PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

राष्ट्रिय ब्याडमिन्टन : रत्नजित र दीपेश फाइनलमा



पहिलोपोस्ट

राष्ट्रिय ब्याडमिन्टन : रत्नजित र दीपेश फाइनलमा

भिमदत्तनगर : राखेप च्याम्पियनसिप अन्तर्गत ३९औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधिका लागि नेपाल नम्वर वान रत्नजित तामाङ र दीपेश धामी भिड्ने भएका छन्। शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा प्रिन्स दाहालको चुनौतीलाई पार गर्दै रत्नले फाइनलमा स्थान बनाएका हुन्।

सुदूरपश्चिमको महेन्द्रनगरस्थित कभर्डहलमा भएको सेमिफाइनलमा १९औं नम्बरमा रहेका सुदूरपश्चिमका उदियमान खेलाडी प्रिन्स दाहालले पहिलो सेटमा सेनाका रत्नजित लाई १५ अंकमा रोक्दै जित हात पारे। दोश्रो सेटमा पनि अग्रता कायम गर्दै सनसनीपूर्ण खेल प्रस्तुत गर्दै १५–१४ को अग्रता बनाएका प्रिन्स कोर्ट लड्दा घाइते भए र रत्नजितले सो सेट २१–१५ अंकले जिते। अन्तिम तथा निर्णायक सेटमामा रत्नको ८ र प्रिन्सको ३ अंक रहेको अवस्थामा प्रिन्सले खेल खेल्न नसक्दा खेल त्यागे र रत्नजितले फाईनलमा स्थान पक्का गरे।

पुरुष एकल तर्फको अर्को खेलमा घरेलु दर्शको साथ पाएका एपीएफका दिपेश धामीले सेनाका नविन श्रेष्ठलाई २१–१३, २१–९ ले हराउँदै रत्नसंग उपाधि भेट पक्का गरेका हुन्।

महिला एकलमा सेनाकी नङ्गशल तामाङले एपीएफकी शिक्षा श्रेष्ठसँग फाइनलमा प्रतिस्पर्धा गर्ने भएकी छिन्। नङ्गशलले सेमिफाइनलमा एपीएफकी शोभा गौचनलाई २१–१३, २१–११ ले हराइन्। यस्तै शिक्षाले सेनाकी अमिता गिरी माथि २२–२०, २१–१५ को जित जित निकालिन्।

यसैगरी पुरुष जोडीतर्फको सेनाका रत्नजित र नविन श्रेष्ठको जोडीले फाइनलमा एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीसंग प्रतिस्पर्धा गर्ने भएको छ। तामाङको जोडीले एपीएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीलाई २१–१५, २१–१५ को अन्तरले पराजित गर्दै फाइनल पुगेका हुन्। यस्तै दिपेशको जोडीले सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरे।

महिला जोडीतर्फको खेलमा एपीएफकी पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडी फाइनल पुगे। श्रेष्ठ जोडीले सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१–९, २१–८ ले हराउँदै फाईनलमा सेनाका नङ्गशल र अनुमायाको जोडी संग भेट पक्का गरे। नङ्गशल र अनुको जोडीले पूर्वाञ्चलका जेशिका गुरुङ र सुनैना मुखियाको जोडीलाई २१–१५, २३–२५, २१–१९ ले पराजित गरे।

यसैगरी मिक्स जोडीतर्फको खेलमा सेनाका नङ्गशल र रत्न दिदीभाईको जोडीले एपीएफका साजन कृष्ण ताम्रकार र शिक्षा श्रेष्ठको जोडीलाई २१–१८, २१–११ ले र एपीएफका विजित थापा मगर र शोभा गौचनको जोडीले आफ्नै क्लबका दिपेश धामी र पुजा श्रेष्ठको जोडीलाई २१–१४, १६–२१, २१–१८ ले पराजित गर्दै फाईनल भेट पक्का गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell