PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

काठमाडौंमै २५ रुपैयाँमा एक प्लेट मोमो : सस्तोमै दिँदा पनि आम्दानी लाखभन्दा बढी!

काठमाडौंमै २५ रुपैयाँमा एक प्लेट मोमो : सस्तोमै दिँदा पनि आम्दानी लाखभन्दा बढी!

सागर बुढाथोकी/पहिलोपोस्ट


‘कति प्लेट’  

२ प्लेट!

‘ल एकछिन पख्नुस् है। पाक्दैछ। उहाँहरु सबैजना कुरिरहेको हो।’

त्यतिकैमा अर्कोले भन्छ— ‘ठूलो सटर लिएर मान्छे राखेर  पसल चलाउनु बाजे तपाईँलाई धेरै फाइदा हुन्छ।’

‘सानै पसलमा २५ रुपैयाँ प्लेट बेच्दा फाइदा भइरा'को छ। मलाई मर्ने बेलामा किन चाहियो ठूलो भाग,’ बाजेको जवाफ।

यस्ता संवाद प्रायजसो ‘प्याफल’ टोलमा सुनिने गर्छ। 

वसन्तपुरबाट अलिकति भित्र छिरेपछि ‘प्याफल’ भन्ने चोक आउँछ। त्यही चोकमा माटोको पुरानो घर। पहिलो तल्लाको साघुँरो अध्यारो कोठा। जहाँ मुस्किलले ६ जना अटाउँछन्। बाहिरको पेटीमा सबैतिर मानिसहरुको लाइन छ। केही हातमा टपरे मो मो खाइरहेका छन्। कोही खानलाई प्रतीक्षामा।

कोठामा बस्ने मेच राखिएको छ। कुनै टेवल कुर्सी छैन। बाहिर पेटीमा मोमोको भाँडोबाट तातोतातो बाफ आइरहेको छ। बुद्धि बहादुर बलामी ग्राहकहरुसँग कुरा गर्दै हात चलाइरहेका छन्। ६५ वर्षको उमेरमा उनको जाँगर प्रशंशा गर्न लायक छ। 

वुद्धि बहादुर बलामी अर्थात् ‘मोमो बाजे’। यस बाहेक उनको अर्को परिचय छैन।

+++

बाजे ग्राहकको सेवामा व्यस्त छन्। बोल्न फुर्सद छैन। ग्राहकलाई मोमो दिँदै भने, ‘३ रुपैयाँ प्लेट देखि मोमो बेच्न सुरु गरेको। अहिले पच्चिस रुपैयाँ। सबैतिर मँहगी बढ्यो।’

काम गर्दै आफ्ना विगत सुनाउन तयार भए उनी।

मकवानपुरबाट सानैमा भागेर काठमाडौँ आए। ज्यामी काम गरे। बालुवा इँटा बोके। ज्यामी काम गर्न नसक्ने भएपछि होटलमा भाडा माझ्न थाले। महिनाभर भाडा माझ्दा १० रुपैयाँ तलब आउथ्यो।

‘१२ वर्ष होटेलमा भाडा माझेपछि आफै गर्नसक्छु भन्ने हिम्मत भयो। अनि मोमो पसल थापेँ। आफैले पसल थापेको ४० वर्ष नाघिसके छ,’ उत्साहित हुँदै उनले सुनाए। यति भन्दैगर्दा १० प्लेट मोमो बेचिसकेका थिए।

पसल थापेपछि बिहे गरे। बच्चा जन्माए। पढाए, बढाए, हुर्काए। ६ जना छोराछोरीको जिम्मेवारी उनीमै निर्भर थियो। काठमाडौंको ठाउँमा ठूलो सटर राखेर व्यवसाय गरे। आफू पढेलेखेको नहुँदा स्टाफहरुले बदमासी गरे। पसल घाटामा गयो। उनी ऋणमा परे।

त्यसपछि फेरि ज्यामी काममा फर्किए। खुट्टा भाँचिएर पाता हाल्नुपर्यो। २ वर्ष काम गर्न नसक्ने भएर ओछ्यानमा थला परे। उनको जीवनले एकाएक यूटर्न लियो।

सानो सटरमा फेरि मोमो पसल चलाएर बस्न थाले। बाहिरको स्टाफ राखेनन्। घर परिवार मिलेर व्यवसायलाई निरन्तरता दिए। सानै व्यावसायमा रमाउन थाले। भन्छन्, ‘४० वर्ष नाघिसकेछ, काम थालेको हिजै जस्तो लाग्छ।’

+++

उनका धेरैजसो नियमित ग्राहक छन्। नियमित पुराना ग्राहकहरुले नै पसल चलेको छ। उनको मोमोको स्वाद छुट्टै छ। पारखीहरु पनि छुट्टै छन्। त्यहाँ बच्चा, युवा र बुढाबुढीहरु स्वाद मानी मानी मोमो खाइरहेका भेटिन्छन्।

धेरैलै सोध्छन — ‘यति सस्तो मोमो बेच्दा घाटा लाग्दैन?’

‘लाग्दैन। सबै काम घरकै परिवारले गर्ने हो। ५ हजार मात्र भाडा तिर्छु। व्यापार धेरै छ। खान लाउन पुगेकै छ। मरिलानु के छ र?,’ बिन्दास पारामा उत्तर दिन्छन्।

+++

उनी बिहान ५ नबज्दै उठ्छन्। मासु लिन नरदेवी पुग्छन्। मासु ल्याएर कोठामै किमा बनाउँछन्। मसलाहरु घरमै तयार गर्छन्। त्यसैले पनि मोमो स्वादिलो र स्वास्थ्यवर्धक पनि छ। उनी सरसफाइमा सम्झौता नगर्ने बताउँछन्।

सम्पूर्ण सामान तयार गरेर २ बजे पसल पुग्छन्। बेलुका घर पुग्दा ९ बजिसकेको हुन्छ। भन्छन्, ‘दिनको ५ सय प्लेट बिक्री हुन्छ। दैनिक १० हजार भन्दा बढी पैसा उठ्दा ५ हजार नाफा हुन्छ। मासिक डेढ लाखभन्दा बढी कमाइ हुन्छ। परिवार ठूलो भएकाले अलि अलि मात्रै बचाउन सकेको छु।

नयाँ ग्राहकहरु सुरुमा सस्तो मोमो देख्दा सशंकित हुन्छन्। बासी छ कि भनेर खान डराउँछन्। त्यस्ता ग्राहकहलाई पुरानो ग्राहकहरुलाई देखाउँदै भन्छन्, ‘ल उहाँहरुलाई हेर्नुस्, दसौँ वर्षदेखि नियमित यही मोमो खानुहुन्छ।’ 

पुराना ग्राहकहरुले पनि भनिदिन्छन्, ‘अन्त २ सय प्लेटको मोमोले बिसन्चो गर्ला, यहाँकोले गर्दैन।’ 

ग्राहकहरुको यो विश्वासलाई कहिल्लै पनि मर्न नदिने बताउँछन् उनी। सकुन्जेल ग्राहकलाई सफा र स्वास्थ्यवर्धक मोमो खुवाउने बताउँछन्। भन्छन, ‘पैसा कमाउनका लागि ग्राहको लागि नराम्रो मोमो खुवाएको छैन। मर्छु बरु बेमान गरेर खाँदिन।’

+++

भूकम्प जानुअघि उनी २० रुपैयाँमा १२ वटा मोमो बेच्थे। अहिले महँगीले २५ पुर्याएको उनको कथन छ। देशमा महँगी बढेको चिन्ता छ उनलाई। २५ रुपैयाँमा मोमो बेच्न बाध्यता रहेको सुनाउँछन्। महँगीकै कारण ३ रुपैयाँमा बेच्न सुरु गरेको मोमो २५ भएको छ। ‘जताततै महँगी छ। गरीबका छोराछोरी कसरी बाँच्लान्,’ उनले चिन्ता व्यक्त गरे।

मोमो खान साधारण देखि चर्चित मान्छेहरु पनि पुग्छन् यहाँ। धेरैलाई उनी चिन्दैनन्। आउँछन् खान्छन्, प्रशंशा गरेर जान्छन्। त्यसैमै खुशी हुन्छन् उनी। केही समयअघि विश्व साइकल यात्री पुष्कर शाह पनि पुगेका थिए। २ प्लेट मोमो खाएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘यति सस्तो र स्वादिस्ट मोमो! बुद्धि बहादुरको सेवालाई सलाम।’

फोटो : गगन थापा

 


ट्रेन्डिङ पोस्ट

Ncell