PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेविसंघले आफ्नै अध्यक्षलाई सोध्यो स्पष्टीकरण



नेविसंघले आफ्नै अध्यक्षलाई सोध्यो स्पष्टीकरण

काठमाडौं: नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले महाधिवेशन नजिकिँदै गर्दा आफ्नै अध्यक्षसँग स्पष्टीकरण सोधेको छ।

नेविसंघ अध्यक्ष नैनसिंह महरलाई नेविसंघ अनुशासन समितिका संयोजक एवं सहमहामन्त्री राजेश रौनियारले तीन दिने अल्टिमेटम दिएर पत्र काटेका हुन्।

निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको रौनियारले जनाएका छन्।

उदयपुरमा निर्वाचन प्रचारका क्रममा घाइते भएकी मीरा कटुवाललाई केन्द्रीय सदस्य दिएको बारेमा पनि समितिले स्पष्टीकरण सोधेको छ।
पत्र काटेको तेस्रो दिनसम्म पनि महरले स्पष्टीकरण दिएका छैनन्।

स्पष्टीकरण नदिएमा के हुन्छ?

यस्तो अवस्थामा अनुशासन समितिको बैठक बसेर समितिले कारबाही सिफारिस गर्न सकिने नेविसंघका महामन्त्री कुन्दन काफ्लेले जानकारी दिए।

काफ्लेले भने, 'अध्यक्षलाई अनुशासन समितिले तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधेको हो। स्पष्टीकरण नआएमा तत्काल अनुशासन समितिको बैठक बसेर कारबाहीको प्रक्रिया सुरु गरिनेछ।'

के भन्छन् अध्यक्ष महर?
'अराजकहरुको झुन्डाले नक्कली लेटरप्याड प्रयोग गरी स्पष्टीकरण सोधेका रहेछन्, उनीहरुमाथि सीधै कारबाही हुन्छ, अनुशासनहीनहरुले सोधेको कुरामा केको स्पष्टीकरण?' अध्यक्ष महरले भने।

सहमहामन्त्री रौनियारसहित ४ जनालाई दुई वर्षका लागि नेविसंघबाट निष्कासन गर्ने तयारी रहेको महरले बताए।

अनुशासन समिति नै अवैध भएको उल्लेख गर्दै उनले भने, 'अनुशासन समितिकी संयोजक अम्बिका चलाउने हुन्, रौनियार कताबाट आइपुग्यो। संगठनलाई थाहा छैन।'

नेविसंघ नयाँ नेतृत्वका लागि ६ महिनाभित्रै महाधिवेशन गर्ने तयारीमा छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell