PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

शेरबहादुर देउवा : सफल प्रधान मन्त्री असफल सभापति



पहिलोपोस्ट

शेरबहादुर देउवा : सफल प्रधान मन्त्री असफल सभापति

  • राधेश्याम अधिकारी -
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट नेपाली कांग्रेस समानुपातिक परिणामकै कारण देशको दोस्रो दल बनेको छ। यसअघि कांग्रेस पहिलो दल थियो। अहिलेको निर्वाचनको परिणामले पार्टी असफल भएको देखाएको छ। असफल भएकै कारण नेपाली कांग्रेसको अहिलेको नेतृत्वले जनताबाट अनुमोदन ल्याउन सकेन। त्यसैले कांग्रेस निर्वाचनमा केही खुम्चियो।

सफल प्रधानमन्त्री, असफल सभापति

निर्वाचनमा कांग्रेस किन हार्यो? यसमा हामीले दुईवटा कुराको ख्याल गर्नुपर्छ। पहिलो-अहिलेको नेतृत्व भनेको शेरबहादुर देउवा हो। उहाँले के काम गर्नुभयो? यो कुरा हामीले हेर्नुपर्ने हुन्छ। दोस्रो-उहाँ सरकारको नेतृत्वमा पुग्नुभएको आठ महिना भयो। 

सरकारमा रहँदा उहाँको मुख्य जिम्मेवारी भनेको निर्वाचन सम्पन्न गर्नु थियो। स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ। अब राष्ट्रिय सभाको निर्वाचन बाँकी छ। यो पनि उहाँकै नेतृत्वमा सम्पन्न हुनेवाला छ। यो राष्ट्रिय जिम्मेवारी उहाँले सफलतापूर्वक पूरा गर्नुभयो। 

उहाँ प्रधानमन्त्री मात्र भएको भए त उहाँ सफल प्रधानमन्त्री हुनुभयो। तर, अर्को चाहिँ उहाँ पार्टीका सभापति पनि हुनुहुन्छ। देशकै पहिलो पार्टी अहिले दोस्रो पार्टी बनेको छ। यो अपजस उहाँले लिनैपर्छ।

उहाँमात्र हैन पार्टीभित्र प्रणालीगत कुरा छ। जो पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति र संसदीय समिति हो। यी समितिमा रहेकाहरुले पनि अपजस बाँड्नुपर्छ। 

सभापतिबाट राजीनामा दिनुपर्छ कि पर्दैन त? पार्टीको हारसँगै अब सभापति देउवाले आफ्नो पद छाड्नुपर्छ भन्न थालेका छन्। 

पहिलो कुरा उहाँले छाड्नु बेस हो-राष्ट्रिय अन्तरार्ष्ट्रिय परिपाटीले हेर्ने हो भने। तर, छाड्नैपर्छ भन्ने चाहिँ निजी कुरा हो। त्यो उहाँको निजी कुरा हो। देउवाको निजी दृष्टिकोणमा छाड्नुपर्छ। 

नैतिकता भने आफैँले परिभाषित गर्ने कुरा हो। किनकि नैतिकता भनेको बन्धनकारी हो। नैतिकताको परिभाषा व्यक्तिपिच्छे फरकफरक हुनसक्छ। कतिपय साथीहरुले आफ्नै नैतिकतासँग जोडेर सभापतिको नैतिकताको व्याख्या गर्न थाल्नुभएको छ। 

जहाँ सम्म कानुनी कुरा छ। त्यसो हो भने विधिविधानअनुसार जानुपर्छ। उहाँ नेपाली कांग्रेसको विधान बमोजिम सभापति हुनुहुन्छ। सभापतिलाई हटाउने हो भने विधान बमोजिम हटाउनुपर्छ। कसैले विस्थापित गर्न चाहन्छ भने ती साथीहरुले कारण देखाएर कांग्रेसको विधान बमोजिम नै जानुपर्ने हुन्छ, चल्नुपर्ने हुन्छ। हामीले यस्तो कुरा गर्नु हुँदैन-जुन जबरजस्ती देखियोस्। 

विधिविधानअनुसार हस्ताक्षर गरेमा महासमिति बोलाउन सकिन्छ। यस्तो गर्न छुट छ। यस्तो तरिका विधिविधान अनुसार नै हो। विधिअनुसार कसैलाई चूनौती दिन सकिन्छ भने राम्रो हो।

विधानअनुसार बनाएका कुरा कसैले पनि अस्वीकार गर्न सक्दैनन्। महाधिवेशनका लागि एक चौथाइ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्नुपर्छ। त्यस अनुसार गएमा महाधिवेशन बोलाउन बाध्य हुन्छन्। महाधिवेशन पनि कि केन्द्रीय समितिले बोलाउनुपर्छ। कि महाधिवेशन प्रतिनिधिले बोलाउनुपर्छ। यो पनि विधानअनुसार जान सकिन्छ। यसपछि नयाँ महाधिवेशन पनि हुन सक्छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न पनि सक्छ। पुरानै नेतृत्वले निरन्तरता पाउन पनि सक्छ।

कांग्रेस नीति :   भएनन् जनता खुशी

कांग्रेसले समग्र नीति राम्रो छ। तर, पछिल्लो अवधिमा कांग्रेसले  अवलम्बन गरेको नीति जनताले रुचाएनन्। कांग्रेस नेतृत्वबाट भएका कामहरु जनताले मन पराएनन्। यसमा देउवामात्र हैन सबै नेताहरु दोषी छन्। नेताहरुको समग्र नीतिबाट जनता खुशी भएको देखिएन। यो भनेको अर्को अर्थमा जनताबाट डिस्कनेक्ट भएको हो। 

त्यसकारणले हामी अब जनतासँग कनेक्ट हुनुपर्यो। जनतासँग कसरी कनेक्ट हुने? यो कुरा जसले ल्याउँछ त्यो स्वागतयोग्य छ। यो पुस्ताको कुरा होइन।

जनतासँग जोडिने सम्बन्धको तार कमजोर भएको छ। यो तार बलियो गरी जबरजस्त जोड्न सक्ने कार्यक्रम र नीति ल्याउनेलाई स्वागत गर्नुपर्यो। कहाँकहाँ चुक्यौ समीक्षा हुनुपर्यो। के के गर्नुपर्छ त्यसको सूची बन्नुपर्यो।

शंकाले शत्रु

अब समीक्षाको कुरा आएको छ। अन्तर्घातका कुरा छन्। कांग्रेस तलब खाएर बसेको पार्टी त हैन। यसबारेमा पनि छलफल होला। 
तर, कार्याकर्तामा पनि लाइक र डिसलाइक सबैका हुन्छन्। समीक्षा हुँदा एकले अर्कालाई शंका गर्न भएन। शंका गर्न थाले बीपी कोइरालाको कथा शत्रु जस्तै हुन सक्छ। को शत्रु भनेर खोज्दा हरेकलाई शत्रु देख्न थाल्छ। आफ्नो पक्षमा काम गर्ने कार्याकर्ता पनि शत्रुजस्तै लाग्न सक्छ। त्यो दृष्टिदोष हो। 

यसरी हेर्न भएन। नीतिगत त्रुटी कहाँ भयो? कार्यक्रममा के गल्ती भयो? कबोल गरेको कुरा पूरा भएन कि? यी विषयमा हार व्यहोरेका नेताहरुले पनि समीक्षा गर्नुपर्छ।

वाम र मधेशवादीको एकताको असर

कांग्रेसको पपुलर मत घटेको छैन। वाम एकता र मधेशवादीहरुको एकताले कांग्रेसको सिटमा असर परेको छ।

कांग्रेस यसपालिको निर्वाचनमा दुई पार्टी एक भएकाले पनि कमजोर भएको हो। नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले पनि मत घट्ने कांग्रेसले सोचेको थिएन। त्यसैले कांग्रेसको अनुमान मिलेन। मत ट्रान्सफर भयो। 

वाम जोडलाई जनताले पत्याए। मत ट्रान्सफर भयो। माओवादीको मत पाएकाले एमालेलाई फाइदा भएको हो। कांग्रेस धेरै ठाउँमा थोरै मतले हारेका छन्। यो भोट ट्रान्सफरकै कारण भएको हो।  

जनता जोडौं

जनताले के चाहन्छन् अब त्यो कुराको ख्याल नेपाली कांग्रेसले गर्नुपर्यो। पार्टीको खराबी मात्र हैन परिस्थितिले पनि यस्तो भयो। जनतालाई
हामीले बुझाउन सकेनौं।

किन भोट दिने भनेर? जनतासँग जोडिने कार्यक्रम ल्याउने पर्यो। यसका लागि हारको समीक्षा हुनैपर्छ। समीक्षा चै चारतिर फर्केर बस्न भएन। एकैठाउँमा बसेर समीक्षा गर्नुपर्यो।

कांग्रेस हारेकोमा सबै चिन्तित छन् नै। अब चिन्तित भएरमात्र त बसेर भएन। यसका लागि त जनतामा जोडिने कार्यक्रम ल्याउनुपर्यो।
यस्तो अवस्थामा अब भोलिका दिनमा पनि बाम गठबन्धन भएर आए भने यसको विरुद्ध काउन्टर एट्याक दिने खालको नीति ल्याउन सक्नुपर्छ।

नेतृत्वले समीक्षा गर्दैनन् कि भन्ने एक किसिमको डर हुनसक्छ। तर समीक्षा हुन सक्दैन भन्ने कुरा त हुनै सक्दैन। सबैमा उकुसमुकुस छ। यो उकुसमुकुसले पनि समीक्षा हुनैपर्छ। हुन्छ। 
 

पुस्तान्तर जिम्मेवारीको

अब नेपाली कांग्रेसले अबको निर्वाचनमा कसरी सफल हुने भन्ने कार्ययोजना बनाउनुपर्छ। त्यसैले हामीले आगामी निर्वाचनको तयारी थाल्नुपर्छ। अबको पाँच वर्षमा कांग्रेस नै पहिलो दल बनाउन कस्सिनुपर्छ।

जनताको माझ कसरी जाने भन्ने कार्यक्रम ल्याउनुपर्छ। सुधार गर्नुपर्ने विषयहरुमा ध्यान दिनुपर्छ। केन्द्रिकृत सोच नराखी तल्लो तप्काका नेताहरुलाई पनि जिम्मेवारी दिने हो भने धेरै परिवर्तन सम्भव छ। 
(नेत्र तामाङसँगको कुराकानीको आधारमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell