PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक डा तारानाथ शर्मालाई प्रदान



पहिलोपोस्ट

पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक डा तारानाथ शर्मालाई प्रदान

काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयी कविलाई आज आयोजित समारोहमा पुरस्कृत गरेकी छन्। 

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा यसवर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछा र द्वितीय सुवास राई ‘क्याप्टेन’ तथा तृतीय दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’ लाई पुरस्कार प्रदान गरिएको हो। 

प्रथम हुनेलाई ३० हजार, द्वितीयका लागि २५ र तृतीयका लागि २० हजार नगदसहित पदक दिइएको छ। गत असार ९ गते प्रतिष्ठानको ६०औँ वार्षिकोत्सवमा आयोजित प्रतियोगितामा ती कवि पुरस्कृत घोषित भएका थिए। 

समारोहमा प्राज्ञिक क्षेत्रको गरिमामय र ठूलो राशिको मानिने पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक एवं निबन्धकार प्रा डा तारानाथ शर्मालाई प्रदान गरियो। पुरस्कार प्रत्येक चार वर्षमा एक पटक दिइन्छ। 

यस्तै प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने एक एक लाखको ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’ प्रा डा वीणा पौडेल र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ डा रामावतार यादवलाई प्रदान गरियो। हरेक वर्ष दिइने ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ वर्ष २०७३ सालका लागि विमल निभा तथा २०७४ सालका लागि ध्रुव सापकोटालाई दिइयो। 

यस्तै एक लाख राशिको तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०७३’ अब्दुल लतिफ शौक (उर्दू भाषा) र २०७४ सालको सोमबहादुर धिमाल (धिमाल भाषा) लाई दिइयो। पहाडी हिमाली क्षेत्रमा बोलिने ‘मातृभाषा साहित्य पुरस्कार–२०७३’ का लागि पदम राई र २०७४ सालका लागि धनबहादुर माझीलाई प्रदान गरियो। 

कार्यक्रममा राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनसँगै सांस्कृतिक क्षेत्रको यथोचित रुपान्तरण र प्रवद्र्धनमा स्रष्टाहरुले भूमिका खेल्नुपर्नेमा बताइन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell