PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कास्की जिल्ला फुटबल संघको अध्यक्षमा मिलन गुरुङ विजयी



नरहरि पौड्याल

कास्की जिल्ला फुटबल संघको अध्यक्षमा मिलन गुरुङ विजयी
फोटो : नरहरी

पोखरा : कास्की जिल्ला फुटबल संघको सातौँ अधिवेशनबाट अगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा मिलन गुरुङ जिर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा मिलन गुरुङले प्रतिशपर्धी शिव गुरुङ (माया)लाई ८ मतको अन्तरले पराजित गरेका हुन्। मिलनले १३ मत प्राप्त गरेर निर्वाचित हुँदा शिवले ५ मत मात्र प्राप्त गरे।

यसैगरी उपाध्यक्षमा सुरेन गुरुङ, विश्व तण्डुकार र ईश्वर गुरुङ(चन्द्रं) निर्वाचित भएका छन्। सदस्यहरुमा पुष्प बराल, राधा गुरुङ, शुशिलकुमार श्रेष्ठ, मित्रबहादुर कुँवर, सचिनजंग थापा, बुद्धिबहादुर क्षत्री, हिटलर घले, रामकृष्ण बास्तोला र ईन्द्रबहादुर कुँवर निर्विरोध निर्वाचीत भए।

सचिव र कोषाध्यक्ष भने मनोनयन हुन बाँकी छ। कार्यसमितिको पहिलो बैठकले यी दुई पदमा मनोनयन गर्ने छ।

नयाँ नेतृत्वसँगै दुईवर्षदेखि स्थगित रहेको मनकामना केवलकार पोखरा कपलाई निरन्तरता दिनुपर्ने चुनौती थपिएको छ। अघिल्लो कार्यकालमा भएको फुटबल प्रतियोगिता सञ्चालनार्थ भएको ऋण समेत यो नयाँ कार्यसमितिको काँधमा आईपुगेको छ। अधिवेशनमा कास्की जिल्ला फुटबल संघमा आबद्ध २३ क्लबमध्ये केवल १८ क्लबले मात्रै मताधिकार पाएका थिए।

संघको अधिवेशनको उदघाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशाला पुर्वाधार निर्माणको चरणमा रहेको उल्लेख गर्दै फुटबल विकासको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।

अखिल नेपाल फुटबल संघका केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराईले खेलकुद भित्र जातीयवाद र राजनीतिवादले धरासायी बन्दै गएको भन्दै फुटबलमा यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए। अधिवेशनले सचिव शिव गुरुङ(माया) र कोषाध्यक्ष हिटलर घलेको प्रतिवेदनलाई पास गरिएको थियो।

कोषाध्यक्षको प्रतिवेदन अनुसार कास्की जिल्ला फुटबल संघले विभिन्न फुटबल प्रतियोगिता आयोजना गर्दा ७ लाख ४४ हजार रुपैयाँ ऋण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell