PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गौतमवुद्ध विमानस्थल वर्ष दिनमै पूरा गर्न चिनियाँ कम्पनीले काम थाल्यो, दैनिक खटिए २ सय कामदार



पहिलोपोस्ट

गौतमवुद्ध विमानस्थल वर्ष दिनमै पूरा गर्न चिनियाँ कम्पनीले काम थाल्यो, दैनिक खटिए २ सय कामदार

रुपन्देही : पटक पटकको आन्दोलन र अवरोधकाबीच निर्माण अवरुद्ध हुन पुगेको भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ। 

गत वर्षको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीको बीचमा बेलाबेलामा भएका अवरोधका कारण निर्माण कार्यमा गति लिन नसकेको आयोजनाले नेपाली ठेकेदारलाई बिदा गरेपछि चिनियाँ कम्पनी आफैले पर्याप्त जनशक्ति लिएर कामलाई तीव्रता दिएको हो। 

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गरेका थिए। तीन वर्ष अर्थात् २०७४ पुस मसान्त भित्र निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने गरी आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भए पनि विभिन्न अवरोधका कारण अहिलेसम्म समग्रमा ३५ प्रतिशत काम मात्र सम्पन्न भएको आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले बताए। 
 
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले सन्तोषजनक रुपमा गति लिएका कारण आगामी एक वर्षभित्र आयोजनाको सम्पूर्ण काम सकिने दावी समेत गरे। उनले भने - ‘३ किलोमिटर लम्बाई रहेको धावन मार्गको निर्माण कार्य अन्तरगत सब बेस लेयर हाल्ने काम शुरु भएको छ।’

धावन मार्गको ३५ प्रतिशत बढी काम सकिनुका साथै  माटो फिलिङ सहित २ फुट बाक्लो प्रि सब बेसको काम सम्पन्न भएको पनि उनले जानकारी दिए। अब बेस र पिचको काम मात्रै बाँकी रहेको बताइएको छ। अग्नि नियन्त्रण कक्षको पहिलो तल्लाको काम पनि भइरहेको छ।  

८ तल्ला अग्लो कन्ट्रोल टावरको काम पनि तीव्र गतिका साथ भइरहेको तथा वैसाखभित्र यी सबै भौतिक संरचनाको काम ५० प्रतिशत बढी सकिने इन्जिनियर विजय शाक्यले बताए। उनले अहिले विमानस्थल निर्माणका लागि डेढदेखि दुई सय जना दक्ष जनशक्तिले काम गरिरहेको जानकारी दिए।

३ हजार मिटर लामो धावन मार्गको दुवैतिर तीनसय मिटर विमान सुरक्षाका लागि रन बे इण्ड सेफ्टी एरिया (रेसा) को पनि काम भइरहेको छ। विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणका लागि परेका जग्गाधनीलाई मुआब्जा दिने काम पनि भइरहेको प्रमुख शर्माले बताए। मुआब्जा वितरणका लागि ७ हजार कित्ता मध्ये १ हजार बढी कित्ताको मुआब्जा वितरण गरिसकिएको र २३ अर्ब रुपैयाँ मुआब्जा बितरण गर्नु पर्नेमा अहिले सम्म ४ अर्बभन्दा बढी बितरण भइसकेको र वितरण कार्यलाई तीव्रता दिइएको समेत आयोजना प्रमुख शर्माले जानकारी दिए।
 
स्तरोन्नती यो विमानस्थल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्प बन्ने आयोजनाको दावी छ। अहिलेको गौतम वुद्ध विमानस्थलमा एटिआर, बिचक्राफ्ट जस्ता साना हवाइजहाजहरुको लागि हो भने स्तरोन्नतिपछि वाइड बडी विमान पनि काठमाडौंको विकल्पको रुपमा भैरहवा उतार्न सकिने आयोजना निर्देशक शर्माले बताए।
 
दक्षिण एसियाको पर्यटन प्रवर्द्धनकालागि भौतिक पूर्वाधार आयोजना अन्तर्गत एशियाली विकास बैंकको अनुदान तथा कर्जामा गौतम वुद्ध विमानस्थल स्तरोन्नति गर्न नेपाल सरकारले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन बिमानास्थल निर्माण समूहलाई ग्लोबल टेण्डर मार्फत दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell