PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


रानी पोखरीमा प्रताप मल्लको जात्रा 


किशोर नेपाल

रानी पोखरीमा प्रताप मल्लको जात्रा 

-कान्तिपुर गाथा-

चुनाव सकियो। कार्यालयमा साथीहरु सबै नर्मल भए। सुदिप्ती नयाँ एजेण्डाहरुको खोजमा लागी। अरु पत्रकारको तुलनामा चुनावमा निकै व्यस्त भएकी थिइ कनिका। पहाड र मधेशका झण्डै दर्जन जिल्ला भ्याएकी थिइ उसले। उ थाकेको त थिइन। तर, उसमा काम गर्ने जाँगर अलिकति पनि पलाएको थिएन। उ आफू भ्रमणमा गएको जिल्ला सम्झिन्थी। उकालो चढ्दा उसलाई कहीँ कहाली लाग्दथ्यो। कहीँ सहज हुन्थी। मधेशको तुलनामा पहाड कठिन थियो। पहाडको तुलनामा मधेश कठिन। कतै अत्यासलाग्दो उकालो। कतै पट्यार लाग्दो सतह।

चुनावमा को को हारे? यो कनिकाका लागि उत्साहजनक समाचारको विषय थिएन। जित्नेले कसरी जिते? कसरी भयो दाम र दण्डको प्रयोग? कहाँ कुन बस्तीमा कतिवटा राँगा ढले? कहाँ कति खसी काटिए? कतिवटा बुथ लुटिए? कति कार्यकर्ता चुटिए? यस्ता समाचारमा कनिकाको ध्यान थिएन। एक त यी फिलर थिए। दोस्रो चुनावमा भनिएको, लेखिएको र सुनिएको भन्दा धेरै नै बढी मनपरी भएका थिए। निर्वाचन आयोगका मानिसहरु डराइ डराइ भन्थे, तोकिएको भन्दा धेरै बढी चुनाव खर्च भएको छ। यसरी खर्च गर्ने यी उम्मेदवारले पैसा कहाँबाट ल्याए? त्यसको त के हिसाब किताव?

चुनावको अन्तिम चरणमा सर्लाहीका एकजना भलादमी कनिका र उसका स्थानीय प्रतिनिधि बटेश्वरसँग कुरागर्दै थिए, “अब छोडी नै दि हाल्नुस् बटेश्वर बाबु, पैसा कहाँबाट आयो? हामीलाई त ताज्जुव हुने कुरै आएन। यी नानीलाई किन भुलिभुलैयामा राख्नु? यहाँ त प्रचार एमालेले गर्‍यो, कांग्रेसले गर्‍यो, जित्यो राजपाले। चुनाव अब पहिलेको जस्तो कहाँ रह्यो र? पैसावालले खेल्ने हो चुनाव।”

कनिकाले सोची, घटनाहरुको सिलसिला राम्ररी मिलाएर प्लट तयार गर्ने हो भने देशमा हाल भएको तीन तहको चुनावमा आधारित तीनवटा थ्रीलर लेख्न सकिन्छ। यस्तो चुनाव जहाँ सरकारले हत्याको आरोप लगाएका व्यक्ति जनताको अत्यधिक मतले चुनाव जित्दछ। यस्तो चुनाव जहाँ पुलिसको सबैभन्दा ठूलो र गतिलो भनिएको अधिकारी आफ्नै पक्षमा फर्जी कागजपत्र तयार गर्दछ। त्यो कागज फर्जी भन्ने पत्ता लागेपछि आफैं देश छाडेर भागेको समाचार आउँछ। चुनावकै सिलसिलामा कतै खुलेको बाटो बन्द गर्ने प्रपन्च रचिन्छ। कतै फराकिलो बाटोलाई खुम्च्याइन्छ। तै पनि, देशमा लोकतन्त्र विद्यमान छ। संघीयता छ। गणतन्त्र छ र हामी छौं।

नक्साको फराकिलो पाटोबाट हेर्दा देशमा शासन गरी रहेको कांग्रेस नेतृत्वको सरकार पराजित भएपछि उसले थुपुक्क सत्ता छाडेर नयाँ सरकारका लागि बाटो बनाइदिनुपर्ने हो। तर, चुनावमा पराजित पार्टी नै देशको थिति बसाल्न कसिएर लागेको छ। अब, कांग्रेस सरकारले सात ठाउँलाई प्रादेशिक मुकाम तोकेको छ। केरुङ, चीनदेखि रक्सौल, भारतसम्मको यातायात व्यवस्थाका लागि पनि पायक पर्ने हेटौडा शहर अब तीन नम्बर क्षेत्रको “लिड्डर”बनेको छ। दाङमा आन्दोलन, दिपायलमा आन्दोलन, वीरगन्जमा आन्दोलन, तरहरामा आन्दोलन। दर्जनौं आन्दोलनहरु सञ्चालनमा छन्। अब यो आन्दोलनको बीचमा कांग्रेस सरकारले राष्ट्रिय सभाको चुनाव गराउँदैछ। त्यसपछि गणतन्त्रको जरा मजवूत हुन्छ। हाँगाविगा र टहनीहरु बलिया हुनेछन्। साउदी अरबबाट नेपालले चामल आयात गर्नेछ। वंगलादेशमा ढुंगा निर्यात गरेर भारतसँग नून खरिद गर्नेछ। 

कनिकालाई लाग्यो, ठट्टा गरे पनि, ठुल्लु मारे पनि देशमा गणतन्त्र झ्याम्मिनु धेरै राम्रो कुरा हो। ती जो सधैँ हुँदैन भन्छन्, ती पेसिमिस्ट हुन्। जे कुरामा पनि अल्झो थाप्ने। जनता र नेता अप्टिमिस्ट भएपछि धरहरा बन्छ बन्छ। रानीपोखरी भरिने मात्र होइन, त्यसका किनारमा उभिएको हात्तीमाथि चढेका प्रताप मल्ल, उनकी रानी र जसको सम्झनामा यो पोखरी बनाइयो ती राजकुमारले पोखरीको परिक्रमा गरेको हेर्न पाइने सम्भावना छ। प्रदेश प्रमुख र राजधानी तोक्ने सवालमा देशका राजनीतिक दलहरुले मारपिट गर्ने सम्भावना खुलस्त छ। नयाँ लोकतान्त्रिक संघीय गणतन्त्र नेपालका भावि वा प्रस्तावित प्रधान मन्त्री केपी शर्मा ओलीले यसबारे इदमित्थ भनिसक्नु भएको छ।



रानी पोखरीमा प्रताप मल्लको जात्रा  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट