PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महिला राष्ट्रिय लिग फुटबल : एपीएफ अपराजित रहँदै च्याम्पियन

महिला राष्ट्रिय लिग फुटबल : एपीएफ अपराजित रहँदै च्याम्पियन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सशस्त्र प्रहरी बलको एपीएफले १६औँ महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

बिहीबार भएको सुपर लिगको अन्तिम खेलमा नेपाल पुलिसलाई ३-१ ले पराजित गरेको एपीएफ प्रतियोगिताभर अपराजित बन्दै च्याम्पियन बनेको हो। सुपर लिगमा सबै ३ खेल जित्दै एपीएफ ९ अंक जोडेर च्याम्पियन बनेको हो।

एपीएफको जितमा २ गोल गरेकी सावित्रा भण्डारीले एकै लिगमा सर्वाधिक २९ गोल गर्ने कीर्तिमान बनाइन्।

यस्तै सुपर लिगमा दुई खेल जितेको आर्मी दोस्रो तथा एक खेल जितेको पुलिस तेस्रो भयो। सुदूरपश्चिमले भने सुपर लिगमा कुनै खेल जित्न सकेन। बिहीबार भएको सुपर लिगको खेलमा आर्मीले सुदूरपश्चिमलाई ७-० ले पराजित गर्‍यो। आर्मीको जितमा कप्तान कृष्णा खत्रीले ५ गोल गरिन् भने शर्मिला थापा मगर र विमला चौधरीले १-१ गोल गरिन्।

एपीएफले समूह चरणमा पश्चिमाञ्चल मध्यपश्चिमाञ्चल र आर्मीलाई पराजित गरेको थियो।

च्याम्पियन एपीएफले नगद २ लाख ट्रपी र मेडल हात पार्दा उपविजेता आर्मीले १ लाख तथा तेस्रो भएको पुलिसले ५० हजार पायो।


सावित्राको दुई गोल

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सुपर लिगको अन्तिम खेलमा एपीएफलाई जिताउन सावित्रा भण्डारीले दुई गोल गरिन्। खेलको १७औँ मिनेटमा रेनुका नगरकोटीको फ्रिकिक पुलिसका गोलकिपरले क्लियर गर्न नसकेपछि सावित्राले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्। त्यसको दुई मिनेटपछि नै सरु लिम्बुले सावित्राकै पासमा गोल गर्दै एपीएफको अग्रता दोब्बर पारिन्।

३४औँ मिनेटमा दीपा न्यौपानेको क्रसमा पुलिसका रुपा मगरले गोल गर्दै गोल अन्तर कम पारेकी थिइन्। तर सावित्राले ७५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफ ३-१ ले विजयी भएको थियो।

राष्ट्रिय टिमका ९ खेलाडीको साथ पाएको एपीएफले प्रतियोगिताभर कूल ५५ गोल गर्दा दुई गोल मात्र ब्यहोर्‍यो।

एपीएफका प्रशिक्षक जनक सिंहले छोटो तयारीमै च्याम्पियन बन्दा खुशी लागको प्रतिक्रिया दिए। 'चुनावले गर्दा हाम्रो खेलाडीहरु उता गएका थिए। हामीले ढिलो सुचना पायौँ। तयारी धेरै गर्न पाएनौँ। तयारी कम भए पनि राम्रो खेल्यौँ।' सिंहले भने।

उनले अन्य दुई विभागीय टोली राम्रो भएपनि आफ्नो टोलीमा राष्ट्रिय खेलाडीहरु धेरै रहेकोले उपाधि जित्न सहयोग पुगेको बताए। 'हामीसँग राष्ट्रिय टिमका खेलेका खेलाडीहरु धेरै भएर हामी अली बलियो थियौँ।'

'पुलिसको स्तर अली खस्केको हो। उसको खेलाडी पनि विदेश गएको छ। हाम्रो पनि खेलाडी विदेश गएका छन्। तर आर्मी भने फिजिकल र फिटनेसमा हामी भन्दा माथि छ। उनीहरु रेगुलर ट्रनिङ गर्छन्। तर हाम्रोमा राष्६रिय खेलाडी धेरै भएर हाम्रो डोमिनेन्स बढी भएको हो।'

 

व्यक्तिगतमा एपीएफ र आर्मीको वर्चस्व

व्यक्तिगततर्फ एपीएफले ३ तथा आर्मीले २ अवार्ड हात पार्‍यो। एपीएफमा एन्जिल तुम्बापो उत्कृष्ट गोलरक्षक, सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड तथा जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए। यस्तै आर्मीका अन्जली वाइबा उत्कृष्ट डिफेण्डर तथा दीपा राई उत्कृष्ट मिडफिल्डर चुनिए।
व्यक्तिगततर्फ उत्कृष्ट हुनेले २५-२५ हजार हात पारे।



ट्रेन्डिङ पोस्ट

Ncell