PahiloPost

Sep 25, 2018 | ९ असोज २०७५

लिलाराज खतिवडाको कथाः धुँवा


लिलाराज खतिवडाको कथाः धुँवा
फाइल फोटो

  • लिलाराज खतिवडा -

एक,

सन् १९७१ (बिक्रम संवत् २०२७)

स्थानः झोँछे। साँझको समय। 

हेम्प क्याफेमा स्मिथ पीले सिगार जलायो। अनि बाक्लो धुँवा ओकलेर एक्स्ट्रा डार्क कफीको गहिरो चुस्की लियो। 

स्मिथ पी भर्खरै अमेरिकाबाट आएको हो। ऊ सिआइएमा उच्च अधिकृत छ। छुट्टी मनाउन होइन। ऊ मिशनमा यहाँ आएको हो। माकुराको जालो जस्तो एउटा षड्यन्त्र बुन्न ऊ यहाँ टप्किएको। अब हेरौं, उसले केही वर्षअघिसम्म पुरै दुनियाँका लागि लगभग बेखबर यो मुलुकमा के के गर्छ।

बिक्रम संवत १९६८ मा राजा महेन्द्रको भब्य अमेरिका भ्रमणसँगै अमेरिका लगायत अन्य मुलुकहरुलाई सांग्रिलाको ढोका खुलेको थियो। गोराहरुले उत्साहित भएर यो मुलुक भ्रमण गरे। उनीहरुलाई यहाँ सबै प्राचीन, प्राकृत र प्रिसियस् लाग्यो। यो देश आफैँमा एउटा बुद्ध बिहार जस्तै थियो। यहाँ पाहुनालाई देवता मानिन्थ्यो। छिमेकीलाई आफ्नै घरको सदस्य जस्तो व्यवहार गरिन्थ्यो। मान्छेहरु उच्च आदरार्थी भाषाले एक अर्कासँग संवाद गर्थे। खानपान, रहनसहन, मौसम सब कूछ उर्जावान, उन्नत र प्रांगारिक थियो। मान्छेहरुको कोमल ह्रदय उनीहरुको चेहराको निर्दोषपनामा प्रष्ट झल्किन्थ्यो। त्यसमाथि मूलको ताजा, स्वच्छ अनि उर्जामय पानीले मान्छेहरुका मुहारमा सदावहार मुस्कान चम्काइदिन्थ्यो। मान्छेहरु झुपडीमा हुन्थे। तर समृद्ध जीवन ज्यूँथे। यो आफैँमा एक महान सभ्यताको आविस्कार थियो अमेरिका र अरु मुलुकहरुका लागि।वास्तवमा भौतिक चरमता र स्वार्थी जीवनका अगाडि यो सब शाश्वत जीवनको त्यस्तो झलक थियो जसले पदार्थका पराकाष्ठा भोगिरहेकाहरुलाई शक्तिशाली झट्का हानिसकेको थियो। यस्तो प्राचीनता उनीहरु आफ्नो वतनमा चाहन्थे। उनीहरु खासमा, यस्तै किमीयाको खोजमा कताकति चुकिरहेका पनि थिए। एक किसिमले, कोलम्बसले अमेरिका भेटेभन्दा उपल्लो स्तरको खजाना हात पारेको अनुभूति भइरहेको थियो उनीहरुलाई यो सांग्रिलाको आभा।
 
हेम्प क्याफेमा ज्याक डुलेनलाई साँझ स्मिथ पीले डिनरमा बोलाएको थियो। ज्याक डुलेन केजिबीको लागि काम गर्थ्यो। ऊ धेरै रहस्यमय पनि थियो। पैसा र पावर उसका कमजोरीहरु थिए। उसका यिनै कमजोरीहरुको अफिसियल्ली फाइदा उठाइरहेको थियो स्मिथ पी।

सिआइएले केजिबीलाई मोहरा बनाएर देशमा केही खतरनाक खेल खेल्न लागिरहेको थियो। एउटा पारदर्शी जाल फ्याँक्न आँटिरहेको थियो। र, यस खेलमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा कैयन मान्छे, संस्था र देशहरु संलग्न थिए।

अर्कातिर हिप्पी मुभमेन्टको जगजगी थियो। गृहस्थास्रम तोडेर मान्छेहरु पश्चिममा खाओ, पिओ, मोज गरोवाला जिन्दगी ज्यूँन थालेका थिए। यता पूर्वमा चाहीँ त्यो पहिले नै चलिसकेको थियो। चार्वाक भन्ने कुनै नास्तिकले उहिल्यै जिन्दगी छोटो छ, यसलाई मोज गरेर नै समाप्त गर्नुपर्छ भनेर अहिले हिप्पीले जिए जस्तो जिन्दगी जिएका थिए। हेर्दाहेर्दै चार्वाकका कैयन चेलाचेलीहरु पनि भएका थिए। तर आज उनको अस्तित्व केवल इतिहासका पानामा सीमित भएको छ।
 
अमेरिकी लेखक, मनोवैज्ञानिक डा. टिमोथी ल्यारीले सिआइएको असाइनमेन्टमा गरेको मास एक्सपेरिमेन्ट थियो त्यो हिप्पीइजम्। यो कम्तिमा पचास वर्षको आयु भएको एउटा दिगो मिसन थियो।
 
वास्तवमा ल्यारीको हिप्पीइजम् गाँजा, एलएसडी र अन्य साइकिडेलिक ड्रगहरुमाथिको एक खतरनाक मास एक्सपेरिमेण्ट नै थियो। लामो रिसर्च पश्चात हालसालै उनीहरु रक्सीभन्दा गाँजा ठीक भन्ने निष्कर्षमा पनि पुगिसकेका थिए। र, तदनुरुप गाँजालाई कानूनी मान्यता एवम् सुलभता पनि प्रदान गरिएको थियो।

केही बेरमा नै कालो ओभरकोट, कालो बेलिबटम पाइन्ट र कालै ह्याट लगाएको ज्याक डुलेन आइपुग्यो।

स्मिथ पीले स्वागत मुस्कानसाथ हात अघि बढायो। डुलेनले पनि त्यसै गर्यो।

अनि उनीहरु स्मिथ पीले बुक गरेको क्याविनतर्फ लागे जहाँ उनीहरु दुई जनामात्रै ढुक्कले बात मार्न सक्थे।

स्मिथ पीले सिगार एस्ट्रेमा राख्दै भन्यो, “आगामी दिनमा अहिले हामी बसेको यो देश हाम्रो अधिनमा हुनेछ। म एक व्यापारी पनि हुँ। र, अनेक कुरामा चाख राख्ने स्वाभाव छ मेरो।”

“जानेर खुशी लाग्यो। हामीले मिलेर काम गर्दा के नै असंभव छ र?” डुलेनले एउटा खुलेको हाँसो फ्यालेर भन्यो।

स्मिथ पीले सही थाप्यो। अनि सोध्यो, “ड्रिंक?”

“ओह, स्यूअर,” डुलेनले मुख बंग्याउँदै भन्यो। अनि आफ्नै पाराले मुस्कुरायो।

प्यालामा वाइन खन्याउँदै स्मिथ पीले लामो तर ज्वालामुखि विष्फोट भए जस्तो डायलग बोल्यो, “तिमीलाई थाहै छ, हामी न त नेपोलियनले जस्तो विशाल साम्राज्य चाहन्छौं न त हिटलरको जस्तो घिनलाग्दो खौफ। हामी केवल अमेरिकी राष्ट्रपतिहरुले कुटनीतिक रुपमा लामो समय लगाएर विश्व कब्जा गर्न चालेको प्रोटोकल अनुसार काम गर्ने छौं। किनभने हाम्रा सबै राष्ट्रपतिहरुले उहिल्यैदेखि धेरैजसो कन्स्पिरेसी थ्योरीमा काम गरे। विश्वभरि ईन्द्रजालजस्तो रहस्यमय शक्तिको दवदवा बनाइराख्नु नै हाम्रो देशको महान लक्ष्य हो। पिँढी दर पिँढी हामी लगातार एउटै मिसनमा काम गरिरहेका छौं। अहिले धेरै देशहरुमा म यहाँ आए जसरी नै अमेरिकी एजेन्टहरु सक्रिय भइसकेका छन्। तिमीलाई यो कुरा भन्न मलाई कुनै आपत्ती छैन किनभने तिमी एउटा रसियन भएर पनि हाम्रो देशको लागि काम गर्छौ। र, यो पुस्तैनी पनि हो । तिम्रा बुबा पनि त हाम्रैलागि काम गर्दथे। तिमीले यस देशमा बसेर के गर्नु परयो भने, मान्छेहरुलाई किन्नु पर्यो। झुण्डझुण्ड बनाउँदै मान्छेहरुका ठूलाठूला संगठनहरु तयार गराउनु पर्यो। हामी यस देशबाट राजतन्त्र हटाएर यहाँ प्रजातन्त्रिक व्यवस्था स्थापित गराउन चाहन्छौं। यो एक हिन्दु राष्ट्र हो। यसलाई अब धर्म निरपेक्ष राष्ट्र बनाउनु पर्यो ताकि यहाँ पनि क्रिश्चियन धर्मले बिस्तारै जरा गाडोस्।”

यति भनिसक्दा स्मिथ पीले तीनवटा ठूला पेग सिनित्तै पारिसकेको थियो।

यता उसको कुरा ध्यानपूर्वक सुनिरहेको डुलेनले पाइपमा गाँजा लोड गरिसकेको थियो। उसले पिटरलाई फायर हान्न दियो।

स्मिथ पीले सहस्र फायर हान्यो। र, कश लिन थाल्यो। केही गहिरा कश लिएर उसले पाइप डुलेनलाई थमायो।

अब स्मिथ पी शुरु भयो, “यहाँ यो गाँजा भन्ने बनस्पति खुल्लमखुल्ला र छ्याप्छ्याप्ती छ। यो गोल्ड हो। गोल्ड प्रिसियस हुनुपर्छ। यसलाई यहाँ गैह्र कानूनी बनाउने हाम्रो अर्को मिशन हो। कुनै पनि बहुप्रचलित नशा झिकिदिँदा मान्छेहरुलाई विड्रल हुनसक्छ। तसर्थ गाँजालाई रक्सीले रिप्लेस गर्नुपर्ने हुन्छ। त्यो पनि कैयन वर्ष लगाएर। मिसनको डेड्लाइन हुनेछ पचास वर्ष।”

डुलेनको हातबाट पाइप लिएर स्मिथ पी धुँवा ओकल्न थाल्यो।

डुलेनले अन्तिम कश धुँवा ओकलेर भन्यो, “अब हामी जे गर्दै छौं, यो एक स्लो वार हो। वास्तवमा आजको युगमा हार्ड एण्ड फास्ट अट्याकभन्दा ग्राजुअल अट्याक नै उचित हुन्छ। कि कसो?”

“करेक्ट,” स्मिथ पीले भन्यो र ठहाका लगाएर हाँस्यो। डुलेनले पनि उसलाई उसैगरी साथ दियो। 
 

दुई,


केही दिनपछि स्मिथ पी अमेरिका फर्कियो भने ज्याक डुलेनले यतै बसेर आफ्नो काम चालू गर्यो। उसले करोडौं डलर खर्च गरेर आफ्ना कैयन एजेन्टहरु तयार गर्यो। मुलुकमा धीरेधीरे अनेक राजनीतिक आन्दोलनहरु छेडिए। अनेक आयोजना, परियोजना र मिसनरीहरु टप्किए। राजनीतिक आरोह अनि अवरोहहरु प्रभावित भए। तिनका बग्ने धाराहरु रातारात अर्कै दिशातर्फ मोडिए।

ज्याक डुलेनले यता आफ्ना कैयन रुपहरु बनायो। ऊ राजनीतिक नेता, कुटनीतिज्ञ, व्यापारी, सुरक्षा प्रमुखहरुसँग छुट्टाछुट्टै नाम र रुपमा भेट्ने गर्थ्यो। ऊ जताततै लगानी गर्थ्यो र बडो कुटनीतिक पाराले उनीहरु सबैमाथि आफ्नो भेस्टेड् इन्ट्रेस्ट लाद्थ्यो। नयाँ दिल्ली, सिंगापुर, ल्हासा जस्ता स्थानहरुमा उसका फ्ल्याटहरु थिए। यस मिसनमा उसले कैयन देशका कैयन मान्छेहरुलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा अनेक तरहले अनेक काम लगाउनु पर्नेहुन्थ्यो।
 
दश वर्ष बित्दा नबित्दै मुलुकमा गाँजा र गाँजाजन्य पदार्थहरुको उत्पादन र ओसारपसारमा रोक लाग्यो। अब ज्याक डुलेनका स्मग्लरहरुले यसको उत्पादन र ओसारपसारमा एकलौटी राज गर्न थाले। यस मामिलामा उसले कैयन नेता, पदाधिकारीहरु तथा सर्वसाधारणहरुलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा किनेको पनि थियो।

मुलुकमा कम्युनिस्ट क्रान्तिहरु मौलाउन थाले। हेर्दाहेर्दै छत्तिस सालको बिद्रोह भयो। अनि छयालिस साल। अनि माओवादी द्वन्द्व। अन्त्यतः गणतन्त्र। 

हेर्दाहेर्दै, यस मुलुकमा अति दर्दनाक तबरले राजतन्त्र पनि समाप्त भयो। मुलुक धर्म निरपेक्ष पनि भयो। जताततै क्रिस्चियन चर्चहरु बने। देश जताततै रक्सीमय भयो। भ्रष्टाचार, गुण्डागर्दी र बिक्रिती मौलाए। एक किसिमले यहाँ जसको शक्ति उसको भक्ति भन्ने भनाइ चरितार्थ भएको थियो। जताततै डढेलो सल्किए जस्तो भएको थियो। हेर्दाहेर्दै यो देश डढेर अँगार जस्तो हुन पुग्यो। मान्छेहरुका ओठबाट मुस्कानहरु गायब भए। अनेक रोग र संक्रमणले गाँज्न थाल्यो। जताततै हस्पिटलहरु खुले। कठै, सय वर्ष स्वस्थ बाँचेका यिनका पिता पूर्खाले स्वर्गमा के सोचे होलान्? यी त चालिस पचासमै लुढ्किरहेका थिए। त्यो पनि रोगले तड्पिएर।

उता अमेरिकामा भने प्राचीन चिकित्सा पद्दति भनेर गाँजाले कानूनी मान्यता पायो। मान्छेहरु हरे कृष्ण मिसनमा लागेर हिन्दु भए। त्यहाँ अरु कैयन योगा र ध्यान मन्दिरहरु स्थापना भए। आश्रम र गुरुकूलहरु निर्माण भए। अमेरिकाका ठूला शहरमा गेरुवा वस्त्र र खाली खुट्टामा गोरा मान्छेहरु भेटिन थाले। कहिल्यै कसैसँग खानेकुरा बाँडेर नखानेहरुका देशमा निःशुल्क भोजन, प्रसाद, लंघरहरु बाँड्न थालियो। पश्चिममा त शत्प्रतिशत् चमत्कार नै भएको थियो।

तीन,


पचास वर्षपछि,

अमेरिका हिन्दु राष्ट्र कहलियो। वेद, उपनिषद, पुराणहरु अंग्रेजीमा अनुवाद भएर त्यहाँ चप्पाचप्पा पुगे। स्कूल, कलेजहरुमा संस्कृत पढाइ हुन थाल्यो र तिनका नाम समेत संस्कृतमा लेख्न थालियो। वेदका ऋचाहरु त्यहाँ मान्छेहरुलाई कण्ठस्थ हुन थाले। पण्डित्याइ गरेर, शास्त्रार्थ गरेर त्यहाँका मान्छेहरु आफूलाई बडा विद्वान र ज्ञानी मान्न थाले। ध्यान, साधना, योगा, हवनादि गरेर स्वयम्लाई ऋषि, योगि, महाराज भन्न भनाउन थालिसकेका थिए।

उनीहरु भोग र दर्शनको चरमताबाट गुज्रिएका हुँदा, योगमा उनीहरुले शिघ्र चमत्कारिक प्रगति पनि गरे। भौतिक अति उम्लिएर नै अध्यात्म टुसाउने हो। उनीहरु फकिर देखिए। साधक निस्किए। योगी भए। उनीहरु सिद्द समेत हुन पुगे।

यता आफ्नो मुलुकमा भने क्रिश्चियन कृयाकलापहरु ज्यादा हुनथाले। स्कूल, कलेजहरुमा बाइबल पढाइ हुन थाल्यो।
 
हरतरफ अमेरिकी पद्दतिको किनबेच हुन थाल्यो। शिक्षा अमेरिकी, लवाइखवाइ अमेरिकी, चालढाल अमेरिकी, प्रेम गर्ने तरिका अमेरिकी, बच्चा जन्माउने तरिका अमेरिकी। बच्चाको नाम अमेरिकी। उसले पढ्ने स्कूल अमेरिकी। उसले मनाउने जन्मदिन अमेरिकी। मानौं, यता सबै कुरामा अमेरिकी रसायन घुसिसकेको थियो।
 
विद्यार्थीहरु अंग्रेजी भाषामा ठेलीका ठेली थेसिस तयार गर्थे र त्यसलाई पिएचडी भन्थे। नामको अगाडि डा. लेख्थे। अनि मान्छे भेला गरेर अरुले बुझून् कि नबुझून् लामालामा प्रवचन दिन्थे। मान्छेहरु संसारका सबै कुरा जान्दथे। तर आफ्नो बारेमा कम जान्दथे। मनमा जानकारीहरु संग्रह गरेर त्यसको गफ गर्नुलाई विद्वता भन्न थालिएको थियो।

यता मान्छेहरु इन्टरनेट एडिक्सनको चपेटामा पनि परे। एल्कोहोलिक्स भने झैं नेटाहोलिक्सहरुको जताततै बिगबिगी छायो। थाहा पाएर वा नपाएर मानिसहरु अनेक एडिक्सनको चपेटामा परे। मरे। बाँचे। वा अन्यथा।

पश्चिमाहरुले उहिल्यै भ्याएका अनेक एक्सपेरिमेन्टहरु यता बल्ल हुन थाले।

कस्तो अन्त्यहीन खाडल हो जति हाले पनि नभरिने? के यो सब खोक्रो छ, भित्र, बाहिर वा दुवैतिर? के यो केवल एक दाइँ हो तीन सय साठी डिग्रीको? के हो यो जीवन नामक रहस्यमय कोठेपदको समाधान?

कतै केही बुझिनसक्नु थियो। कोही भन्दा कोही कम थिएनन्। जताततै पानी, तेल र पारोका झोलहरु वाफ उडाएर भक्भक् उम्लिरहेका थिए। 
ओठमा बनावटी मुस्कान, छालामा जनावरको बोसोको लोसन, अनि चर्मघर्षणका खेपहरु। यता साँच्चै अर्कै खाले घटाहरु छाइरहेका थिए।
 

चार,
 

एउटालाई सिध्याएर अर्को निस्किने कुरो प्राकृतिक हुन सक्दैन। हिरा हिरा हो र अँगार अँगार नै हो। आगो आगो हो र धुँवा धुँवा नै हो। बाघको छाला ओढेर स्याल धेरै दिन टिक्दैन। आज अमेरिकाहरु नै चरमोत्कर्षमा शक्तिको मातले ढल्ने पालो पर्खेर बसेका छन् जस्तो आभाष भइरहेको छ। 

स्मिथ पी बुढो भइसकेको थियो। अठासी वर्षको उमेरमा पनि ऊ ठमठमी हिँड्थ्यो। ज्याक डुलेन पनि बूढो भइसकेको थियो। तर नजाने उनीहरुले पैसा र पावरको बलले अरु कैयन स्मिथ र ज्याक जन्माइसकेका थिए। हिमालयको एउटा समृद्ध मुलुकलाई पुरै तहसनहस पार्न सफल भएकामा उनीहरु अहिले अमेरिकाको एउटा भब्य होटलमा जस्न मनाइरहेका थिए। भोजमा उनीहरुका सन्तान र नाति नातिनाहरुसमेत उपस्थित थिए।
उता केही अन्य मुलुक भने अमेरिकालाई जरैदेखि उखेलेर फ्याल्ने उद्देश्यले शस्त्र अस्त्र बनाइरहेका थिए। बीचबीचमा धम्कीहरु पनि पेश गरिरहेका थिए। र, बेलाबेला उसलाई लल्कारिरहेका पनि थिए।

समाप्त ।

वैधानिक प्रावधान : धुम्रपान र मद्दपान स्वास्थ्यका लागि हानिकारक छ।



लिलाराज खतिवडाको कथाः धुँवा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट