PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोहलपुर एक्सप्रेसको 'सि-ओ-डब्लु काउ': राजनराज सिवाकोटीको ब्रान्डमा नयाँ टेस्ट



पहिलोपोस्ट

कोहलपुर एक्सप्रेसको 'सि-ओ-डब्लु काउ': राजनराज सिवाकोटीको ब्रान्डमा नयाँ टेस्ट

आमाको सुर्कै थैलीबाट पैसा झिक्दा खाएको पिटाइ सम्झिएर लेखेको गीत होस् वा गाउँघरमा दाजुभाइले सुपारी खाएर बिगारेको दाँत सम्झिएर राजनराज सिवाकोटीको गीत रुचाइयो। रुचाइयो भन्ने कुराको पुष्टि गर्छ 'सुर्के थैली खोइ?', 'पूर्व पश्चिम रेल', 'कुटुमा कुटु सुपारी दाना', 'चेप्टे चेप्टे पेरुङ्गो' लगायतका गीतले कमाएको युट्युब हिट्स। युट्युबमा मात्र नभएर स्कूल कलेजको कार्यक्रम, देउसी भैलो र अन्य स्टेज कार्यक्रममा पनि यी गीत खुब बजे।

सिवाकोटीले आफ्ना गीतहरुको उदेश्य बारे सधैं भन्छन्- मौलिक तथा लोक भाकाको संरक्षण, युवा पुस्तामा लोक गीतको प्रभाव पार्नु, मौलिक शब्दहरु बारे जानकारी। 'मेरो गीतहरु मनोरञ्जनको लागि मात्र नहोस्। यसले किताबको काम गरोस् भन्ने चाहन्छु। साथै आम भाषा र दैनिक जीवनमा प्रयोग हुने कुराहरु सिक्ने माध्यम बनोस्।' त्यसैले लोक भाका र मौलिक भाषा प्रयोग उनको शैली हो। त्यसमा थप लय र संगीतको रोमाञ्चता। राजनराज सिवाकवटीले आफ्नो ब्रान्ड बनाएका छन्। गीत संगीतको। ब्रान्डको महत्व बारे उनी बोल्छन्,'मान्छेले 'ए यो राजनराज सिवाकोटीको गीत हो है' भनेर चिन्नु पर्‍यो नि।' अब भने उनी आफ्नो सांगीतिक ब्रान्डमा नयाँ फ्लेवर ट्राइ गर्न चाहान्छन्। 'मेरो ब्रान्डको नयाँ टेस्टको लागि फिल्म कोहलपुर एक्सप्रेसको लागि एउटा गीत बनाएको छु। गीत सि- ओ- डब्लु काउ बोलको गीत स्रोतालाई फरक लाग्न सक्छ।' उनले आफ्ना यसअघिको गीतहरुभन्दा फरक भएर पनि निकै रमाइलो गीत बनेको सुनाए।

अभिनत्रीबाट निर्माताको पनि परिचय बनाउन तिर लागेकी अभिनेत्री केकी अधिकारीको निर्माणमा बन्न लागेको फिल्म 'कोहलपुर एक्‍सप्रेस'को नयाँ गीत यसै साता सार्वजनिक हुँदैछ। गीत सि ओ डब्लु काउ रिलिजको लागि काउन्ट डाउन सुरु गरेको फिल्म युनिटभन्दा पनि हतारोमा छन् गीतको रचनाकार, संगीतकार एवं गायक समेत रहेका राजनराज सिवाकोटी। भन्छन्,'स्रोता प्रतिक्रियाको आशामा छु।' अचम्म त के छ भने लोक भाकाकै गीतहरुका कारण चर्चामा रहेका सिवाकोटीको स्रोता भने सिमित उमेर समुहका छैनन्। उनी दङ्ग पनि यसै कारण पर्छन्,'हरेक उमेर समुहकाले मन पराइदिन्छन्। प्रतिक्रिया दिन्छन्। त्यसैले योपटक अझै धेरै समुहका स्रोता लक्षित गीत बनाएको छु।' 

आखिर के फरक छ त कोहलपुर एक्सप्रेसको यो गीतमा?

यो गीत आधुनिक भाकातिर अलि बढी ढल्किएको छ। उनले सरल जवाफ दिए। लोक, पप र आधुनिक भाकाको मिश्रण रहेको सि ओ डब्लु काउमा राजनसँगै स्वर दिएकी छिन् गायिका मेलिना राईले। राजन भन्छन्,'यो गीतको भाकासँगै सन्देश महत्वपूर्ण रहनेछ। त्योसँगै गीतले धेरैको पुरानो याद ताजा बनाइदिन सक्छ।'

राजनराज स्वयंमले पनि आफ्ना पुराना दिन सम्झिदा रचेको गीत थियो यो। गाउँमा केटाकेटीहरुले चिच्याइ चिच्याइ 'ए पी पी एल इ- एप्पल', 'बी ए एल एल- बल', 'सि ओ डब्लु- काउ' घोक्दा आफ्नो स्कूले दिन सम्‍झिए। अहिले जस्तो मोन्टेस्वरी, नर्सरी, एलकेजीको जमाना थिएन। कक्षा एकमा नेपालीमा नाम लेख्न सिक्नु र अङ्ग्रेजीको रट्टान त कक्षा तीनमा पुगेर लाउनु पर्ने बाध्यता। उनले आफ्नो गीतमा यी दिनहरुको झल्को दिलाउने कुशल प्रयास गरे। 'पहिले सिर्जनालाई दिमागबाट कागजमा उतारें र त्यसलाई इम्रपुभाइज गर्ने बेलामा फरक प्रयोगका लागि केही थप्ने घटाउने काम गरें।' उनले गाउँ दोलखामै हुँदा लेखेको गीत हो यो।

सन् २०१८ को सुरुवातसँगै यो वर्षको लागि सार्वजनिक हुने आफ्नो पहिलो गीतको प्रतिक्रिया राम्रो आउनेमा उनी ढुक्क छन्। आफ्नो हरेक गीतमा उनकै शैली झल्किएपनि सबै गीतमा फरक सन्देश, शब्द चयन र विचार रहेको उनको दाबी छ। त्यसैले पनि लोक भाकाहरुबाट केही पर रहेर तयार गीत सि ओ डब्लु काउ उनको लागि फरक प्रयोगसँगै च्यालेन्ज पनि हो।

उसो त फिल्मकी निर्मात्री समेत रहेकी केकी अधिकारी पनि उक्त गीतलाई आफ्नो फिल्ममा समावेश गर्न पाउँदा खुशी छिन्। भन्छिन्,'फिल्मको लागि गीत चयन गर्नका लागि हेरेको। सि ओ डब्लु काउ हेरेपछि अरु हेर्न मन लागेन। यो गीत आफ्नो फिल्ममा राख्न पाउँदा खुशी छु।' 

कोहलपुर एक्सप्रेस तीन युवतीको यात्राको कथा हो। जहाँ लोभ लालचमा फस्ने फसाउने काम हुन्छ। कलाकारहरु केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायतको अभिनय रहेको छ। फिल्मलाई बिशाल भण्डारीले निर्देशन गरेका हुन्। भण्डारीको पनि यो निर्देशकिय डेब्यु हुने फिल्म हो।

अर्जुन तिवारीले खिचेको फिल्ममा राजनराज सिवाकोटीसँगै अर्जुन पोखरेल र कालीप्रसाद बासकोटाको संगीत रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell