PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रहरीको दुरुपयोगः नेतादेखि कर्मचारीसम्मका ड्राइभर प्रहरी, प्रधानमन्त्रीको मात्र सात जना ड्राइभर



सविन ढकाल

प्रहरीको दुरुपयोगः नेतादेखि कर्मचारीसम्मका ड्राइभर प्रहरी, प्रधानमन्त्रीको मात्र सात जना ड्राइभर

काठमाडौँ : उच्च ओहोदामा रहेका नेताहरुदेखि कर्मचारीहरुले समेत नेपाल प्रहरीको दुरुपयोग गर्ने गरेको भेटिएको छ। भीआइपीहरुको सुरक्षाका लागि मात्र होइन सवारी चालकसमेत प्रहरी नै खटिने गरेका छन्। निजामतिबाट चालक व्यवस्था गर्नुपर्ने नियम भएपनि प्रहरी नै चालकको रुपमा खटिएका छन्। 

राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मात्र होइन पूर्वसांसददेखि उच्च ओहोदाका सरकारी कर्मचारीले पनि प्रहरीलाई नै सवारी चालक बनाएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि ४ जना प्रहरी चालकको रुपमा खटिएका छन्। राष्ट्रपति भण्डारीको लागि प्रहरी सहायक निरीक्षक कमला श्रेष्ठ, केशकुमार महतो, प्रहरी हवल्दार चेतनकुमार पुलामी लगायत चालक छन्। 

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनको सवारी चालकका रुपमा पाँच जना प्रहरी परिचालित छन्। प्रहरी सहायक निरीक्षक होमबहादुर दुरा, नुरबहादुर भुजेल, प्रदीप कार्की, यज्ञबहादुर थापा र प्रहरी हवल्दार भुलन यादव उपराष्ट्रपतिका चालक रहेका छन्। प्रसनि कार्कीलाई महानगरीय प्रहरी प्रभाग लगनखेलबाट लगिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको सवारी चलाउनका लागि सात जना प्रहरी खटिएका छन् जसमा चार जना प्रहरी नायब निरीक्षक र तीन जना प्रहरी हवल्दार रहेका छन्। चालकमा प्रहरी नायव निरिक्षक भीमप्रसाद धिताल, चेतनविक्रम कार्की, ऋषिराम सापकोटा र नारायण थापा छन्। त्यस्तै चालकमा प्रहरी हवल्दार हिरणबहादुर बस्नेत, नवीनध्वज आचार्य र महेन्द्र सिंह भण्डारी रहेका छन्।

नेकपा एमाले अध्यक्ष केपी ओलीका लागि दुईजना प्रहरी चालक प्रहरी प्रधान कार्यालयले व्यवस्था गरेको छ। अध्यक्ष ओलीको प्रहरी चालक दलमा प्रहरी हवल्दार अर्जुनकुमार काफ्ले र रामबहादुर थामी रहेका छन्। थामीको प्रहरी प्रधान कार्यालय सवारी शाखा र काफ्ले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दरबन्दी रहेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि प्रहरी सवारी चालक नै व्यवस्था गरिएको छ। अध्यक्ष दाहाललाई दुई प्रहरी हवल्दार र एक प्रहरी जवान दिइएको छ। प्रहरी हवल्दार नेत्रबहादुर तामाङ, धनबहादुर कार्की र हीरासिंह बलायर रहेका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि सरकारले तीन जना प्रहरी सवारी चालकको व्यवस्था गरेको छ। प्रहरी हवल्दार सूर्यबहादुर थापा, हरिहर जमकट्टेल र प्रहरी जवान हरिकुमार गुरुङ भट्टराईका लागि खटिएका हुन्। 

पूर्वसभामुख, पूर्वन्यायाधीश, प्रधान न्यायाधीश गोपाल पराजुलीदेखि मन्त्री तथा राज्यमन्त्रीहरु सबैले समेत प्रहरी चालक प्रहरी राखेका छन्। 

पूर्वमन्त्रीहरु गगन थापा, रमेश लेखक, राम कार्की, शक्तिबहादुर बस्नेत, शंकर भण्डारी,  ईश्वर पोखरेल, भीम रावल, खुमबहादुर खड्का, दीपक गिरी, अर्जुननरसिंह केसी लगायतका पूर्वमन्त्रीहरुलाई एक-एक जना प्रहरी जवान सवारी चालकको व्यवस्था गरिएको छ।

त्यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, कांग्रेस नेता रामहरि खतिवडा, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले पनि प्रहरी सवारी चालक लिएका छन्। नेपाल प्रहरीका एक अधिकृतले राजनीतिक दबाबमा प्रहरी चालक उपलव्ध गराउनु परेको बताउँछन्।

गृहमा कार्यरत १२ अधिकृतहरुको लागि पनि प्रहरी चालक नै व्यवस्था गरिएको छ। गृह मन्त्रालयमा तीन प्रहरी सहायक निरीक्षक र बाँकी प्रहरी हवल्दार चालकको रुपमा खटिएका छन्। 

पूर्व डिआइजी हेमन्तमल्ल ठकुरी यसरी प्रहरीलाई सवारी चालकको रुपमा प्रयोग गर्नु प्रहरीको शोषण र दुरुपयोग भएको बताउँछन्। मल्ल भन्छन्, 'नेपाल प्रहरीले भिआइपीलाई सवारी चालक उपलव्ध गराउनु पर्छ भन्ने कुनै नियम र प्रावधान छैन। तर निजामति कर्मचारी भन्दा प्रहरी वफादार हुने भएकाले प्रयोग हुने गरेका छन्।' 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell