PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नवराज सिलवाल भन्छन् : 'म ललितपुरको भट्टेडाँडामा छु, प्रहरी अधिकारीसँगै छु'



सविन ढकाल

नवराज सिलवाल भन्छन् : 'म ललितपुरको भट्टेडाँडामा छु, प्रहरी अधिकारीसँगै छु'

आइजिपी प्रकरणदेखि चर्चामा आएका नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल आइजिपी नभए पनि चर्चामै छन्। विशेषतः अदालतमा पेश गरेको कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको अभियोगमा अनुसन्धान सुरु भएपछि उनको चर्चा सेलाएको छैन। प्रहरीले उनीविरुद्ध अनुसन्धान सुरु गरेको छ। बयानका लागि सिलवाललाई उपस्थित गराउन प्रहरीले पटक/पटक पत्राचार गरेको छ। तर, उनी फेला पर्न सकेका छैनन्। कतिपयले सिलवाल अमेरिका रहेको बताएका छन् भने कोहीले देशभित्रै रहेको दाबी गरेका छन्। तर, सिलवाल कहाँ छन्? उनलाई हामीले सोध्दा जवाफमा भने, 'म अहिले आफ्नो कार्यक्षेत्रमा नै छु।' प्रस्तुत छ सिलवालसँग सविन ढकालले गरेको संक्षिप्त कुराकानी।


अहिले तपाईँ कहाँ हुनुहुन्छ?

म अहिले आफ्नो कार्यक्षेत्रमा नै छु।


कार्यक्षेत्र भनेको कहाँ हो?

म अहिले ललितपुरमा नै छु।


तपाईँ मलेसिया गएको छु भन्नुहुन्थ्यो । कहिले फर्किनुभयो?

म एउटा कार्यक्रममा गएको थिएँ । केही दिन भयो फर्किसकेको छु।


विमानस्थलको रेकर्डमा तपाईँले विमानस्थल प्रयोग नगरेको भन्ने छ। विमानस्थल नै प्रयोग नगरी कसरी मलेसिया पुग्नुभयो?

म नियमित रुपमा नै गएको हो। आफ्नो तरिकाले नै गएको छु। कानुन विपरीत गएको होइन।


तपाईँलाई प्रहरीले किर्ते अनुसन्धानमा सुरु गर्ने थाहा पाएपछि फरार हुनभयो भन्ने आरोप छ नि त?

म निर्वाचनमा विजयी र्‍याली गर्दै थिएँ। घरदैलोमा नै थिएँ। कसैले वास्ता गर्नुभएन। जब म विदेश भएको थाहा पाएपछि उहाँहरुले ए भाग्यो भनेर हल्लाखल्ला गर्नुभयो। मैले पनि कानुन बुझेको छु। मैले पनि देशको सेवा गरेको छु। मलाई फौजदारी न्याय प्रणालीको बारेमा राम्रो थाहा छ। शक्तिको आडमा जे मन लाग्यो त्यही गर्न मिल्दैन। एउटा व्यक्तिलाई राजनीतिक प्रतिशोध साध्ने किसिमले प्रधानमन्त्री देउवा नै लाग्नुभएको छ।


के राजनीतिक खेल भएको छ भन्न खोज्नुभएको हो?

यो विशुद्ध राजनीतिक खेल नै हो। यसको अनुसन्धान गर्नुपर्छ। अदालतको निर्णयलाई म पनि स्वीकार गर्छु। चैत ८ गतेको फैसलाले म एक नम्बर भएको भनिएको थियो पछि कासमू कसरी कसले फरक पार्‍यो? फरक आएपछि अनुसन्धान हुनुपर्छ भन्ने मेरै माग हो।


त्यसो भए कसरी फरक/फरक कामसू आयो त? कहाँ फरक भएछ?

सक्कल मैले कहाँबाट पाउनु। सक्कल नभए नक्कल कसरी गर्नु। सक्कल प्राप्त गर्न मैले चोरेको हुनुपर्‍यो। कि म डकुमेन्ट राख्ने मान्छे हुनु पर्‍यो। मैले त सञ्चारमाध्यममा आएको आधारमा आफ्नो प्रतिरक्षा र अदालतले पहिले नै बोलिसकेको आधारमा मेरो नै बढी नम्बर हो भनेर दाबी गरेको हो। त्यो कसरी फरक भयो भन्ने अनुसन्धान हुनुपर्छ। सरकारको आयु सकिन लागेकाले अपराधीलाई छुटाउन र मुद्धा हटाउन यस्तो भइरहेको छ।


तपाईँको विचारमा दोषी को त? छानविनमा कसरी सहयोग गर्नुहुन्छ?

यो मुद्धामा प्रकाश अर्याल र म पक्ष र विपक्ष छौं। प्राकृतिक न्यायको सिद्धान्त अनुसार मेरो विपक्षले अनुसन्धान गर्ने मिल्दैन। यसको अनुसन्धान अर्को निकायले नै गर्नुपर्छ। निश्पक्ष निकायले छानविन गर्नुपर्छ। म अनुसन्धानमा सहयोग गर्न तयार छु। दोषीलाई कारबाही हुनुपर्छ।


महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई तपाईँलाई अनुसन्धानका लागि उपस्थित गराउनु भन्दै पत्र पठाएको छ। तपाईँ बयानका लागि कहिले उपस्थित हुने?

अनुसन्धानका लागि पत्र पठाउनु पर्ने नै थिएन। फोन नै गरेको भए पनि म आउथेँ। म गएर आफ्नो कुरा राख्थेँ। कानुनी प्रकृया मलाई पनि थाहा छ। म भागेर जाने मान्छे होइन। अहिले नौटंकी हल्ला मच्चाइएको छ भाग्यो भनेर। पक्राउ पूर्जी जारी भएको होइन। पक्राउ पुर्जी जारी गर्ने कुनै अपराध गरेको अभियोग हुनुपर्‍यो नि। मलाई त उपस्थित हुन मात्र भनेको हो। राजनीतिक रुपमा यसलाई प्रयोग गरियो। प्रहरी पनि यसमा प्रयोग भएको छ।


अनुसन्धानमा सहयोग गर्छु भन्नुभयो । कस्तो सहयोग गर्ने भन्नुभएको?

अहिले पनि ९९ प्रतिशत प्रहरी मप्रति सद्भाव राख्छन्। मेरो पक्षमा प्रार्थना गर्छन्।  उनीहरु अहिले पनि दुःखी छन्। अहिले पनि म प्रहरी अधिकृतहरु सँगै बसेर गफ गरिरहेको छु। प्रहरीले नै तपाई सुरक्षित हुनुहोस् भन्छन्। प्रहरीको नेतृत्व तपाईँको पछि लागेका छन्, अपराध गरिरहेका छन् भनेर उनीहरु चिन्तित छन्। म भाग्नु पर्ने कुरै आउँदैन। अनुसन्धानमा सहयोग गर्छु तर प्रकाश अर्यालको नेतृत्वको प्रहरीले होइन अर्को निकायले छानविन गर्नु पर्छ। म सहयोग गर्न तयार छु।


नयाँ सरकार नबनेसम्म तपाईँ सार्वजनिक हुनुहुन्न भन्ने आरोप छ नि?

हैन। म जनताका बीचमै छु। कसरी भाग्छु। अहिले म ललितपुरको भट्टेडाँडामा छु। म जनताको कार्यक्रममा नै छु। प्रकाश अर्यालले होइन अरु निकायले छानविन गरे म सहज रुपमा प्रस्तुत हुन्छु।


अरु केही भन्नु छ ?

नवराज सिलावाल भागेको छ। अमेरिका गएको छ। यहाँ गयो त्यहाँ गयो भन्ने सबै हल्ला हुन्। अमेरिका मेरी श्रीमती र छोराछोरी गएका हुन्।  मप्रति फैलाइएका हल्लाका पछाडि नलाग्न अनुरोध गर्छु। म अहिले नेपालमा नै छु। म कानुन अनुसार नै लडाइँ लड्छु। म एकजना व्यक्तिको लागि प्रधानमन्त्री नै लागेका छन्। राज्यसंयन्त्र दुरुपयोग भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell