुलमा ऐना छ।

पिरती मैले नलाको हैन

तकदिरमा रैन'छ।

 

अरुण थापाको ट्रयाजेडी गीत सुनाइरहेका उनी एकाएक यस्तो गीत गाउन थाले। मुड एकाएक चेन्ज भयो। हाँस्दै भने, ‘अव विगत सम्झाएर रुवाउनु हुन्छ कि क्या हो?’

 

+++

२०५१ सालतिरको कुरा हो। महिना याद छैन पुष्करलाई । एकदिन अरुणले भने, ‘हिँड पुष्कर भाइ। रेडियो नेपाल पुगेर आउँ।  एउटा गीत रेकर्ड गराउनु छ।’
 

उनले गीत रेकर्ड नगराएको लामो समय भएको थियो। बाहिर हिडडुल गर्दैनथिए। पुष्कर अचम्म मान्दै उनको पछि लागेर गए। रेडियो नेपालमा गीत रेकर्ड भयो। तर, त्यो गीत उनले सुन्न पाएनन्।
 

‘त्यो गितबाट आएको पारिश्रमिकले हामी दाजुभाइधोविधाराको एउटा भट्टीमा छिरेर रक्सी खाएका थियौं,’ त्यो दिन सम्झिँदै भने,‘कसले लेखेको थियो याद छैन मलाई। त्यसपछि त्यो गीत मैलै धेरै खोजे तर भेटिन। आजसम्म कहीँ बजेको सुन्दिन। उहाँको जीवनको अन्तिम गीत नै त्यही नै थियो।’
 

पुष्करलाई त्यो गीत अझै कण्ठै छ। शब्द संगीत सबै मन परेको थियो उनलाई। त्यो ट्रयाजेडी गीत घरमा धेरै चोटी सुनाएका थिए थापाले। उनको मात्रै हैन थापाको पनि‘फेवरेट’ गीत थियो त्यो। त्यसैले उनी त्यो गीत खोज्न चाहन्छन्। सुन्न चाहन्छन्। अमर थापाको अन्तिम रेकर्डेट गीत नयाँ पुस्तालाई सुनाउन चाहन्छन्।
 

र, विदा हुनै लाग्दा फेरि सुनाउँछन।

कहिले हास्छुपागल सरी

रुन्छु घरि घरि…

तिम्रै यादले सताउँछ

तिम्रै यादले सताउँछ

अचेल किन फेरि

          

गीत सकाउदै पुस्करले भने, ‘अहिले उहाँ बाचिरहेको भए कति खुशी हुनुहुन्थ्यो होला मेरो उपलब्धी देखेर। किनकि म उहाँको प्यारो पुष्कर भाइ थिएँ। रक्सी खाने साथी थिएँ। २ वर्ष मात्रै भएपनि हामिले धेरै अविष्मरणीय क्षणहरु बिताएका थियौं। जुन लेख्न मिल्दैन।’



ट्रेन्डिङ पोस्ट