PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वाम गठबन्धनले राष्ट्रिय सभामा सिट बाँडफाँट टुङ्ग्याए, एमालेलाई २९, माओवादीलाई १४



वाम गठबन्धनले राष्ट्रिय सभामा सिट बाँडफाँट टुङ्ग्याए, एमालेलाई २९, माओवादीलाई १४

  • पासाङ ठकुल्ला -
काठमाडौं: वाम गठबन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो लगाएका छन्। 

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि वाम गठबन्धनले बनाएको ६ सदस्यीय संयुक्त कार्यदलले सिट संख्या टुङ्गो लगाएको हो। 

४३ सिटमा जित सुनिश्चित हुने भन्दै गठबन्धनले ७० र ३० को भागवण्डा गरेका हुन्। 

बैठकपछि कार्यदलका एक सदस्य एमाले नेता सुवास नेम्वाङले भने, 'हामीले ४३ सिटमा उम्मेदवारी दिने निश्चित गरेका छौं। यसमा २९ एमाले र १४ माओवादी केन्द्रका उम्मेदवार हुनेछन् ।'

राष्ट्रिय सभामा ६५ सदस्य हुन्छन्। बाँकी १३ सदस्यमा भने मधेसी लगायत अरु दलसँग छलफल गरी उम्मेदवार चयन गरिने नेम्वाङले जानकारी दिए।

उम्मेदवारहरु स्थानीय तह र प्रतिनिधि सभा प्रदेश सभाको नतिजा पृष्ठभूमि अनुसार पार्टी एकताको स्पिरिटलाई कायम राख्दै टुङ्गो लगाउने निर्णय कार्यदलले तयार पारेको छ। 

यस अनुसार प्रदेश मुख्यमन्त्री पाएको दलले प्रदेश सभाको सभामुखमा दावी नगर्ने र सभामुख पाएकोले मुख्यमन्त्रीमा दावी नगर्ने समझदारी बनेको छ। 

एमालेका तर्फबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादीको तर्फबाट रामबहादुर थापा 'बादल', मातृका यादव र वर्षमान पुन सदस्य रहेको कार्यदलले तयार पारेको समझदारी भोलि स्वदेश फर्कँदै गरेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई बुझाउने छन्। त्यसपछि मात्र उम्मेदवारको नाम टुङ्गो लगाउने भनिएको छ। 
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell