PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

खुकुलो मापदण्डपछि होटलमा लगानी बढ्दै, कति छन् होटलको संख्या?



रासस

खुकुलो मापदण्डपछि होटलमा लगानी बढ्दै, कति छन् होटलको संख्या?

  • रमेश लम्साल/सिबी अधिकारी

काठमाडौँ : सरकारले पर्यटन क्षेत्रको प्रवर्धनका लागि होटल व्यवसायमा खुकुलो मापदण्ड तय गरेपछि पछिल्लो दिनमा सो क्षेत्रमा लगानी गर्नेहरु बढ्दै गएका छन्।

पर्यटन विभागका अनुसार पर्यटन क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको होटल, रेष्टुराँ तथा रिसोर्टको संख्या बढेर एक हजार २ सय पुगेका छन्। यस्तै १०० वटा नयाँ होटल थपिने क्रममा रहेको छ। हाल होटलको ‘बेड’ संख्या ४२ हजार रहेको छ।

लगानीमा भएको बढोत्तरीले रोजगारीको अवसरमा वृद्धि भएको छ भने आर्थिक क्षेत्रको थप उन्नयनमा बल मिलेको छ। पछिल्ला दिनमा कञ्चनपुरको होटल ओपेरा, नेपालगञ्जको होटल कृष्णा र सिमराको होटल इच्छाले पर्यटन विभागबाट चारतारेको अनुमति लिएका छन्।

यस्तै चारतारेको मान्यतासहित सञ्चालनमा आएका होटलमा नेपालगञ्जकै सोल्टी, नगरकोटको मिस्टिक माउण्टेन, कोहलपुरको सेन्ट्रल प्लाजासहितका होटल रहेका छन्। हालको गति र लगानी हेर्दा आगामी तीन वर्षभित्र काठमाडौँमा मात्रै चारतारे होटलमा चार हजार कोठा थप हुन लागेका छन्।

राजनीतिक अस्थिरता, लगानीमैत्री वातावरण नभएको भन्दै पछिल्ला वर्षमा नयाँ होटल नथपिए पनि हाल थपिएका र निर्माणका क्रममा रहेका दर्जन चारतारे होटलले नेपालको पर्यटन प्रवद्र्धनमा गुणात्मक फड्को मार्ने विश्वास लिइएको छ। विभागका अनुसार सन् २०१७ मा तीनतारे होटल तीनवटा थप भएका छन्। थपिएका तीनतारे होटलमा ठमेलको ११५ कोठे म्यारिओट, ठमेलकै ६३ कोठे मलवरी र हेटौँडाको ६० कोठे सामना होटल रहेका छन्।

हाल ३४ वटा तिनतारे होटल पुगेको विभागले जानकारी दिएको छ। पर्यटकस्तरका होटल २३ वटा थप भएका छन्। दुईतारे होटल ४३ छन्। सो व्यवसायमा संलग्नहरुका अनुसार हाल देशभर तारे, गैर तारे, रिसोर्ट र रेष्टुराँमा करिब १६ लाख पर्यटकलाई सेवा दिन सक्ने अवस्था सिर्जना भएको छ।

सरकारले सञ्चालनमा रहेका होटल व्यवसायलाई अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसहितको मागदण्डसमेत तय गरेको छ। काठमाडौँ उपत्यकाभित्र भन्दा पनि उपत्यका बाहिर होटल व्यवसाय सञ्चालन गर्नेलाई सहज रुपमा व्यवसाय गर्ने वातावरणसमेत निर्माण गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश राजनीतिक स्थिरताको चरणमा प्रवेश गरेको भन्दै होटल व्यवसायमा लगानी गर्न चाहनेहरुसमेत बढ्दै गएका छन्। विभागले काठमाडौँ उपत्यकामा रहने होटलको हकमा कम्तीमा १०० र उपत्यका बाहिर रहने होटलको हकमा कम्तीमा ८० सुत्ने कोठा हुनुपर्ने व्यवस्था गरेको छ।

उपत्यका, तराई मधेशमा होटलमा पौडी पोखरी आवश्यक भए पनि हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ पौडी पोखरीलाई अनिवार्य गरिएको छैन। विद्यमान तारे होटल, पर्यटकीय होटल, रेष्टुराँ तथा रिसोर्टको अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुरुप भौतिक पूर्वाधारसहित क्षमता विस्तार गर्ने नीति अख्तियार गरिएको र राजपत्रमा सूचना प्रकाशित गरेर लागू गरेपछि होटल क्षेत्रमा लगानी गर्नेको संख्यामा समेत वृद्धि भएको विभागका महानिर्देशक दिनेश भट्टराईको भनाइ छ।

भट्टराईका अनुसार काठमाडौँ उपत्यकाभित्र एक तारे होटलमा २० र काठमाडौँ बाहिर १५ कोठा हुनुपर्ने नयाँ मापदण्ड लागू गरिएको छ। यस्तै दुई तारेको हकमा काठमाडौँमा ४० र बाहिर ३०, तीन तारेका हकमा काठमाडौँमा ६० र बाहिर ४५, चार तारेका लागि काठमाडौँमा ८० र बाहिर ६०, पाँचतारेका लागि काठमाडौँमा १०० र बाहिर ८० कोठा हुनुपर्ने मापदण्ड तय गरिएको छ।

होटल तथा रिसोर्टको स्तर वर्गीकरणका लागि २०७० सालमा तय भएको मापदण्डलाई समसामयिक परिवर्तन गरी अन्तर्राष्ट्रिय होटल स्तर मापदण्डअनुसार तय गरिएको महानिर्देशक भट्टराई बताउँछन्। सो मापदण्डअनुरुप होटलका कोठालाई बढी केन्द्रित गरिएको छ। आरामदायी सुविधा बढाइएको छ। होटलका कोठाको संख्यालाई संख्यात्मकभन्दा पनि गुणात्मक रुपमा व्यवस्थित गर्ने प्रयास गरिएको छ।

होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह होटल व्यवसायमा लगानी गर्ने वातावरण बन्दै गएकामा खुशी व्यक्त गरे। 'सरकारले पछिल्लो पटक लागू गरेको मापदण्डले व्यवसायको प्रवद्र्धनमा बल पुगेको छ। सेवा क्षेत्रमा लगानी गर्नेको मनोबलसमेत वृद्धि भएको छ।'

काठमाडौँ उपत्यका बाहिर व्यवसाय शुरु गर्नेलाई विशेष प्राथमिकता दिने सरकारको नीतिले पर्यटन क्षेत्रमा नयाँ उभार आउने उनको भनाइ छ।

अर्का होटल व्यवसायी राजेन्द्र बजगाईंले उपत्यका बाहिरका होटललाई पर्यटकमैत्री बनाउन खोजिएकामा खुशी व्यक्त गरे। उनले जस्तोसुकै होटललाई पनि तारे होटलको मान्यता दिँदा त्यसले पार्ने प्रभाव नकारात्मक हुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए। सञ्चालमा रहेका होटल, रेष्टुराँ र रिसोर्टलाई थप व्यवस्थित, मर्यादित बनाउनेतर्फ लाग्नुपर्ने व्यवसायी बजगार्इंको भनाइ छ।

सरकारले तय गरेको मापदण्डअनुसार पर्यटकस्तरको साधारण होटलले कम्तीमा पनि सबैमा पर्याप्त प्राकृतिक प्रकाश आउन सक्ने र हावा चल्ने हुनुपर्ने, २५ प्रतिशत कोठाको साथमा स्नानघर तथा शौचालय (बाथरुम) संलग्न हुनुपर्ने छ।

यस्तै सबै कोठामा आधुनिक फर्निचर र बिजुलीको राम्रो प्रबन्ध हुनुपर्ने तथा नेपाली कला र संस्कृति झल्काउने किसिमले सजाइएको हुनुपर्ने छ। होटल व्यवसाय विश्वव्यापी उद्योग भएकाले समयानुकूल मापदण्ड बनाइएको र पर्यटकको रोजाइ तथा आवश्यकतालाई ध्यान दिइएको व्यवसायीको भनाइ छ।

तारे तथा पर्यटकीय होटलले आफ्ना सेवा सुविधालाई गुणस्तरीय बनाई बढी पर्यटक आकर्षण गर्न नयाँ मापदण्ड लागू गरेर लगानीमैत्री वातावरण बनाइएको विभागका महानिर्देशक भट्टराईको भनाइ छ।

सन् २०१७ मा नौ लाख ६४ हजार पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। सन् २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०१८ मा पर्यटक आवागमनको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ। सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ।

होटल व्यवसायी योगेन्द्र शाक्य पर्यटकको संख्यामा भएको वृद्धिसँगै पूर्वाधारको क्षेत्रमा थप लगानी हुनु सकारात्मक रहेको बताउनुहुन्छ । उहाँले होटलमा लगानी गर्ने लहर बढेसँगै व्यवस्थापन तथा प्रचारप्रसारको कामलाई समेत जोड दिनुपर्ने र गुणस्तरीय सेवाका लागिसमेत पहल गर्नुपर्नेमा जोड दिए। 'लगानी बढाएरमात्रै भएन, पर्यटकलाई सेवा सुविधा दिनेतर्फ पनि ध्यान दिइनुपर्छ। व्यवसायको दायरा बढाएर जानुपर्छ', उनले भने।

 

पर्यटक बढ्ने आशमा होटलमा खर्बौं लगानी, २९ तारे होटल थपिंदै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell