PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'सुराकीको आरोपमा व्यवसायिक 'पार्टनर' पौडेलको हत्या'



सविन ढकाल

'सुराकीको आरोपमा व्यवसायिक 'पार्टनर' पौडेलको हत्या'

काठमाडौं : रुपन्देहीमा मारिएका व्यवसायी वसन्त पौडेल र हत्याको जिम्मेबारी लिएका मनोज पुन साथीसाथी रहेको खुलेको छ। 

गत शुक्रवार रुपन्देहीको देवदह नगरपालिका २ मा अज्ञात समुहले गोली हानी काठ मिल व्यवसायी ३५ वर्षीय वसन्त पौडेलको हत्या गरे पनि त्यसको जिम्मेवारी पुनले लिएका थिए। प्रहरीले अहिलेसम्म सवुत प्रमाणको आधारमा भने हत्याराको पहिचान भने गर्न सकेको छैन। केही संचारकर्मी र स्थानीयलाई आएको फोनको आधारमा प्रहरीले हत्याको मुख्य योजनाकार मनोज पुन भएको भन्दै खोजी गरिरहेको छ।

केही समयदेखि पुन र पौडेलबीच टेलिफोनमा लगातार कुराकानी भएको प्रहरी अनुसन्धानमा खुलेको छ। अनुसन्धानम खटिएका एक प्रहरी अधिकृतले भने, 'पौडेलेको कल रेकर्ड हेर्दा केही समयदेखि लगातार सम्पर्क भएको देखियो।' 

हत्या गरिएका पौडेल र हत्याको अभियोगमा खोजी भइरहेका पुन साथी हुन्। उनीहरु फेसबुकमा पनि जोडिएका छन्। फेसबुकमा मात्र होइन, व्यवायिक साझेदारी पनि यी दुईबीच रहेको देखिएको छ। 

२०७३ पुस ४ गते एमाले नेता दुर्गा तिवारीको हत्या गरी फरार भएपछि पुनले पौडेललाई सम्पर्क गर्ने गरेकोसमेत खुलेको छ। पुनले पौडेललाई केही समयदेखि प्रहरीलाई आफ्नो बारेमा सुरकी गरेको भन्दै मार्ने धम्की दिँदै आएको समेत पत्ता लगाएको छ। अनुसन्धान अधिकृत भन्छन्, 'पौडेलले प्रहरीलाई पुनको बारेमा सुचना दिएको शंकामा हत्या गरेको हुन सक्ने देखिन्छ। पटक पटक सम्पर्क गरेर मार्ने धम्की दिएको भेटियो।' 

पौडेलले प्रहरीलाई सुचना दिन थालेको आशंका बढ्न थालेपछि पुन र पौडेलेको सम्बन्ध बिग्रिँदै गएको थियो। उनीहरु साथीबाट दुष्मन बनिसकेका थिए। निर्वाचनको समयमा पुनले पौडेलसँग पैसासमेत मागेको अनुसन्धानमा देखिएको छ।

गत शुक्रवार होन्डा ग्ल्यामर मोटरसाइकलमा आएका दुई युवकले पौडेलमाथि गोली प्रहार गरेका थिए। मिल व्यवसायी पौडेललाई 'काठको अर्डर गर्नु छ' भन्दै अर्डर टिप्न लाग्दा गोली हानेर भागेका थिए। प्रहरीले घटनामा प्रयोग भएको लु ४ प १४ नम्बरको हिरो होन्डा ग्ल्यामर बाइक बुटवल देवदह सडक खण्डको भुलुही जंगलबाट बरामत गरेको थियो। 

हत्याराले प्रयोग गरेको बाइक चोरीको र नम्बर नक्कली भएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्याम ज्ञवालीले बताए। 'बाइक बिहारबाट किनेको र मनलाग्दी नक्कली नम्बर हालेको पाइयो,' एसपी ज्ञवालीले भने।

फोनबाट १८ व्यापारीसँग फिरौती

युवासंघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यापछि पुनको अपराधिक गतिविधिले रुपन्देहीका व्यवसायी त्रासित बनेका छन्। पुनले बेलाबेलामा व्यवसायीहरुलाई फोन गरेर रकम माग्ने गरेको खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार १८ देखि २० जना व्यापारीलाई फोन गरेर ५ देखि २० लाख रुपैयाँसम्म मागेको खुलेको हो। पुनले फोन गरेर पैसा नदिए तिवारी र पौडेलको जस्तै हालत बनाइदिने भन्दै धम्की दिने गरेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले केही समय अगाडि रकम उठाएर मनी ट्रान्सफरमार्फत् पुनलाई भारत पैसा पठाउने केही व्यक्तिलाई पक्राउ गरेको थियो।


राजनीतिक दलको संरक्षणमा पुनको अपराध

राजनीतिक दलको संरक्षणमा नै पुनको अपराध मौलाएको देखिएको छ। छोटो समयमा नै पुनले विदेशमा बसेर देशभित्र अपराध गर्दै आएका छन्। दुर्गा तिवारी हत्या र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा पुनको संलग्नता भएको प्रहरीको दावी रहँदै आएको छ। पुनले तिनै तहका निर्वाचनको लागि पैसा चाहिएको भन्दै व्यपारीसँग फिरौती मागेको देखिएको छ। पुनले केही नेतालाई पैसा दिने र आफ्नो संरक्षण गर्न लगाउने गरेको देखिएको हो। राजनीतिक दलसँगको कनेक्सन नटुटाएसम्म गुन्डाहरुको अपराधिक गतिविधि नियन्त्रण नहुने केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख डिआइजी पुष्कर कार्की बताउँछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell