PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


हिटलरको नाति (कथा)


पहिलोपोस्ट

हिटलरको नाति (कथा)

  • लिलाराज खतिवडा -
“काया तान्ने भए त तिमी अहिले अमेरिकामा हुनु पर्थ्यो। यहाँ नेपालमा किन नि?” मैले क्याथीलाई सिधै भनेँ। जो अहिले भष्मेश्वरको एउटा जोगीको कुटीमा मस्त काया तानिरहेकी छे। 

“अमेरिकामा यो सब मजा कहाँ? यो पशुपति, जहाँ छेवैमा शबहरु जलिरहेका छन्। शबहरु शिवमा रुपान्तरण भइरहेका छन्। जो आफैँमा एक विशेष अवस्था हो। उर्जामय। अनि यतिका अग्ला र नतोन्नत हिमालहरुको काखमा बसेर काया सल्काउनुको मजै छुट्टै छ,” बाक्लो धुँवा उडाउँदै क्याथीले बाक्लै कुरा भनी। 

अनि एकछिन् चुप लागेर मेरा आँखामा पुलुक्क हेर्दै सोधी, “तिमी अमेरिका गएका छौ?”

“नाईं,” मैले सहजै भनेँ, “म ती सौभाग्यशाली मान्छेहरुमध्ये परिनँ।”

“राम्रो गरेछौ, नगएर। पदार्थहरुको पराकाष्ठा भोगिरहेको एक अभिशप्त भूमी हो त्यो। स्वर्ग पनि त्यहाँ नर्कमा अवमूल्यन हुन पुगेको छ। भन्छन् नि, तितो वरिपरि गुलियो घेरा। बरु तिम्रो नेपाल धेरै जिवित, उर्जावान अनि प्राकृत छ।”
उसको कुरा सुनेर म ट्वाँ… पर्दै रहेँ।

केटी हो जर्मनी देशकी। काया तान्दै छे पशुपतिमा। अनि भन्दैछे, अमेरिका एक तुच्छ भूमि हो। 
आफूलाई के ठान्छे? 

मलाई चित्त बुझेन। 

टोकेँ, “तिमी अमेरिकी भूमिलाई गाली गर्दैछौ कि त्यहाँको ब्यवस्थालाई? किनभने जमिन आफैँ कहिल्यै तुच्छ हुँदैन। पृथ्वी सब तरफ प्राकृत, परापुन्ज र पुन्यले भरिएको छ। यदि कहिँ कतै केही चूक भएको छ भने त्यो केवल मान्छेबाट भएको छ। जे गल्तीहरु यहाँ भएका छन् सबै मान्छेहरुबाट नै भएका छन्।”

“सायद म त्यहाँको विकृत ब्यवस्थाको नै कुरा गर्दैछु। जतिसुकै प्रजातन्त्रको रट् लगाए पनि अमेरिका खूद् एक घीनलाग्दो तानाशाह हो। ऊ जतासुकै संसार कब्जा गर्ने रणनीति लिएर हिँडेको अर्को हिटलर हो। सिंगो अमेरिका अर्को हिटलर बन्ने अभिप्साले पागल भएको छ। तर, यो उसको असफल धृष्टता मात्रै हो।”

“संसार कब्जा गर्न खोज्नु गलत हो र?” मेरो मुखबाट निस्किहाल्यो।

“किन तिमी पनि त्यो फिराकमा छौ कि कसो?,” देब्रे आँखा हल्का झिम्क्याएर उसले भनी। मलाई उसको त्यो स्टाइल औधि मन पर्यो।
क्याथी मलाई बहुत चाख लाग्दै गई। सायद, यस्ती केटी मैले कहिल्यै भेटेको थिइनँ। 

मैले भनेँ, “तिमीहरुले दुई पटक कोशिश त गरेका थियौ। तर, दुवै पटक दुर्भाग्य, तिमीहरुले हार्नु पर्यो।” 

“हो, दुवै पटक हामीले हारे पनि ती हाम्रो ठूलो जितका तयारीहरु थिए,”

“भनेपछि तेस्रो पनि लडेरै छाड्ने?”

“जित्ने। लड्ने अरु नै छन्। हामीले त केवल त्यसको फाइदा लिएर मिशन फतेह गर्ने हो। तेस्रो विश्व युद्दको ट्याक्टिस अब पहिले जस्तो छैन। कुटनीति बदलिसकेको छ,” रिज्लामा सामान लोड गरेपछि फायर हान्दै उसले भनी। 

वाह, क्या कुइरिनी छे। मैले मनमनै सोचेँ, पूरै विश्व कब्जा गर्न हिँडेकी। त्यो पनि एक्लै। लाग्छ, दुनियाँमा पागलहरुको कमी छैन।
“दुईदुई पटक हारेर हामीले भयंकर अनुभव बटुलिसकेका छौं। भन्ठान कि तेस्रो विश्व युद्ध जित्न हामीले पहिलो र दोस्रो हारेका थियौं,” धुवाँ छोड्दै उसले अगाडि भनी।

मैले सोचेँ, यसलाई अब नगरकोटको काया लाग्यो। यो लुरी केटीले भनिरहेको कुरा उसैलाई सुहाइरहेको थिएन। ऊ आफ्नो औकात भन्दा ज्यादा बोलिरहेकी थिई। काया लागेपछि मान्छेको स्वाभावै यस्तो हो। ठूला कुरा गर्ने। वा भनौं, कुनै पनि कुरालाई आइग्लासले म्याग्निफाइ गरेर हेर्ने।

एउटा टुरिस्ट गाइडको हैसियतले मैले यहाँ धेरै खाले विदेशीहरुसँग संगत गरेको छु। तर, पछिल्लो पटक भेटिएकी यो जर्मन केटी त अचाक्ली चाखलाग्दी निस्की बा। बेलाबेला त योसँग रीस नै उठेर आउँछ। तर, पनि सहन्छु। किनभने, जे भए पनि यो एक पाहुना हो। सायद ऊ पनि मनको बह बिसाउन वा भनौं यात्रा गरेर मनका गाँठाहरु फुटाउन त्यति टाढाबाट यो बिरानो देशमा टप्किएकी होली। अनि म उसलाई सहिदिन्छु।
उसको हाकाहाकी बोल्ने बानी मलाई मन परेको छ। फरासिला मान्छेहरु स्वस्थ हुन्छन् पनि भन्छन्। जे भए पनि यो केटीका मनमा पाप चाहिँ छैन। उही काया लागेपछि अन्टसन्ट बकिरहन्छे। 

बोतलबाट केही घुट्की पानी पिएर उसले आफ्नो भनाइलाई निरन्तरता दिइ। उसको अर्को हातमा रिज्लाको पुल्ठोबाट पुत्पुत् धुँवा आइरहेको थियो, “यसपाली हामी अवश्य विजय हासिल गर्नेछौं। हामीसँग त्यस्तो अनौठो ट्याक्टिस् छ अहिले। हामी कहाँ चुक्यौं भन्ने कुरामा हामीले लामो एनालाइसिस गरिसकेका छौं।”

“कहाँ चुकेछौ त तिमीहरु?” मैले उसको कुरालाई उधिन्ने प्रयास गरेँ।

“हामीले दुवै युद्धमा केवल भौतिक हातहतियारहरुको प्रयोग गरेका थियौं। ती युद्धहरुमा साइकिक पावरको कुनै प्रयोग भएको थिएन। अब युद्ध त्यसले जित्छ जोसँग अत्याधुनिक हातहतियारहरुका साथमा साइकिक पावर पनि छ।” 

“अनि के त्यस्तो साइकिक पावर तिमीहरुसँग छ?”

“छ।”

“निश्चित भन्न सक्छौ, कोसँग छ? के त्यो तिमीसँग छ?”

“हिटलरको नातिसँग छ।” 

उसको यो लापर्वाह जवाफले म चकित भएँ।

अनि सोधेँ, “हिटलरको नाति रे? कहाँ छ त्यो?”

“यो चाहिँ भन्न मिल्दैन।”

“हिटलरको नातिसँग तिम्रो बिहे हुनेवाला त छैन?” प्वाक्क सोध्दिउँ कि झैं पनि लागेको थियो। तर कुटनीतिको ख्याल गरेर सोधिनँ। 
“अब जाने कि?” मैले भने।

“अँ, अब जानुपर्छ। बरु कता?” 

उसले कान ठाडा पारी।

“गोरखनाथ मन्दिर। त्यहाँ भजन छ आज। तिमीलाई मन पर्ने। हरे रामकृष्ण भजन,” मैले भनेँ।

“लेट्स गो,” उसले भनी।

अनि हामी बढ्यौं, गोरखनाथ मन्दिरतर्फ।

एक हप्तादेखि लगातार म क्याथीसँग छु। 

शुरुका दुई दिन उसलाई मैले उपत्यकाका विभिन्न धार्मिक स्थानहरु घुमाएको थिएँ। साँझ अचानक उसले मलाई ठमेलको एउटा क्याफेमा भनेकी थिई, “गाइडबाट माथि उठेर म यहाँ बसुन्जेल मेरो साथी बनिदेऊ तिमी। अनि अब मलाई अब पशुपतिनाथ टेम्पल छाडेर अन्त कतै जानु पनि छैन। श्मशान घाटमा मलाई कैयौं एपिसोड ध्यान गर्नुछ।”

उसका बातहरु बडो बिचित्रका लाग्छन्। उसका शौखहरु बडो गज्जवका छन्।

यता, उसलाई मेरो फ्लूएन्ट अंग्रेजी बोल्ने तरिका मन पर्यो रे। मेरो छ फिटे हाइट् पनि सोलिड् लाग्यो रे। मेरो दुब्लोपातलो शरीरको पनि साह्रै तारिफ गरी उसले। म फुल्दै गइरहेको थिएँ।

“तिमी मलाई यतै राख। हुन्न?” तीन चार पेग मारेपछि त उसले यसो पनि भनेकी थिई।

“के गर्छौ यो देशमा बसेर? केही महिनामा नै तिमी खिया पर्नेछौ,” उसका लागि मेरो फुस्रो जवाफ निस्किएको थियो ।

“तिमीसँग बिहे गरौंला नि। हुन्न? मसँग तीन मिलियन यूरो छ,” खितिति हाँस्दै उसले भनेकी थिई।

“यहाँबाट तीन सय किलोमिटर टाढा मेरी श्रीमती छे। मार्छे उसले मलाई,” मैले सहजै भनेँ।

“डिभोर्स दिए हुन्न?,” उसले बडो सिल्लीपारामा भनी।

“कति सजिलो? हिन्दु धर्ममा डिभोर्स हुँदैन भन्ने थाहा छैन? एक पटक सात फेरा लिएर बिहे गरिसकेपछि काम तमाम्। बाँचुन्जेल मात्रै होइन, अब सात जन्मका लागि दुवैजना हिरासतमा। हाम्रातिर बिहे वान वे ट्राफिक हो,” मैले आफ्नो नजीर पोखेँ।

“हुन त हाम्रो रोमन क्याथोलिक धर्ममा पनि डिभोर्स छैन। तर, मान्छेहरु गर्छन्,” उसको नम्र आवाज निस्कियो।

म चुप लागेँ। रक्सी लाग्दै गएपछि म शान्त हुन्छु। मलाई ज्यादा बड्बड् गर्न मन पर्दैन।

भेट भएदेखि नै क्याथी र म प्रायः सँगै छौं। बरु यसरी भनौं, मेरो फ्यान भएदेखि उसले मलाई कहाँ छोडेकी छे र? गर्ने गफहरु उसका प्रायः यस्तै हुन्। ठाडा गफ, मजाक ज्यादा। अनि धेरैचाहिँ रहस्यमय।

ऊ अत्याधिक मोज मस्ती गर्नु पर्ने स्वाभावकी रहिछे। दिनभरी काया। अनि घाम अस्ताउनासाथ वाइन। वाइन लाग्दै गएपछि व्हिस्की। अनि फेरि काया। कति सकेकी? ऊ झ्याप भएर बस्न रुचाउँछे रातभर। अनि कसैले सुनोस् वा नसुनोस्, गरिरहन्छे बड्बड्... बड्बड्...।

जब ऊ झ्याप हुन्छे। ऊ अर्कै भइसकेकी हुन्छे। उसको ब्यक्तित्वमा पुरै परिवर्तन आइसकेको हुन्छ। अनि कपाल फिँजाएर अनुहार फुलाउँदै लगभग पुरुषको जस्तो आवाजमा भन्छे, “यो मेरो तन्त्र साधना हो। अहिले भर्खर मभित्र शिव आएका छन्। अब म नै शिव हुँ।”

उसले जे भने पनि अब मलाई बानी परिसकेको थियो। ट्वाँ परेर उसलाई हेरिरहन्थेँ। अर्कातिर, लेखनमा रुची भएका कारण पनि मैले क्याथीमाथि निकै चाख राखेको थिएँ। ऊ एक अचम्मकी पात्र थिई। अनौठी। अप्ठ्यारी। अनि उसको लीला अपरम्पार।

गोरखनाथ मन्दिरमा भजन शुरु भयो। कायाको धुँवाले भजन कक्ष कुइरीमण्डल भएको थियो। यो यस्तो भजनमण्डली थियो जो मस्त काया तानेर रामको भजन गाउने गर्थ्यो।

क्याथी पनि कायाको नशामा झुमेर थपडी बजाउँदै गाउन थाली, “हरे राम हरे राम, राम राम हरे हरे। हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे।”
भजन सकिएपछि हामी ठमेलतर्फ लाग्यौं। झमक्कै साँझ परिसकेको थियो। जाडो पनि निकै बढेको थियो। त्यसैले हामी आगो तापेर वाइनको चुस्की लिन पाइने वेस्टर्न भट्टीमा घुस्यौं। 

वाइनले कान ताता भएपछि मैले क्याथीलाई जिस्क्याएँ, “अनि हिटलरको नाती आजकल कहाँ छ त?”

“हिटलरको नाती अहिले कहाँ छ त्यो भन्न मिल्दैन,” उसले नाकका पोरा फुलाउँदै हल्का मुस्कुराएर भनी।

“मैले त सुनेको, हिटलरले बंकरमा अन्तिम अवस्थामा आफ्नी मंगेतरलाई मारेर आफूले पनि आत्महत्या गरेको थियो। उसका कुनै सन्तान थिएनन्,” मैले आफूले पढेका इतिहासका पानाको आडमा अड्डी कसेँ।

“प्रपोगाण्डा थियो त्यो सब। हिटलरकै योजनाको। ऊ बंकरमा आफ्नो डुप्लिकेटलाई राखेर निकै अगाडि सुरक्षित रुपमा भारत आइसकेको थियो, आफ्नी प्रेमिकालाई लिएर। टुप्पी पालेर र जनै लगाएर ऊ धेरै वर्ष बनारस बसेको थियो। त्यसपछि ऊ कैयन वर्ष बृन्दाबनमा हरे कृष्ण मिशनमा सामेल भएर रह्यो। उसका एक छोरा र एक छोरी भए। अनि ऊ काश्मिर गएर स्थायी बसोबास गर्न थालेको थियो। आफ्नो एकमात्र नातिलाई चाहिँ उसले नेपालमा पाल्न दिएको छ,” बोतलबाट आफ्नो रित्तिएको प्यालामा वाइन खन्याउँदै उसले भनी।

“होइन होला?” मैले शंका ब्यक्त गरेँ।

“त्यसो त अर्को कन्स्पिरेसी थ्योरीले हिटलर बंकरबाट त्यसरी नै सुरक्षित दक्षिण अमेरिका गएर सन्तानोत्पादनमा लागेको पनि बताउँछ। तर, मलाई लाग्छ, भारतवाला कहानीमा दम छ। जे भए पनि उसको नाति अहिले नेपालमा छ,” एकै झट्कामा आधा प्याला रित्याएर उसले भनी।
“अनि तिमी उसैलाई भेट्न नेपाल आएकी हौ?,” अन्तिम घुट मारेर मैले सोधेँ।

“मैले उसलाई भेटिसकेकी छु,” उसले मजबूत आवाजमा भनी।

कहाँ? भनेर सोध्न लागेको, मेरो फोन बज्यो। अपरिचित नम्बर थियो। म अपरिचित नम्बर पनि उठाउने गर्छु।
“हेल्लो।”

“हेल्लो, श्याम सुन्दरजी हो?”

“हजुर हो।”

“म हनुमानढोकाबाट, प्रहरी निरीक्षक जीवन गोले बोलिरहेको छु। तपाईंसँग क्याथी नाम गरेकी एउटी जर्मन केटी छे?”
सुनेर म आत्तिएँ। र, भनेँ, “हजुर, छे। किन होला?”

“जर्मन एम्बेसीबाट उसलाई फेला पारेर बुझाउने आदेश आएको छ। अहिले ऊ कहाँ छे? अनि तपाईं कहाँ हुनुहुन्छ?”

प्रहरीको मामिलामा सत्य बोल्नु उत्तम भएकाले मैले बिना हिच्किचाहट भनेँ, “ठमेलको वेस्टर्न भट्टीमा। ऊ अहिले मसँगै छे।”

“कतै नजानुहोला। हामी आइहाल्छौं।” उताबाट आवाज आयो। अनि लाइन काटियो।

“के भयो? कसको फोन? किन डराएर कुरा गरेको?,” निकैबेरदेखि मलाई चुपचाप नियालिरहेकी क्याथीले सोधी। 

म सशंकित भएँ। के यो केटी एउटी अपराधी हो? के ऊ उसैले भने जसरी संसार कब्जा गर्न त हिँडिरहेकी छैन? नत्र किन उसलाई उसको दुतावासले रातारात खोजिरहेको छ त? 

तर मलाई केको डर? म एउटा लाइसेन्स् होल्डर गाइड हुँ। घुमाइदे भन्दै आई। मैले घुमाइदिएँ। पर्यटक घुमाउनु मेरो पेशा हो। 
“किन नबोलेको श्याम? कसको फोन थियो,” उसले उसैगरी सोधी।

उसको अनुहारमा एकटक लगाएर बिस्तारै भनेँ, “हिटलरको नातिको। आउँदैछ रे तिमीलाई भेट्न।” 
“के रे?,” उसको आवाज तिखो थियो। 

त्यसपछि म केही बोलिन। ऊ वाइन थप्न थाली। म रेस्टरुमतिर लागेँ। मेरो मनमा अनेक विचारहरु खेल्ने थाले। जे भए पनि केटी उसका कुराहरु जस्तै रहस्यमय निस्किन पुगेकी थिई।

केही बेरमा नै प्रहरी आइपुग्यो। प्रहरीको साथमा केही गोरा मान्छे पनि थिए।

अघि फोन गर्ने प्रहरी निरीक्षकले मेरो सामान्य परिचय लिएपछि भन्यो, “यो केटी मानसिक रुपमा बिमार रहिछे। उपचार हुँदाहुँदै बर्लिनबाट भागेर यो नेपालको भिषा लिइवरी यहाँ आइछे। यसलाई स्किजोफ्रेनिया भन्ने भयंकर मानसिक रोग लागेको छ रे।”

उनीहरुले क्याथीलाई लैजान चाहे। तर ऊ जान मानिरहेकी थिइन। उसलाई जबरजस्ती भ्यानमा कोचियो। 

ऊ चिच्याइरहेकी थिई, “श्याम, तिमी नै हिटलरको नाति हौ। तर, तिमीलाई यो रहस्य थाहा छैन। म नै तिमीलाई यो सब राज खोल्न आएकी थिएँ। म तिमीसँग प्रेम गर्छु। अनि म फेरि आउनेछु तिमीलाई भेट्न। अवश्य आउनेछु।”

अनि ऊ डाको छोडेर रुन पो थाली। म हेरेको हेर्‍यै भएँ।

उनीहरुले क्याथीलाई लगेरै छाडे। जाने बेलामा उसले जे भने पनि उसको रोगको बारेमा सुनेर मलाई धेरै दुःख लाग्यो। नजाने ऊ कस्ताकस्ता भयानक बातहरु दिमागको कुन कुनाबाट निकालेर बोल्थी। 

आजकल म क्याथीलाई लागेको रोग स्किजोफ्रेनियाका बारेमा खूब पढिरहेको छु। र, मलाई आफूसहित दुनियाँका धेरै भन्दा धेरै मान्छेहरु यस रोगले ग्रस्त छन् जस्तो लाग्न थालेको छ। 
समाप्त ।

वैधानिक प्रावधान : ध्रुम्रपान र मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक छ।



हिटलरको नाति (कथा) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट