PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भेट्रान फुटबल प्रतियोगिता : सिएमजी, बगर भाइखलक, जोरपाटी र दीप युनाइटेड सेमी फाइनलमा 



नरहरि पौड्याल

भेट्रान फुटबल प्रतियोगिता : सिएमजी, बगर भाइखलक, जोरपाटी र दीप युनाइटेड सेमी फाइनलमा 

पोखरा : बगर भाइ खलकद्वारा संचालित ‘सातौ स्व.रन्जित गुरुङ स्मृति बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को शुक्रबारको खेलबाट डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौं, आयोजक बगर भाइखलक ए,  जोरपाटी काठमाडौ र दिप युनाइटेड पोखरा सेमी फाइनलमा प्रवेश गरेका छन्। 

सेमी फाइनलमा सिएमजीले जोरपाटीको सामना गर्ने छ भने बगर भाइ खलक ए दिप युनाइटेडसँग भिड्ने छ। यता काठमाडौंका सिएमजी र जोरपाटी टिममा अधिकांश पूर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित छन्।

डिफेन्डिङ च्याम्पिएन तथा पूर्व राष्ट्रिय खेलाडीले भरिएको सिएमजीले प्रतिष्पर्धात्मक खेलमा पाहुना टोली कलकत्ता भेट्रान भारतलाई टाइ ब्रेकरमा ३–२ गोलले पाखा लगाएको छ। निर्धारित समयमा सिएमजीका लागि चेतनारायण श्रेष्ठ र कलकत्ताका लागि देवदाश चौधरीले एक एक गोल गरेका थिए। 

खेलको मध्यान्तर लगत्तै चेतनारायण दुई वटा पहेँलो कार्डका कारण मैदान छोड्नुपर्दा सिएमजी कलकत्तासँग दवावमा खेलेको थियो। तर, टाइ ब्रेकरमा कलकत्ताका खेलाडी विश्वजित दाशको प्रहार गोलपोष्टमा लागेर बहिरिँदा सिएमजीले सेमिफाइनलको यात्रा तय गरेको हो। सिएमजीका लागि खेलका म्यान अफ दि म्याच टिम कप्तान उपेन्द्रमान सिंह, बिजय श्रेष्ठ र कृष्ण मालाकारले गोल गरे भने कलकत्ताका लागि बिजय पल र प्रन्तोष रायले गोल गरे। 

यसै गरी दोश्रो खेलमा आयोजक बगर भाइ खलक ए ले बुटवल भेट्रान्सलाई २–० ले पराजित गर्यो। उक्त खेलमा बगरका लागि धन गुरुङ (सन्तोष) ले दुवै गोल गरेका थिए। उनी खेलका म्यान अफ दि म्याच घोषित भए। जोरपाटी काठमाडौं भेट्रान्सले चितवनलाई टाइ व्रेकरमा रोक्न सफल भयो। निर्धारित समयमा दुवै टिम बाट गोल नभएपछि टाइ ब्रेकरमा जोरपाटीले चितवनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। जोरपाटीका लागि राकेश श्रेष्ठ, निमा लामा र सरोज थापाले गोल गरे भने चितवनका लागि एक मात्र गोल नर्कु तामाङले गरे। उक्त खेलमा जोरपाटीका सरोज थापाले म्यान अफ दि म्याच पाए। 

यता स्थानीय टिम दिप युनाइटेडले फोर्टी फाउन्डेसन काठमाडौलाई १–० ले स्तव्द्य पार्यो। दिप युनाइटेडमा सम्मिलित नेपाली राष्ट्रिय टिमका पूर्व टिम कप्तान बसन्त गुरुङले एक मात्र गोल गर्दै टिमलाई सेमी फाइनलको यात्रा तय गराए। उक्त खेलमा दिपका कृष्ण गुरुङ म्यान अफ दि म्याच घोषित भए। शनिवार विहान दुवै सेमी फाइनलका खेल हरु हुने र दिउँसो १ बजे फाइनल खेल हुने आयोजक बगर भाइ खलकका सदस्य खगेन्द्र गुरुङले बताए।

४० वर्ष देखि ६५ वर्ष उमेर समुहले सहभागिता जनाएको यस प्रतियोगितामा विजेताले नगद रु. १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्वितीय पुरस्कार विजेताले नगद ५० हजार मात्र, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने बगर भाइ खलका अध्यक्ष दिल बहादुर गुरुङले बताए।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell