PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

डा केसीलाई उनकै समर्थकबाट बचाउ, सत्रुलाई उनैले जित्‍न सक्छन्



सागर बुढाथोकी

डा केसीलाई उनकै समर्थकबाट बचाउ, सत्रुलाई उनैले जित्‍न सक्छन्

न्युटनको चाल सम्बन्धी तेस्रो नियमले भन्छ, ‘हरेक क्रियामा बराबर तर, विपरित प्रतिक्रया हुन्छ।’ 

चिकित्सा शास्त्र अध्यन संस्थान (आइओएम) को डिन विवादमा सर्वोच्च अदालतले गरेको फैसलामाथि प्राध्यापक डा गोविन्द केसीले कडा ‘रियाक्सन’ दिए। त्यसलाई लिएर सर्वोच्चले ‘र्यापिड रियाक्सन’ जन्मायो।  

घटना अदालमा गएर मात्र टुंगिएन। सर्वोच्च अदालतका प्रधानन्यायाधीशप्रति अदालतमै र सडकमा गम्भीर नाराहरु घन्किए – सम्भवत प्रधानन्यायाधीश विरुद्ध यस्तो भाषा प्रयोग भएको पहिलो हो यो। कसैलाई रातारात पक्राउ गर्न आदेश दिने यस्ता ‘र्यापिड निर्णय’ पनि अदालमा विरलै हुने गर्छन्।

घटनाक्रम डा केसी भर्सेज प्रधानन्यायाधीश पराजुलीमै सीमित भएन। प्रधानन्यायाधीश पराजुली बिरुद्ध नारा लगाइरहेका केसीका ‘विवेकवेशील’ समर्थकहरुले पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीलाई 'हत्यारा र माफियाको नाइके' भन्न भ्याए।  केपी ओलीको सरकार बन्नु पहिले नै ढाल्ने उद्घोष गरे – डा केसीलाई अनशन बस्न लगाएर। उनीहरुको अभिव्यक्तिले यस्तै दर्शाइरहेको थियो।

'२०२८ सालको झापा विद्रोहको घटनालाई अघि सारेर केपी ‌ओलीलाई जेल हाल्ने चुनौती'– यस्तो अभिव्यक्तिपछि डा केसीलाई उनकै समर्थकहरुबाट बचाउनु पर्ने आवाजहरु उठ्न थालेका छन्।

लोकमान सिंह कार्कीलार्इ भ्रष्टाचारी र अपराधी भएको आरोप लगाउनेहरु उनी पदमुक्त भएपछि मौन छन्। पदमुक्त भए पनि अपराधी दण्डित हुनुपर्छ कि पर्दैन? यसका लागि डा केसीका समर्थकहरु किन मण्डलामा उत्रिँदैनन्। यो एउटै घटनालाई हेर्दा प्रष्ट हुन्छ, डा केसीका समर्थकहरु डा केसीलाई अनशन बसाएर आफू मण्डलामा भाषण दिएर राजनीतिमा स्थापित हुने स्वार्थ राख्छन्। 

त्यसैले पनि डा केसीको अनशनको श्रृंखला र माग स्वास्थ्य शिक्षामात्र होइन जुनसुकै क्षेत्रतिर पनि तन्किन सक्ने खतरा देखिन्छ।  निष्कलंक डा केसी उनकै समर्थकहरुको स्वार्थमा फस्ने सम्भावना बढ्दो छ।

स्मरण रहोस्– यस पटकको डा केसीको अनशन अदालत र कुनै राजनीतिक दलप्रति नभइ प्रधानन्यायाधीश पराजुली र उनका विवादित फैसलाहरु विरुद्ध थियो। तर, डा केसीका समर्थकहरु उनका मागको दुई कदम अघि बढ्दै अभिव्यक्ती दिएर पपुलर हुने बाटो रोजे। 

डा केसीका समर्थकहरु आफू त संयमित हुन सकेनन्। अदालतको अर्को फैसला नआउन्जेल अनशन नबस्न कानुनविदहरुले दिएको सुझाव सुन्न जरुरी ठानेनन्। हरेक स्वार्थ भएका समर्थकबाट घेरिएका डा केसीले अदालततको फैसलालाई सम्मानजनक भनेपनि अनशन तोडेनन्।

भलै सरकारसँगको वार्ताले विग्रँदो माहोलमा केही राहत दियो। केसीले अनशन तोडे। अनशन तोड्दा उनले उठाएको सबैभन्दा ठूलो विषय भने सहमतिको बुँदामा अटाएन। 

डा केसीको मुद्दामा प्रमुख तीन दलका शीर्ष नेता मौन रहन रुचाउँछन्। तिनै पार्टीका नेताहरुको केसी विरुद्धको अभिव्यक्ती मेडिकल कलेजहरुसँग स्वार्थ भएर हो भन्ने घाम जतिकै छर्लङगै छ। कांग्रेस नेता गगन थापा सार्वजानिक रुपमै डा केसीको पक्षमा उभिए पनि आफ्नै पार्टीका नेताहरुले दिएको अभिव्यक्तीलाई मौन समर्थन गर्छन्। 

डा केसीको हरेक आन्दोलनमा साथ दिइरहेको छ – विवेकशील साझा पार्टीले। यो भिडमा डा बाबुराम भट्टराईको नयाँ शक्ती पार्टी पनि थपिएको छ। गत चुनावमा विवेकशील साझा पार्टीको चुनावी नारा नै केसी थिए। गर्वको साथ डा केसीलाई भजाएर उनीहरु चुनावमा उत्रिएका थिए। चुनावपछि एजेण्डाबिहीन बनेका यी दुई दललाई यतिबेला वैसाखी सावित भए छ– डाक्टर केसीको आन्दोलन। त्यसैले त चुनावमा पत्तासाफ भएका दलका नेता – मण्डलामा पुगेर भाषण गर्छन, 'ओलीलाई सत्ताच्यूत गर्छौं।'

यिनै कारणहरुले गर्दा डा केसीको समर्थक भनेर आफूलाई प्रचार गर्नेहरु नयाँ बोतलका पुरानै रक्सी भन्ने प्रष्ट देखिएको छ।

मेडिकल शिक्षाका नाममा उत्पन्न विसङ्गति र भ्रष्टाचारका विरुद्ध आवाज उठाउने हिम्मत गर्ने डा केसी नै हुन्। मेडिकल कलेजहरूलाई अनुमति दिने प्रक्रिया पारदर्शी र वैज्ञानिक बनाउनुपर्ने, राजधानी काठमाडौंमा मात्र केन्द्रित हुन खोजेका मेडिकल कलेज सञ्चालकहरूलाई देशका सुदूर तथा दुर्गम क्षेत्रतर्फ जान दबाब पैदा गर्ने पनि केसी  नै हुन्।

मेडिकल कलेजको सिट निर्धारण, शुल्क निर्धारण र मेरिटमा नाम निस्केकाहरुको मात्र भर्ना हुने परिपाटी डा केसीकै कारण सफल भए। यहाँसम्म कि मेडिकल शिक्षा सुधारमा अदालतले हस्तक्षेप गरेको महसुस गरेका केसी अदालतमै गएर प्रधानन्यायाधीश विरुद्ध शिर ठाडो पारेर बोल्न सक्षम भए। विवादित फैसला गर्दै आएका प्रधानन्यायाधीश विरुद्ध उनको यो कदमको सर्वत्र प्रशंशा पनि भयो। 

डा केसीलाई बन्नै लागेको सरकारको विरुद्धमा अनशन बसाउने तयारीमा देखिए डा केसीका समर्थकहरु। उनीहरु गर्वका साथ भन्ने गर्छन, – हाम्रो कारण डा केसीको एजेण्डाहरु सफल भए। डाक्टर केसीकै अनशनबाट केपी ओलीको सरकार ढाल्छौ।

स्वतन्त्र नागरिकहरु डा केसीको अन्य मुद्धामा जस्तै केपी ओली विरुद्ध सडकमा आउलान, नआउलान यो दोस्रो कुरा हो। आफूलाई डा केसीको समर्थक भनेर चिनाउनेहरु डा केसीकै तागतबाट जनमत पाएका दलको सरकार ढाल्ने भ्रममा छन्।

डा केसीलाई समर्थन गर्नेहरुलाई धेरैले प्रश्न गर्न थालेका छन, ‘डा केसीलाई भजाएर कतिन्जेल राजनीति गर्ने?’ प्रश्न जायज छ, लुटतन्त्रको विरुद्ध लड्छु भन्नेहरु आफ्नो स्वार्थको लागि डा केसीको जीवनसँग खेलबाड गर्नु राजनीतिक धर्मभित्र पर्दैन। डा केसीलाई हरेक विषयमा अनशन बस्न लगाएर सडकमा भाषण ठोक्दैमा  राजनीतिक रुपमा स्थापित हुन सकिन्न। त्यसैले यतिखेर गोविन्द केसीला मित्रबाट जोगाउन आवश्यक छ, सत्रुलाई त पराजित गर्न उनी आफैँ काफी छन्। आजबाट टुंगिँदै छ उनको अनशन। उनले अनशन बस्ने अवस्था फेरि सिर्जना नहोस्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell