PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नवराज सिलवाललाई भेट्नासाथ समात्न सातै प्रदेशमा हेर्डक्वाटरको पत्राचार



सविन ढकाल

नवराज सिलवाललाई भेट्नासाथ समात्न सातै प्रदेशमा हेर्डक्वाटरको पत्राचार

काठमाडौं : पूर्व डिआइजी नवराज सिलवाललाई जहाँ भेटे पनि पक्रन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न प्रहरीले सिलवालको खोजी गरिरहेको छ। प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट सांसद निर्वाचित हुन्।  

आज प्रहरी प्रधान कार्यालयले पत्राचार गर्दै भेट्नासाथ समात्न निर्देशन दिएको हो। काठमाडौं प्रहरीको खोजीमा रहेका सिलवालविरुद्ध सातै प्रदेशमा खोजेर समात्न पत्राचार भएको प्रहरी स्रोतले जानकारी दियो। तर, प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले भने यसमा अनभिज्ञता जाहेर गरे। 

स्मरणीय के छ भने प्रहरी प्रशासनमा बलियो पकड भएका सिलवाललाई समात्ने विषयमा प्रहरीभित्रै फरकखाले 'राजनीति' देखिएको छ। पक्राउ पर्ने संकेत प्रहरी नेटवर्कबाटै पाएपछि उनी नेपाल बाहिर छन्। हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो बनेको राजनीतिक दल नेकपा एमालेको 'अम्ब्रेला'भित्र समेटिए पनि असुरक्षित महसुस गरेरै देशबाहिरै रहेका हुन्।   

सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाडौं प्रहरीले उनलाई खोज्न थालेको थियो। सिलवालसँग सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई काठमाडौं प्रहरीले गत पुस १८ गते पत्राचार गरेको थियो। तर, प्रहरी परिसर ललितपुरले सिलवालको ठेगानामा उनी नभेटिएको भन्दै पत्राचार गरेको थियो। 

ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभामा नवनिर्वाचित नवराज सिलवालले पूर्व निर्धारित कार्यक्रमका लागि मलेसिया पुगेको भन्दै आफू 'फरार' नभएको जानकारी दिएका थिए। तर, उनले मलेसियमा जुन कार्यक्रमका लागि गएको बताएका थिए, त्यहाँ त्यस्तो कुनै कार्यक्रम नै थिएन। साथै उनले जुन एयरलाइन्सबाट मलेसिया गएको जानकारी दिएका थिए, त्यसको समेत फ्लाइट सेड्युल नै गलत थियो। त्यसयता कुनै पनि मिडियामा उनी सार्वजनिक भएका छैनन्।   

आफूलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने दावीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजीसँगै प्रहरी प्रधान कार्यालयले सिलवाललाई कानुन बमोजिम गोप्य रहनुपर्ने कार्यसम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell