PahiloPost

Dec 15, 2018 | २९ मंसिर २०७५


भलिबलका सयौँ प्रतिभा जन्माउने ‘हब’ ओझेलमा


रासस

भलिबलका सयौँ प्रतिभा जन्माउने ‘हब’ ओझेलमा
राष्ट्रिय पुरुष टिमका प्रशिक्षक भट्ट डच कोच म्याट भान विजलसँग

  • शेरबहादुर सिंह/कुमार चौलागाईं

भीमदत्तनगर : डेढ दशकअघिदेखि प्रतिभावान् राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको कञ्चनपुरको भीमदत्तनगरस्थित भलिबल प्रशिक्षण केन्द्र पछिल्लो समय आर्थिक अभावबाट गुज्रिरहेको छ।

भलिबल प्रशिक्षक एवं वर्तमान भलिबल संघका सचिव जगदीशप्रसाद भट्टको पहलमा स्थापित उक्त केन्द्रले अहिलेसम्म सयौँ प्रतिभावान् महिला तथा पुरुष खेलाडी उत्पादन गरिसकेको छ।

प्रशिक्षण केन्द्रमा अहिले पनि विभिन्न जिल्लाका करिब २० जना खेलाडी आवासीय प्रशिक्षणमा छन्। संघीय संरचनामा मुलुक अघि बढेसँगै यहाँका भलिबल क्षेत्रमा आबद्ध भएका व्यक्तिहरू प्रदेश नं ७ मै भीमदत्तनगरको प्रशिक्षण केन्द्रलाई ‘स्पोर्टस् कम्प्लेक्स’का रुपमा विकास गरेर प्रदेशकै भलिबल ‘हब’ का रुपमा विकसित गर्नुपर्नेमा जोड दिइरहेका छन्। हालसम्म हजारौँ खेलाडी उत्पादन गरिसकेको सो प्रशिक्षण केन्द्र हाल जिल्ला खेलकुद विकास समिति, भलिबल संघ तथा विभिन्न दाताहरूको सहयोगबाट चल्दै आएको छ।

भलिबलका ख्यातिप्राप्त राष्ट्रिय प्रशिक्षक भट्टको पहल र संघर्षबाट निर्माण भएको भलिबल प्रशिक्षण केन्द्रमा हाल दर्शकका लागि प्याराफिट निर्माण भइरहेको छ।

'सबै पूर्वाधार यहाँ भएकाले यसलाई भलिबलको हबका रुपमा हामीले विकास गर्ने सोच बनाएका छौँ।' प्रशिक्षक भट्टले भने, 'छात्रावाससहितको प्रशिक्षण केन्द्र बनाएर यहाँबाट राष्ट्रिय खेलाडी तयार गर्न सकिन्छ।'

भलिबलमै लागेका ७०० भन्दा बढी युवायुवतीले रोजगारीसमेत पाएको बताउँदै उनले बितेको दशकमा हजारौँ लेखाडी प्रशिक्षण केन्द्रबाट उत्पादन भएको जानकारी दिए।

राष्ट्रियस्तरमै राष्ट्रिय टोलीका साथै विभिन्न विभागीय टोलीमा समेत यहाँबाट उत्पादन गरिएका खेलाडी रहेका छन्। प्रशिक्षण केन्द्रले कैलाश भट्ट, दीपेन्द्र भट्ट, विष्णु पन्त, नरेन्द्र गिरी, नेविका चौधरी, उषा विष्ट, जयलक्ष्मी चौधरीजस्ता राष्ट्रियस्तरमै चर्चामा रहेका खेलाडी उत्पादन गरिसकेको छ।

'अहिले पनि सुदूरपश्चिममा भलिबलको क्रेज बढ्दो छ,' भट्टले भने, 'पहाडी जिल्लाबाट अध्ययनका लागि आउने खेलाडी भलिबल प्रशिक्षण केन्द्रमै आश्रय लिएर अध्ययन र खेलकुदमा सहभागी भइरहेका छन्।'

'खेलप्रतिको रुचिलाई बढावा दिनका लागि पहल थालिए पनि विविध व्यवस्थापकीय समस्या अझै छन्।' उनले भने, 'प्रतियोगिता जितेर पाएको पुरस्कार राशिबाट खेलाडी बाँच्नुपर्ने अवस्था छ।'

खेल प्रशिक्षक र संघको पहलमा कञ्चनपुरमा मात्रै झण्डै आधा दर्जन खेलकुद संचरना निर्माण भएका छन्। यहाँको भलिबल प्रशिक्षण केन्द्रसँगै बक्सिङ, कराँते, कबड्डीगायतका प्रशिक्षण केन्द्र संघकै पहलमा बनेका हुन्।

सुदूरका ९ जिल्लामध्ये पाँच जिल्लामा भलिबलका प्रशिक्षक छन्। कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र अछामबाहेक अन्य जिल्लामा प्रशिक्षक छैनन्। प्रतियोगिता नहुँदा नियमित प्रशिक्षणसमेत छैन। महेन्द्रनगरमा रहेको भलिबल प्रशिक्षण केन्द्र राजधानी बाहिरको एउटामात्र प्रशिक्षण केन्द्र हो।

स्थानीयवासीकै सक्रियतामा २० लाखभन्दा बढी लगानीमा प्रशिक्षण केन्द्र निर्माण गरिएको हो। यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रु दुई लाख सहयोग गरेको थियो।

खेलाडीलाई भलिबलमा टिकाउन मात्र केन्द्रले ८० जनाभन्दा बढी महिला पुरुषलाई सेना र प्रहरीमा भर्ना गरेको उनी बताउँछन्। प्रशिक्षक भट्टकै मेहनत र लगावका कारण कञ्चनपुर सुदूरपश्चिमस्तरीय प्रतियोगितामा २०५० देखि कहिल्यै दोस्रो भएको छैन।

राष्ट्रिय खेलकुद परिषद्को सहायक प्रशिक्षकका रुपमा कञ्चनपुरमा कार्यरत भट्ट २५ वर्षदेखि निरन्तर कुनै न कुनैरुपमा भलिबलको विकास र विस्तारमा सक्रिय छन्।

भलिबललाई नेपालको राष्ट्रिय खेल बनाउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका भट्ट नेपालमा खेलको भविष्य भलिबलमै रहेको र भलिबललाई राष्ट्रिय खेल घोषणा गरेरमात्र नपुग्ने बताउँछन्। पूर्वाधार निर्माण र बजेट विनियोजनमा सरकारले र राखेपले कन्जुस्याईं गर्न नुहने उनको भनाइ छ।

छिमेकी मुलुक भारतमा सन् १८७१ मा नै भलिबल खेल्न थाले पनि हामीकहाँ भने नेपाली सेना शान्ति सुरक्षार्थ विदेशमा खटिन थालेपछि मात्र प्रारम्भ भएको इतिहास छ। शान्ति सेनामा गएका सैनिक फर्किएपछि उनीहरूले भलिबल खेल्न थाल्दा अरुले पनि खेल्न थालेका हुन्। नेपालमा विसं २०२० मा काठमाडौँको त्रिचन्द्र कलेजमा भलिबल खेलियो। देशभित्र पहिलोपटक २०३३ सालमा पहिलो राष्ट्रिय भलिबल प्रतियोगिता सुदूरपश्चिमकै धनगढीमा आयोजना गरिएको थियो। उक्त प्रतियोगिताले २०३७ सालसम्म निरन्तरता पायो।

काठमाडौँमा २०३८ सालमा आयोजना गरिएको पहिलो बृहत् राष्ट्रिय खेलकुद होस् वा २०४० मा पोखरा र २०४२ मा वीरगञ्जमा गरिएका बृहत् खेलकुदमा भलिबल नै मुख्य आकर्षणको केन्द्रबिन्दु बन्थ्यो। विसं २०४३ मा सल्यानमा भएको राष्ट्रिय भलिबल प्रतियोगिता सुदूरपश्चिमका लागि ऐतिहासिक बन्यो। जसमा महाकालीको टोली प्रथम भयो। त्यतिबेलाका टोली क्याप्टेन मोहन थापा सम्झिन्छन्, 'भलिबलमा सुदूरपश्चिमले त्यही बेलादेखि राम्रो छाप पारेको हो।'

'अहिले पनि सुदूरमा सबैभन्दा बढी खेलिने खेल भलिबल नै हो', उनले भने, 'व्यक्तिगत लगानी गरेर भए पनि गाउँदेखि जिल्ला र क्षेत्रीय प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ, प्रतियोगिताका लागि राज्यका निकायलाई पर्खेको उदाहरण छैन। राज्यमाथि भर परेका छैनौँ, सानोतिनो रकम जुटाएर पनि प्रतियोगिता गरेकै छौँ,' उनले भने।

विगतदेखि नै भलिबलमा सुदूरपश्चिमको पहिलो पकड रहँदै आएको छ। सन् १९९३ मा बंगलादेशमा भएको छैटौँ दक्षिण एशियाली खेलकुदमा नेपाली टोलीमा सुदूरबाट भट्टसहित भरत शाह र जितेन्द्रबहादुर चन्दले प्रतिनिधित्व गर्नुभएको थियो। संयोग नै मान्नुपर्छ तीनैजनाले हाल नेपालको भलिबल डोहोर्‍याइरहेको स्थिति छ। प्रशिक्षक भट्टले नेपाली भलिबल टोलीका प्रशिक्षक छन्। शाहले नेपाली भलिबलको टोलीको क्याप्टेनका रुपमा केही समयअघिसम्म जिम्मेवारी बहन गरे। हाल उनी नेपाल प्रहरीको नेपाल पुलिस क्लबका प्रशिक्षक छन्।

अछाम घर भएका शाहले डेढ दशकसम्म टोलीको कप्तानी सम्हालेका थिए। उनले केहि समयअघि खेलबाट सन्न्यास लिए। तर प्रशिक्षकका रुपमा कार्यरत छन्। 'सुदूरपश्चिममा भलिबल एकेडेमी खोल्ने योजना छ', शाहले भने, 'आर्थिक अभावले उद्देश्य पूरा हुन सकेको छैन।'

भलिबलकै अर्का हस्ती चन्द हाल नेपाल भलिबल संघका महासचिव छन्। भलिबल खेलमा उनी व्यक्तिगत लगानी समेत गर्दै आएका छन्। सुदूरकै हरिहर श्रेष्ठ, कर्ण श्रेष्ठ, धनसिंह रावल, भरत ठगुन्नालगायतले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्।

सन् १९९९ मा काठमाडौँमा भएको आठौँ दक्षिण एशियाली खेलकुद (साफ)मा नेपाली महिला भलिबल टोलीले कास्य पदक जित्न सफल भयो। उक्त टोलीमा सुदूरका टीका चौधरी, धनमाया कठायत, रमा बडू र हीरा पन्त सहभागी थिए।

श्रीलंकाको कोलम्बोमा दशौँ साफमा सुदूरका निता शाह र मोती भाट टोलीमा थिए। निता लामो समयदेखि महिला भलिबल टोलीको कप्तान थिए। उनी हाल भलिबलमै क्रियाशील छन्। खेल खेल्नकै लागि धेरैजसो यहाँका खेलाडी सेना, प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुन जान्छन्। सेनामा भरत ठगुन्ना, नरी भट्टराई र रामसिंह टोक्टरे, प्रहरीमा नरेन्द्र शाही, लोकेन्द्र भाट, ज्ञानबहादुर मल्ल र तपेन्द्र मल्ल तथा सशस्त्र प्रहरीमा नरेश चन्द, कैलाश भट्ट, दीपेन्द्र भट्ट, विष्णु पन्त, सुदन विष्ट नाम चलेका खेलाडी हुन्। उनीहरू सबै सुदूरपश्चिमबाटै भलिबल सिकेर आएका हुन्। महिलातर्फ नेविका चौधरी, ज्योति चौधरी, चन्द्रावती राना, उषा विष्टलगायत पनि भलिबलमै सक्रिय छन्।

विसं २०६१ मा भारतको पटियालाबाट डिप्लोमा कोर्समा अब्बल निस्केका प्रशिक्षक भट्ट आफैँ पनि अन्यायमा परेको बताउँछन्। १६ वर्षदेखि भलिबलमा समर्पित भएपनि उनी हालसम्म सहायक प्रशिक्षकका रुपमा मात्र रहेका छन्।

'राम्रो गर्नेलाई प्रोत्साहन गर्ने नीति सरकारसँग छैन', प्रशिक्षक भट्ट भन्छन्, 'प्रहरीमा जागिर खाएको भए १६ वर्षमा रिटायर्ड नै भइन्थ्यो, भलिबलमा लागेर हवल्दारसरहको दर्जा पनि पाइएन', उनको गुनासो छ।

विसं २०४६ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनले कञ्चनपुरकै सिद्धनाथ विज्ञान क्याम्पसबाट राम्रो अंक ल्याएर आइएस्सी उत्तीर्ण गरेका थिए। उनले डाक्टर बन्ने इच्छालाई लत्याएर भलिबलतर्फ लागेका थिए। भलिबलमा राज्यको न्यून लगानी रहेको उनको गुनासो छ। 'प्रशिक्षकले पिरलो मानेर मात्रै के नै हुन्छ र, राज्यलाई चिन्ता हुनुपर्‍यो।'



भलिबलका सयौँ प्रतिभा जन्माउने ‘हब’ ओझेलमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट