PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कथाः  जिन्दगी                                                  



कथाः  जिन्दगी                                                  

  • दिपक महत -
पहाडको टाकुरामा वरिपरि सल्लिपिरका हरिया रुखले बतासे हुइयाँ मच्चाइरहँदा हावामा मन चङ्गासरी सलल बग्थ्यो। चराको चिरविर आवाजले मीठो संगीतको ध्वनी छर्थ्यो, सुन्दा सुरिलो। घना वनले ढाकेको बीचमा त्यही वनकै खरले छाएको कुटी भन्न मिल्ने लायकको सानो घर थियो। सानो र झुत्रे भए पनि घरको गढिलो प्रेम मनले सधैं प्रिय मान्थ्यो। बाल्यकालका अनेकौं तीता, अप्रिय घटनाको भेटले ज्यान अरुको भन्दा बलियो र मन कसिलो भएको थियो।

याद ताजा छ। अहिलेजस्तो लाग्छ, घरमा कान्छो भनेर बोलाएको। स्कुलमा भर्ना गरेदेखि मेरो नाम वीरबहादुर। बाले नाम वीर बहादुर राखिदिए पनि साथी सबैले वीरे भनेर बोलाउँथे। गाली गर्दा पनि यही शब्द ओकल्थे। मलाई भने नभनिदिए हुनेजस्तो लाग्थ्यो। पढ्ने जाँगर कहिल्लै चलेन। किताब देख्दा जीउ रनन्न भएर आउँथ्यो। परीक्षा आउँदा सधैं ज्वरो। गृहकार्य धेरैजसो गरिएन।

खासमा स्कुल जाने मन नै थिएन। घर तलका मास्टरले बालाई हुँकारेपछि मात्रै बाले स्कुल पठाउन थाले। आमाले कोदोको रोटी र गोलभेँडाको अचार प्लाष्टिकमा पोको पारी देउराली डाँडोमा गोरु र बाख्रा चराउन पठाउँदा जस्तो खुसी कहिल्यै लागेन। स्कुल जान बाको किचकिचले मलाई के गरौं नगरौं हुन्थ्यो। रीसले अनुहार रातो। १ कक्षामा दुई वर्ष बसेपछि २ कक्षामा पुग्ने रहर कहिल्यै पलाएन।

घरको एक्लो सन्तान भएपछि बढी नै माया मिल्थ्यो सबैबाट। सधै बासँग लटपटिएर सुत्ने म स्कुल पठाउन थालेदेखि कहिल्लै सुतिन। आमाको काखमा पुगेँ। आमाको ममताको बखान त कसरी गर्न सकिन्छ र! जे भएपनि सन्तानको खुशीमा काँध थाप्ने आमाको हिम्मतिलो माया हरेक सन्तानका लागि अमूल्य नै लाग्छ। 

बालाई स्कुल पठाउन थालेदेखि छोरो टाढियो भन्ने लागेछ। 'अबदेखि स्कुल जान छोडिदिए कान्छा,' एकाविहानैको झिसमिसेमा बाले भनेपछि मेरो मन उज्यालियो। बिहानै सूर्यका किरणहरु ज्यान उज्यालो बनाउन आइपुगे। मायाले बाको घाँटीमा तुरलुङ्ग झुण्डिएँ। जिब्रो निकालेर मज्जाले बाको अनुहार चाटेँ। बा बल्ल आफ्ना लागे। यसअघि स्कुल नपठाउन भनेर आमालाई बासँग कुरा राख्न लगाएँ तर रीसले भरिएका, सधै रक्सीले मात्तिएका बासामु आमाले यसबारे कहिल्लै कुरा राखिनन्। राख्न सकिनन्। बा तल्लाघरे चतुरेको पसलबाट रक्सी खाएर आउँथे। मलाई बाले खाएर आउने रक्सीको गन्ध मगमग बासना छर्ने अत्तर भन्दा कम लाग्दैन थियो। 

गाँउघरतिर घुमफिरमा रम्ने मन। उकाली ओरालीमा डुल्ने तन। आनन्दको मातृभूमि। सधैं नजिक लागिरहने। रक्सी खाने बा भए पनि मायाले कसिरहने। घरपरिवार पाल्न लाहुरे बन्नुपर्ने बाको बाध्यता। त्यो दायित्व ढिलो चाँडो मेरै जिम्मामा आइलाग्ने मेरो अनुमान। बाले सुरु सुरुका दिनमा निकै दु:खले पालेको आमाले सुनाउँथिन्। बाको टाउको मरुभूमि जस्तो थियो। कपालका केसरा बाँकी थिएनन्। कपिलवस्तुको पत्थरकोटबाट ल्याउने नुनका भारीले कपाल निमिट्यान्नै पारेका थिए। यो सुन्दा टाउको गह्रो बन्थ्यो। 

१३ वर्ष टेक्न लागेपछि जुगाँको रेखीले किशोरावस्थामा पुगेको संकेत दिँदै थियो। छिट्टै म पनि कमाउन लाहुर जाने तर्खरमा थिएँ। बाध्यताको भारी सकी नसकी बोक्नै पर्ने अवस्था। पैसा कमाउने छोरो भयो भनेर बा आमा प्रफुल्लित। मुहारमा मुस्कानले छोप्दा छोरो त्यसै फुरुङ्ग। बा लाहुर पुगेको १ महिनापछि म पनि हानिएँ। मलाई त्यहाँसम्म पुर्याउने विशाल काका साहारा थिए। गत हप्ता उनको काठमाडौंमा सडक दुर्घटनामा निधन भएछ। पशुपतिमा अन्तिम श्रद्धान्जलि दिइरहेको जमात फेसबुकमा देखेपछि थाहा लाग्यो। उनको यादमा केही भेल आँशुले मुहार सिञ्चित गरेँ।  संसार छोड्नुपर्ने रीतको राम्रैसँग आत्मबोध भयो।  

दिनहरु बित्दै थिए। आश्विनको पहिलो साता दसैंको जमघटले गाँउघरमा छुट्टै उमङ्ग चुम्दै थियो। कुरा २०५७ सालको हो। बा र मैले लाहुरमा दुःखले आर्जेको केही पैसा बोकेर दसैं मनाउन घर फर्कने भयौं। अचानक बा बिरामी भइ गले। मैले अस्पताल पुर्याए। डाक्टरले “हेपाटिक्स फेलुअर” भने। मैले बुझिन। हिन्दीमा एक बिरामीका आफन्तले कलेजो काम नगर्ने अवस्थामा पुगेको भनेर बुझाए। यो थाह पाएपछि अनायसै आँशु टिलपिलाउन थाले। बालाई भनिन। मेरा झरेका आँशु बा सम्म पुर्याइन। नदीमा बग्ने पानी के बग्छ त्यति धेरै आँशुका भेलहरु भित्रभित्रै बगे। बेडको छेउमै आड लगाएर बसेँ। मेरो भरोसाले बा उज्याला देखिएका थिए। उज्यालो मुहार टिकेन। बाले संसार छाडेको रिपोर्ट डाक्टरले हातमा थमाए। 
घरमा आमा। दसैंमा बाउ र छोरा नआएको कारण मुर्छा परिन् होला। बाको प्राण पखेरो उडेपछि आमाको अनुहार चाउरिन थाल्यो कि! चिठ्ठीको प्रतीक्षामा कति आँखा गडिरहे होलान्। बिचरी मेरी आमालाई के थाहा पति वियोगको कहानी। म भित्रभित्रै चितामा जलिरहेँ। हिन्दु धार्मिक संस्कार अनुसार काजक्रिया सकाई बाँकी रहेको केही र थप नोकरी बाट कमाएको पैसा लिएर घर फर्केँ।

प्यूठानको चुदाँ घर फर्कदा ज्यान लखतरान परेको थियो। बा बितेको ९ महिनापछि घर फर्किएको थिएँ। सबै गरेर २ वर्षको अन्तरालमा आफ्नो ठाउँको जमिन टेकेँ। वियोगको दुखाइले आमाको अनुहार फुङ्ग उडेको थियो। 

बा बितेको कुरा लुकाएर लुक्ने थिएन। यथार्थ आमालाई बताएँ। आफ्नै मन थाम्न नसकेकी आमालाई मैले कसरी थाम्न सक्थें र! भक्कानो फुटेर निस्केको कर्कश आवाजले गाँउ गुन्जियो। म नाजवाफ बनेँ। निरीह बनेर वियोगको साक्षी बस्नु पीडाको कुन रुप हो मलाई थाहा भएन। जसोतसो आमा छोरा कठिन लाग्ने दिनका अशंहरुलाई पार गर्दे थियौं।

असारको मुसलधारे वर्षाले जमिन स्खलित बनाइरहेको थियो। खहरे भेल उर्लिएर भएभरको फोहोर सिनित्तै पारेको थियो। रुखका पातहरु जमिनमा बजारिएका थिए। ठाउँ ठाउँमा पहिरोले जमिन रातै भएर उजाडिएको थियो। यस्तैमा एक खालको हुण्डरीले मन उडिरहेको थियो। 
साँझको खाना खाएर आमा र म सुत्न गयौं। नरोकिएको वर्षाले कुटी भन्न लायक घर सबैतिर बाट चुहिन्थ्यो। ओत लगाउन बजारबाट किनेर ल्याएको प्लाष्टिक हावाले उडाइदिएको थियो। घामको कुनै अंश कपडामा पर्न नसक्दा बिस्तारा भिजेर आहालजस्तै बनेका थिए। दिनहरु एकै तरिकाले बित्दैनन्। त्यस्तै अन्धकार बन्ने रातले सधै उज्यालो लिएर आउँछ भन्ने नै के छ र! हो यस्तै बन्यो त्यो रात। कसरी लेखुँ रातको कहाली लाग्दो वियोग र पीडा। पहिरोले निमिट्यान्नै पारेको खुशीको एकमात्र हिस्सा। 

'आमा' भनेर चिच्चाएँ। उभिन नसक्ने मेरो सायद मेरुदण्ड खुस्कियो होला। सपना र विपनाको भेउ पाइन। नामको वीर मात्रै बनेँ। कुहिरोले ढाकिरहेको र सिमसिम परिरहेको पानीले निथ्रुक्कै भिजायो। घरको आँगनमा लम्बेतान बनेर आमा चिर निद्रामा लिन थिइन्। टाढाबाट आएका गाँउलेले हामी दुवैलाई त्रिवेणी घाटमा लैजाने सुर बुनिरहेका थिए। १ घण्टा लाग्ने त्रिवेणीमा मलाई पुर्याइएको थियो। आमालाई त्यसैगरी। फरक यो मात्रै थियो म फर्कनेवाला थिएँ, अरुको सहारामा तर आमा भने खरानी बनेर हावा र पानीमा मिल्दै थिइन्।   

धर्मराएको पारिवारिक स्थितिलाई माथि उठाउने सपना चकनाचुर भएर फुट्यो। काँधमा जिम्मेवारी। मनमा पीडा। गलेको मन, टुक्रेको संसार र छलेको जिन्दगी बाहेक अरु धर्तीले मलाई दिन केही बाँकी थिएन। अझै केही लिन बाँकी थियो भने मात्रै मेरो प्राण। हाँसो र आँशु साट्ने सजीव कोही बाँकी थिएनन्। मात्रै छायाँ र निर्जिवमा मेरो अस्तित्व जिवित थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell