PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सिलवाललाई खोजिरहेका छौं, जहाँ भेट्छौं पक्रिन्छौं : एसएसपी ऐर



सविन ढकाल

सिलवाललाई खोजिरहेका छौं, जहाँ भेट्छौं पक्रिन्छौं : एसएसपी ऐर

काठमाडौं : प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरले पूर्व डिआइजी नवराज सिलवालको खोजी जारी रहेको बताएका छन्। 
विवादित बढुवा प्रकरण हुँदा अदालतमा बुझाएको कार्य सम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगको अनुसन्धानका लागि प्रहरीले पूर्वडिआइजी सिलवालको खोजी गरिरहेको छ। 

ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित सिलवाललाई अनुसन्धानको लागि उपलव्ध गराइदिन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई पत्राचार गरेको थियो। एक सातापछि ललितपुर प्रहरीले सिलवाल नभेटिएको भन्दै बुधवार काठमाडौं प्रहरीलाई जवाफ पठायो।

सिलवाल भने पूर्वनिर्धारित कार्यक्रमका लागि मलेसिया पुगेको दावी गर्दै आएका छन्। तर, उनले जुन एयरलाइन्सबाट गएको बताए त्यसको उडान नभएको र जुन ठाउँमा कार्यक्रम भनेको कार्यक्रम नै नरहेको तथ्य पनि फेला परिसकेको छ। यस्तो अवस्थामा के अब ललितपुर प्रहरीले सिलवालाई खोज्दैन त? 

ललितपुर प्रहरीले सिलवाल नभेटाएको भन्दै जवाफ मात्र पठाएको जानकारी दिएको छ। परिसरका प्रमुख एसएसपी गणेश ऐर भन्छन्, 'हामीले सिलवालको स्थायी ठेगनामा नभेटिको मात्र भनेका हौं तर हामीले खोजी जारी राखेका छौं। जहाँ भेट्छौं पक्राउ गरेर काठमाडौं प्रहरीलाई बुझाउछौं।'

'एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी'द्वारा आयोजित ‘इष्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेसल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर आएको सिलवालले दावी गरेका थिए। तर, उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मलेसिया गएको देखिँदैन भने जुन फ्लाइटबाट उनी गएको दावी गरेका थिए त्यसको फ्लाइट सेड्युलसमेत थिएन। ललितपुर प्रहरीले सिलवालको खोजी गर्ने अहिलेपनि टोली बनाए खोजी गरिरहेको स्रोतले बतायो।

यता काठमाडौं प्रहरी परिसरले पनि सिलवालको कीर्ते अनुसन्धान जारी राखेको छ। कार्य सम्पादन मूल्याङ्कन फाइल मगाएर अनुसन्धान गरिरहेको हो। सिलवालले कीर्ते गरेको देखिएमा प्रहरीले अदालतमा मुद्दा दर्ता गराएर सिलवाललाई फरार अभियुक्त बनाएर खोजी गर्ने तयारी भइरहेको प्रहरी स्रोतले बतायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell