PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राष्ट्रिय सभाको निर्वाचनका लागि आयोगले बनायो दुई वटा नमूना मतपत्र, दलसित छलफल



राष्ट्रिय सभाको निर्वाचनका लागि आयोगले बनायो दुई वटा नमूना मतपत्र, दलसित छलफल

काठमाडौँ : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन तयारीबारे प्रमुख दलहरुसँग छलफल गरेको छ। आयोगले मंगलबार निर्वाचन आयोगमा पाँच दलका नेताहरुलाई बोलाएर निर्वाचन तयारीबारे छलफल गरेको हो।

खासगरी मतपत्रको ढाँचा, मतगणना र निर्वाचन सम्बन्धी अन्य व्यवस्थापनबारे आयोगले छलफल गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

छलफलका क्रममा राष्ट्रिय सभा निर्वाचन, सञ्चालन र व्यवस्थापनका विविध पक्षहरुका बारेमा आयोगले गरेको तयारीबारे दलहरुबाट सुझावसमेत मागेको थियो।

दलहरुले मतपत्र मतदाता मैत्री हुनुपर्ने र सबै मतदाताले सरल किसिमले मतदान गर्ने किसिमको मतपत्र बनाउन आयोगलाई सुझाव दिएको आयोगले जनाएको छ। 

आयोगले छलफलको लागि दुई किसिमका मतपत्रको ढाँचा प्रस्तुत गरेको थियो। प्रवक्ता ढकालका अनुसार महिला र अन्य तीन सदस्य निर्वाचित गर्न एकल संक्रमणीय निर्वाचन अन्तर्गत प्राथमिकताका आधारमा मत दिन मिल्ने गरी मतपत्रको ढाँचा तयार गरिएको थियो। 

दलित र अपाङ्गता भएका वा अल्पसंख्यकहरु मध्येबाट जसको बढी मत हुन्छ उही निर्वाचित हुने गरी एउटा मात्र मत दिन मिल्ने गरी मतपत्रको ढाँचा प्रस्तुत गरेको थियो।
 
छलफलमा प्रदेश प्रमुख तोक्ने सन्दर्भ पनि उठेको थियो। नेकपा एमालेका नेता सुवासचन्द्र नेवाङले राष्ट्रिय सभा निर्वाचनका विषयमा सरकारलाई पटक पटक ताकेता गर्दा पनि प्रदेश प्रमुख नतोकेमा आयोगले असन्तुष्टि व्यक्त गरको बताए। 

उनले भने, ‘आज पनि प्रदेश प्रमुख नतोकेको सुनेँ। यो नहुने काम भैराखेको छ। यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ 

आयोगले ३० दिनभित्र निर्वाचन हुने गरी निर्वाचन कार्यतालीका सार्वजनिक गरिसकेको छ। कार्यतालिका अनुसार नै निर्वाचन सम्बन्धी निर्देशिका नियमावली बनिरहेको आयोगले जनाएको छ।
 
आयोगका प्रवक्ता ढकालले भने, ‘कार्यतालिका अनुसार नियमित रुपमा निर्देशिका नियमावली बनाई रहेका छौँ। नियमित काम भइरहेको छ। तोकिएको मिति भित्र निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell