PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

किन रकम तिर्दैनन् हेलिकप्टर सञ्चालक? ५४ लाख बक्यौता



रासस

किन रकम तिर्दैनन् हेलिकप्टर सञ्चालक? ५४ लाख बक्यौता

  • रमेश लम्साल/सिबी अधिकारी –  
काठमाडौँ : आन्तरिकरुपमा उडान गरिरहेका आठ हेलिकप्टर कम्पनीले रु ५४ लाख २३ हजार ६५१ रकम तिर्न अटेर गरेका छन्। 

आन्तरिकतर्फ उडान गरिरहेका कूल १८ वायु सेवा कम्पनीमध्ये आठ वटा हेलिकप्टर कम्पनीले सेवा पुर्याइरहेका छन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उड्डयन कार्यालयका अनुसार आठ हेलिकप्टर कम्पनीले बुझाउनुपर्ने रकम बुझाउन नमानेका हुन्। 

उड्डयन कार्यालयका अनुसार श्री एयर, सिम्रिक एयरको समान १८ लाखभन्दा बढी बक्यौता रहेको छ। श्री एयरको रु १८ लाख ९९ हजार ५७८ बाँकी छ। सिम्रिक एयरको रु १८ लाख २९ हजार ७४३ रकम तिर्न बाँकी रहेको छ। 

यस्तै एयर डायनास्टिकको रु २६ हजार ३६३, प्रभु हेलिकप्टरको रु १६ हजार ६६९, माउण्टेन हेलिकप्टरको रु नौ लाख पाँच हजार २९०, मनाङ एयर रु ९१ हजार ३२२, फिस्टेल एयरको रु तीन लाख ६४ हजार ३६५ बाँकी रहेको छ। 

आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा रहेका विभिन्न वायु सेवा कम्पनीले रु ६६ करोड ३९ लाख ४६ हजार ३०७ बक्यौता तिर्न बाँकी रहेको छ। 

बढी बक्यौता रहेको श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले विमानस्थलमा रहेको बिलिङ प्रणालीमा रहेको कमजोरीका कारण बक्यौता रकम देखिएको बताए। 

“हामी बक्यौता रकम तिर्न तयार छौँ, विमानस्थल कार्यालयले आफ्नो प्रणालीलाई व्यवस्थित गर्न नसक्दा समस्या भएको छ, हाम्रो नतिर्ने नियत होइन”, उनले भने। सो एयरको आठ वटा हेलिकप्टर सञ्चालनमा छन्। त्यसमा रसियामा निर्मित एमआई १७ हेलिकप्टर छ वटा छन् भने साना दुई वटा हेलिकप्टर सञ्चालनमा छन्। 

विमानस्थल कार्यालयमा सधैँजसो बदलिने प्रमुख तथा कर्मचारीका कारण पनि आफूहरुलाई समस्या परेको जानकारी दिँदै उनले नियमावलीअनुसार पैसा उठाउनुपर्ने बताए। 

यस्तै बढी बक्यौता रहेको सिम्रिक एयरका अपरेशनल म्यानेजर रमेशमान बज्राचार्यले बक्यौता रकम तिर्न कुनै समस्या नभएको बताए। नेपाल नागरिक उड्डयन प्राधिकरणले ताकेता गरेपछि रकम तिर्ने प्रक्रियामा लागेको र छिट्टै रकम बुझाउने उनको भनाइ छ। 

“पुरानो बक्यौता तिर्न बाँकी रहेको हो, हामी छिट्टै प्राधिकरणलाई रकम बुझाउँछौँ, रकम बुझाउन पनि प्राधिकरणले सहजीकरण गरिदिनुपर्छ”, बज्राचार्यले भने। 

सिम्रिक एयरका हाल चार वटा हेलिकप्टर सञ्चालनमा छन्। थप एक हेलिकप्टर ल्याउने तयारीमा कम्पनी रहेको उनको भनाइ छ। 

प्राधिकरणले बक्यौता रकम उठाउन वायुसेवा प्रदायक कम्पनीलाई ताकेता गरेपछि विगतमा अटेर गर्दै आएका समेत रकम तिर्न तयार भएका छन्। 

नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले पुरानो बक्यौता तिर्न बाँकी रहेको भए पनि आफूहरु तिर्न तयार रहेको बताए। उनले प्राधिकरणले तिर्न आग्रह गरेपछि सबै वायु सेवा प्रदायक कम्पनीले रकम तिर्नु दायित्वभित्रै पर्ने विषय भएकाले संघको तर्फबाट सहजीकरण गरिने बताए। 

तीन–तीन महिनामा बिल आउने भएकाले केही बढी रकम देखिन सक्ने भए पनि बिलअनुसारको रकम तिर्नु नै पर्ने बताउँछन्। बिलिङ प्रणालीमा रहेको समस्याका कारण पनि केही बढी रकम देखिएको प्रवक्ता आचार्यको भनाइ छ। 

बन्द भएका विमान कम्पनीको रु ११ करोड बढी बक्यौता रकम रहेको र सञ्चालनमा नै रहेका कम्पनीको रु ६६ करोड बक्यौता रहेको सन्दर्भमा हेलिकप्टर कम्पनीको पनि बक्यौता देखिएको हो। 

प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले कुनै पनि वायु सेवा प्रदायकलाई छुट दिन नसकिने र उनीहरुबाट बक्यौता रकम असुलउपर गर्ने प्रक्रिया शुरु भएको जानकारी दिए। 

बक्यौता रकम उठाउन प्राधिकरणले एक छानबिन समितिसमेत गठन गरिसकेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell