PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सेभेन ए साइड फुटबल : भुटान र माल्दिभ्सको नक्कली टिमबारे आयोजक नै अनविज्ञ,किन मौन नेपाली खेलकुद निकाय?



नरहरि पौड्याल

सेभेन ए साइड फुटबल : भुटान र माल्दिभ्सको नक्कली टिमबारे आयोजक नै अनविज्ञ,किन मौन नेपाली खेलकुद निकाय?

पोखरा : पोखरामा जारी साउथ एसियन सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागी माल्दिभ्स र भुटानका खेलाडी टिम नै नक्कली भएको खुलासा भएको छ।

भुटान र माल्दिभ्सले १२औँ दक्षिण एसियाली सेभेन ए साइडमा फुटबल प्रतियोगितामा आफ्नो राष्ट्रिय टिमको सहभागिताका बारे प्रश्न उठाएपछि सम्बन्धित देशका टिममा रहेको खेलाडी नक्कली भएको सार्वजनीक भएको हो।

भुटान फुटबल संघ र माल्दिभ्स फुटबल एसोसिएसनले भुटान सेभेन ए साइड फेडेरेसन र माल्दिभ्स सेभेन ए साइड फेडेरेसन नामका कुनै संस्था नभएको जनाएपछि नक्कली खेलाडी टिम बनाएर प्रतियोगितामा भीडाएको सार्वजनिक भएको हो।

भुटान फुटबल एसोसिएसनका पदाधिकारी सोनम जट्टुले भुटानले प्रतियोगितामा भाग लिएको समाचारले आफू आश्चर्यचकित भएको बताएका छन्। भुटानको सेभेन ए साइडको कुनै राष्ट्रिय टिम नरहेको भन्दै उनले आपत्ति पनि जनाएका छन्।

त्यस्तै माल्दिभ्स फुटबल एसोसिएसनका सचिव जवाजले अहिले प्रतियोगितामा भाग लिएको टिमको आफुसँग कुनै सम्बन्धन नरहेको र माल्दिभ्समा राष्ट्रिय सेभेन ए साइड टिम नरहेको स्पष्ट पारेका छन्।

नेपाल सेभेन ए साइड संघ राष्ट्रिय खेलकुद परिषद राखेपमा दर्ता भए पनि राखेप यसबारे अनविज्ञ छ। खेल सञ्चालन गर्नको लागि राखेप र खेलकुद मन्त्रालयबाट अनिवार्य लिनुपर्ने ‘नो अब्जेक्सन लेट’ लिनु अनिवार्य हुन्छ। तर आयोजकले राखेप र मन्त्रालायबाट कुनै पनि प्रक्रिया पुरा गरेको छैन।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले सहभागी टिम नक्कली भएको जानकारी पाउँदा आफु चकित भएको बताएका छन्। साथै आयोजकले प्रतियोगिता सञ्चालनका लागी राखेपबाट कुनै अनुमती समेत नलिएको पौडेलले बताए।

खेलकुद मन्त्रालयका प्रवक्ता राम थपलियाले पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता भईरहेकोबारे अनभिज्ञ रहेको जनाए। उनले यस विषयमा कुनै जानकारी नभएको बताए। यस सम्बन्धि धारणा सार्वजनिक गर्नु राखेपको जिम्मेवारी भएको बताए।

साउथ एसोसिएसन सेभेन ए साइड फेडेरेसनद्वारा आयोजित उक्त खेलको संयोजन नेपालका सेभन ए साइड फुटबल फेडेरेसनले गरेको हो। संघका अध्यक्ष नवीन पुनले आफूहरुले प्रतियोगिताको संयोजन र व्यस्थापन मात्र गरेको बताए। वैधानिकताबारे केही जानकारी नभएको उनले बताए। ‘सम्बन्धित देशका खेलाडी को हुन्/होइनन् यसबारे केही भन्न सक्दैँनौँ।’

अखिल नेपाल फुटबल संघ कास्कीका पूर्व सचिव सुर्दशन रञ्जितले विज्ञप्ती जारी गर्दै फुटबलको नियमक संस्थाप्रति ध्यानाकर्षण गराएका छन्। नेपाली खेलकुदको नियमक संस्था खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, क्षेत्रीय खेलकुद विकास समिति लगायतले यसको अध्ययन अनुसन्धान गरी वास्तविक तथ्य सार्वजनिक गर्न रञ्जितले प्रेस विज्ञप्तिमार्फत माग गरेका छन्।

‘फरक देशका खेलाडीले आफैँ समूह बनाएर अर्को कुनै देशको नामबाट खेल्दा पनि अनभिज्ञ नेपाली फुटबलका नियमक निकायमाथि यो ठूलो प्रश्न हो,’ प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘सम्बन्धित देशले आफ्ना खेलाडी नभएको भनेर सार्वजनिक अपिल गरिरहेको अवस्थामा नेपालको अन्तर्राष्ट्रिय छबी कहाँ पुग्ला?,’ विज्ञप्तिमा प्रश्न गरिएको छ। ‘यदि यो सत्य हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा ठूलो गल्ती हो भन्ने मैले बुझेको छु,’ रञ्जितले उल्लेख गरेका छन्।

‘खेलले राष्ट्रिय एकता कायम राख्छ, खेलकुदको सम्बन्ध बहुराष्ट्रबीच निकै गाढा र प्रगाढ पनि हुने गरेको छ, यो इतिहासदेखि हामीले देख्दै र भोग्दै आएका छौ,’ विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न कारणले टाढिएका दुई वा बहुमुलुबीचको सम्बन्ध पुनस्र्था्पित गर्ने काम खेलकुदकै माध्यमबाट भएको छ।’

यो घटनाले नेपालको खेलकुद परिषद् र खेलकुद मन्त्रालयबीचको समन्वय नभएको भन्ने स्पष्ट पारेको उनले बताए। उनले भने, ‘यो गम्भीर विषय हो, यसले आगामी दिनमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत असर पार्छ।’

यस बारेमा नेपालको खेलकुद मन्त्रालयले अनुसन्धान गरेर कारबाहीका लागि प्रक्रिया थाल्नुपर्ने रन्जितले बताए। प्रतियोगितामा नेपाल, भुटान, माल्दिभ्स, पाकिस्तान, भारत र बंगलादेश गरी ६ टीमले प्रतिस्पर्धा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell