PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दीपाश्रीले तताइन् झुम्का कारागार



दीपाश्रीले तताइन् झुम्का कारागार

विराटनगर : ‘पटुकीमा सिउरेको सुर्के थैली खै ?’ आफ्नो चर्चित गीत गाउँदै माइक्रोफोन लिएर मञ्चबाट दीपाश्री तल उत्रिइन् र नाचिरहेका युवा सँगसँगै नाच्न थालिन्।

सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा माघे सङ्क्रान्तिका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रमकी विशेष आकर्षण थिइन् नायिका एवम् निर्देशक दीपाश्री निरौला।

दीपाश्री सँगसँगै नाच्न र गाउन पाउँदा बन्दीहरू रमाए, माघे सङ्क्रान्तिको चिसो बिर्सिएको अनुभव गरे र कारागारमा यस्तै कार्यक्रम लिएर बारम्बार आइरहन अनुरोध गरे।

दीपाले धनियाँले बोल्ने मधेसीमिश्रित नेपाली लवजमा प्रहसन प्रस्तुत गर्दै ४५ मिनटसम्म कारागारका १४ सय कैदीबन्दीलाई पेट मिचिमिची हँसाइन्। अनि आत्मचिन्तन र सुधारका लागि सबैलाई अनुरोध पनि गरिन्।

‘लैजाऊ घुम्न मलाई ठमेल बजार, ट्याउसी चलाउँदै– लाइदिउँला चोखो पियार’, अर्की चर्चित गायिका मीना निरौला पोखरेलले आफ्नो लोकप्रिय गीत प्रस्तुत गर्दा पनि बन्दीहरू उत्तिकै रमाएर नाचिरहे। दीपाश्रीभन्दा के–कम, मञ्चबाट ओर्लिएर उनले पनि नाचिरहेकै युवाहरूलाई साथ दिइन् र वातावरणलाई साङ्गीतिक गराइरहिन्।

प्राश्ना शाक्यले ‘आवाज देऊ’, ‘हाम्रो गाउँले जीवन’, र ‘मन छाडे मैच्याङ’ बोलका गीत गाइन्।

लेखराज गुरुङ र टीका प्रसाईं दम्पतिले ‘नाइँ मलाई थाहा छैन’, ‘पप्पी देउन’ र ‘सेल्फीको जमाना’ जस्ता गीत प्रस्तुत गरे।

विराटनगरका गायक सुमित खड्का र नवोदित गायिका तारा लावतीले पनि आ-आफ्नै भाकामा गीत पस्किए।

उद्योगी एवम् समाजसेवी दीनबन्धु गोयलले कारागारका कैदीबन्दीका लागि २ लाख रुपैयाँ बराबरका खेल सामग्री प्रदान गरे।

नागी डान्स सेन्टर इटहरीका कलाकारले बेलि डान्स र अन्य नृत्य प्रदर्शन गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell