PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रिय सभा निर्वाचनका लागि राजपाको बैठक: समर्थन कांग्रेसलाई कि वाम गठबन्धनलाई?



बीपी साह

राष्ट्रिय सभा निर्वाचनका लागि राजपाको बैठक: समर्थन कांग्रेसलाई कि वाम गठबन्धनलाई?

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेशी गठबन्धन (फोरम–राजपा) संयुक्त रुपमा सहभागी हुने निर्णय यसअघि नै भइसकेको छ। 

तर उम्मेदवारका विषयमा दुबै पार्टीले अहिलेसम्म निर्णय गर्न सकेको छैन।

राष्ट्रिय सभा सदस्यको उम्मेदवारी र निर्वाचनमा तालमेलका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ। 

आइतबार बस्ने राजपाको राजनीतिक समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरुको कार्यविधि बनाउने छ भने निर्वाचनमा तालमेलका विषयमा निर्णय गर्नेछ।

‘हामीले उम्मेदवारको विषयमा टुँगो लगाइसकेका छैनौं। बैठकले कार्यविधि बनाउनुका साथै उम्मेदवारहरुका विषयमा निर्णय लिन सक्छ।’ राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पहिलोपोस्टसँग भने,‘निर्वाचनमा तालमेलका विषयमा हामी अहिलेसम्म खुल्ला छौं। कांग्रेससँग औपचारिक छलफल सुरु भइसकेको छ। वाम गठबन्धनले पनि छलफल गर्न खोज्दैछ।’
महतोले कांग्रेससँग गठबन्धन हुने बढी सम्भावना रहेको सुनाए। तर बैठकको निर्णय आधिकारिक हुने उनको धारणा थियो।

राजपा र कांग्रेसका नेताहरुबीच राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफलसमेत भइरहेको छ। नेताहरुको बीचमा छलफल भइरहेको राजपाका नेताहरुले जनाएका छन्।
 
यता वाम गठबन्धनका नेताहरुले पनि राजपाका नेताहरुसँग व्यक्तिगत रुपमा छलफल थालेका छन्। राजपा स्रोतका अनुसार वाम गठबन्धनले दुई नम्बर प्रदेशमा ५ र पाँच नम्बर प्रदेशमा एक सदस्य दिने प्रस्ताव राजपाका नेताहरुलाई गरेको छ।
यता संघीय समाजवादी फोरम नेपालले पनि राष्ट्रिय सभा सदस्य उम्मेदवारहरुको टुँगो लगाएको छैन। 

‘निर्वाचनमा तालमेल हुने निश्चित छ तर को सँग तालमेल गर्ने भन्ने विषयमा निर्णयमा पुगएको छैन।’ फोरम नेपालका कोषाध्यक्ष विजय यादवले पहिलोपोस्टलाई भने, ‘पार्टीको आधिकारिक निर्णय भएको छैन। हामी छलफल मै छौं।’

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग वाम गठबन्धनका केही नेताहरुले अनौपचारिक छलफल गरेका छन्। वाम गठबन्धनलाई सहयोग गरेको खण्डमा फोरमलाई अन्य पद बाँडफाँडमा सहयोग गर्ने वाम गठबन्धनका नेताहरुले यादवलाई प्रस्ताव गरेका छन्। 
तर यादव निकट स्रोतका अनुसार अहिलेसम्म वाम गठबन्धनसँग तालमेल गर्ने कि कांग्रेससँग निस्कर्षमा पुगिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell