PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रङ्ग र माटोमा पोखिएको अनागरिक इतिहास



स्वेच्छा राउत

रङ्ग र माटोमा पोखिएको अनागरिक इतिहास

नाम : भक्त 

थर : राई

ठेगाना : बेलडांगी, झापा

पेशा : मुर्ति र चित्र बनाउने

 

भक्त राई मुर्ति र चित्र बनाउने काम गर्छन्। रहरले मात्र होइन, पैसा कमाउनका लागि पनि। त्यसैले राईले दमकका विभिन्न मुर्ति र चित्र पसलहरुका लागि अर्डर अनुसार मुर्ति र चित्र बनाउने काम गरे। देउताको मुर्ति, व्यक्तिको शालिक, पोट्रेट र एब्सट्र्याक्ट चित्रहरु। काम गरे बापत पसलले उनलाई २५ प्रतिशत रकम दिन्थ्यो। बिस्तारै उनलाई आफ्नै पसल खोलेर काम सुरु गर्नुपर्छ भन्ने लाग्यो।

‘ज्याला खासै चित्त बुझ्दैन थियो। २५ पर्सेन्ट मात्र। त्यसमाथि आफू सधैं पछाडि बसेर काम गर्नुपर्ने। आफूले बनाएको मुर्ति वा चित्रमा पनि पसलको नाम आउनेु, उनले असन्तुष्टी व्यक्त गरे। व्यवसायिक ढङ्गबाट अगाडि बढ्नका लागि भक्त राईले आफ्नै मुर्ति पसल खोल्न चाहे।

तर उनको नाममा व्यवसाय दर्ता हुन सकेन। किनकी उनी भुटानी शरणार्थी हुन्। कानुनले उनलाई नेपाली मान्दैन। नेपाल बसेको २७ वर्ष भयो। नेपाली भाषा नै बोल्छन्। उनले मान्ने पर्व र संस्कृती नेपाली नागरिकता भएकाहरुको भन्दा फरक छैन। तर पनि उनको राष्ट्रियता छैन। ‘नागरिकता नभएकै कारण हाम्रो नाममा संस्था दर्ता हुँदैन। पैसा र मिहेनेत आफैले लगानी गरेपनि संस्था भने अरु कसैको नाममा दर्ता गरेर कामदार बन्नुपर्छ’ भक्त राई भन्छन्।

सधैं पर्दा पछाडि काम गर्नुभन्दा अरु कसैको नाममा पसल दर्ता गर्नु उनलाई स्विकार्य भयो। त्यसैले नेपाली साथीको नाममा पसल दर्ता गरे। नाम जुराए ‘मुर्तिशाला’। मुर्तिशाला उनको प्यासनको क्यानभास मात्र होइन गरिखाने भाडो पनि हो। उनले अब सोचिसकेका छन्- पाए भुटान फर्कने नपाए नेपालमै बस्ने। उनी पुनर्वासका लागि तेस्रो मुलुक जाने पक्षमा छैनन्। ‘बस्नका लागि पुग्दो त कमाउनै पर्‍यो। अब त दाताहरुले पनि रासन दिन कम गरेका छन्', पसल खोल्नुको अनेक कारण उनले सुनाउने बाध्यताका कथाहरुसँग कतै न कतै जोडिएका छन्।

 

सन् १९९० देखि देशविहीन हुनुको पीडाले भक्त राईजस्ता हजारौं शरणार्थीलाई छोडेन। आन्दोलन गरे, आवाज उठाए। तर उनीहरुले न भुटान फर्कन पाए न नेपाली भए। दाताले दिने रासन, धागो काटेर, ढुङ्गा कुटेर कमाएको पैसा र स्थानीयको खेत र घरमा काम गरेर पाएको ज्याला पुग्दो थिएन। त्यसैले सन् २००७ मा संयुक्त राष्ट्रसंघको शरणार्थी आयोगले भुटानी शरणार्थीलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोप लैजाने निर्णय नै सबैभन्दा ठूलो राहत बन्यो। धेरैका लागि। अन्तत: एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुकमा पुनर्वास भए। शरणार्थीको सङ्ख्या अहिले करिब दश हजार पुगेको छ। शिविर खाली लाग्छ।

‘देश नभएकालाई कुन देश, कुन विदेश? नेपाल प्यारो हो। तर जीवन यताभन्दा बाहिर सहज हुने भयो। सहजै जिउनका लागि पुनर्वास हुनु धेरैको बाध्यता बन्यो। यत्रो वर्ष बसेको क्याम्प खाली हुँदा नरमाइलो चाहिं लाग्दो रहेछ। हामी बस्थ्यौं भन्ने संकेत नै रहेन भने?’ उनको आवाजमा चिन्‍ता प्रष्ट सुनिन्छ।

भक्त क्याम्पमा हुने गरेको हल्लाखल्ला सम्झन्छन्, पाइलै पिच्छे रहेका छाप्राहरु सम्झन्छन्, बालबालिका खेलिरहेको दृश्य, स्कूलमा हुने भिड, क्याम्पकाले पालेका कुखुरा, बाख्रा र रोपेको सागसब्जी, फूलहरु सम्झन्छन्। तर सबैभन्दा धेरै विदेशिएका ती साथीहरु सम्झन्छन् जो चित्र कोर्थे। क्याम्पको जीवनशैलीलाई रङ्ग र पेन्सिलले उतार्थे। ‘स्कूल पढ्दा मिलेर चित्र बनाउने सबै साथीहरु गए। मुर्ति बनाउन साथ दिनेहरु पनि गए। अब त कलामा रुची राख्नेहरु कम छन्। शिविरको स्कूलमा पहिलेजस्तो चित्रकला प्रतियोगिताहरु पनि हुन छाड्यो’ राई नोस्टाल्जिक हुन्छन्।बेलडांगी क्याम्प भित्र कलाकारितामा रुची राख्ने, चित्रमार्फत आफूहरुको दैनिकी, जीवनशैली, पीडा, कष्ट र सरलतालाई प्रस्तुत गर्नेहरु उनको स्मृतीमा सबैभन्दा पहिले आउँछन्।

…….

ठूलो क्षेत्र ओगटेको बेलडांगी शिविरमा फाट्टफुट्ट शरणार्थी छाप्रा, झाडी, रुखहरु र मान्छेको केही टाउकोहरु बीच उभिएका छन् पाँच आकर्षक मुर्ति। जसले भुटानी शरणार्थीको जीवनशैली दर्शाउँछन्। भुटानी शरणार्थी र शरणार्थी शिविरको अस्तित्व मेटिने डरलाई भक्‍त राईको रुची र आत्मबलले जित्न दिएन। त्यसैले सम्भव भयो ती पाँच सुन्दर मुर्तिकलाको स्थापना।

बेलडांगीमा रहेको फाल्गुनानन्दको मन्दिर बाहिर ती मुर्तिहरुले ठाउँ पाए। जुन मुर्ति शरणार्थीहरुले भोगेको जीवनको प्रतिक हो।

चर्खामा धागो कातेर किलोको हिसाबमा पैसा लिने र घर खर्च टार्ने महिलाहरु, दैनिक पालो कुरेर पानी ओसार्ने महिलाहरु, ढुङ्गा कुट्न रतुवा, मावाको किनारमा पुग्ने पुरुषहरु, टहरामा लागेको आगो निभाउन लागि पर्नेहरु र टुकीको उज्यालोमा भविष्य उज्यालो बनाउन पढ्ने बालबालिकाहरु। यी सबै पात्रहरुको प्रतिनिधि प्रतिमा हुन् ती मुर्ति। जसलाई भक्त राईले क्याम्पकै अन्य मुर्तिकारसँग मिलेर बनाए। भक्त राई भन्छन्,‘यी सब हामीले बाँचेको जीवन झल्काउने मुर्तिहरु हुन्। संरक्षणका लागि देउताको मन्दिर नजिकै ल्याएर राख्यौं। अरु ठाउँमाभन्दा सुरक्षित हुन्छ।’

भुटानबाट नेपाल र नेपालबाट पुनर्वासका लागि विभिन्न मुलुक। देश खोज्दाखोज्दै आफूहरुले बाँचेको जीवन र भोगाइहरु भक्त राई र अन्य चित्रकार, मुर्तिकारले चित्र र मुर्तिमा उतारे। ती चित्र बनाउनेहरु धेरैले नेपाल छोडे तर चित्र नेपालमै छन्। जुन चित्रहरु जम्मा गरेर ग्यालरी बनाइएको छ। इफाका भुटानसँगको सहकार्यमा। जसका लागि फाल्गुनानन्द मन्दिर संरक्षण समितिले एउटा कोठा दिएको छ।

……..

मुर्तिहरु नजिकै एउटा मात्र कोठा भएको टहरा छ। त्यो टहरा भुटानी शरणार्थीको पीडा, नेपाल बस्दाको अभाव र अनुभव, भुटान छोड्दाको कष्टहरुको ग्यालरी हो। ग्यालेरीमा चित्रहरुसँगै जीवन देखिन्छ। चित्रहरु थोरै छन्। थोरै चित्रहरुले धेरै बोल्छन्। भक्त सुनाउँछन्,‘अझ धेरै चित्रहरु हुन्थे होलान् तर शरणार्थीको टहराभित्र पसेको पानी, घाम, आगलागी र हुरीले धेरैले आफ्नो चित्र जोगाउन सकेनन्। भावनामा डुबेर गरेको काम हो। बाँकी रहेकोलाई पनि बचाउन नसकिएला भन्ने डरले ग्यालरीको रुप दिन कोसिस गरेको।’

ग्यालेरी स्थापनाको लागि मन्दिर संरक्षण समितिले कोठा दियो, विदेशिएका शरणार्थीहरुले आर्थिक सहयोग गरे र नेपालमै रहेका केही नेपालीहरुले भौतिक एवं भावनात्मक सहयोग गरे। चार लाख आर्थिक लगानी र अमूल्य साथ र सहयोगले सानो म्युजियम तयार भयो।

‘जसरी हुन्छ हामी भुटानीहरुले भोगेको जीवनको इतिहास मर्न दिनु हुँदैन। त्यसको लागि यी चित्रकलाहरु सहयोगी दस्तावेज बन्न सक्छन्, यही विश्वास राखेर भक्त राईलगायतले शरणार्थीले कोरेको चित्रलाई केही सुरक्षित त बनाए तर ग्यालरी दुर्गामी भने होइन। त्यसलाई स्थायीत्व दिनु भक्तको अबको लक्ष्य। जसका लागि उनले क्याम्पका कलाकारहरुको नेतृत्व गर्दै नगरपालिका कार्यालयसँग अनुरोध पनि गरिसकेका छन्।

दमक नगरपालिकाका मेयर रोमनाथ ओली भन्छन्,‘हामीले पनि भुटानी शरणार्थीको नेपाल बसाईको इतिहास नमेटियोस् भन्ने चाहेका छौं। उहाँहरुले चित्रकला र मुर्तिकलालाई पुरानो शरणार्थी जीवनशैली दर्शाउने कोसिस गर्नु भएको छ। त्यसको संरक्षण र स्थायीत्वलाई स्थानीय सरकारले दायित्वको रुपमा लिएको पनि छ।’ ओलीले राज्यले शरणार्थीलाई देश फर्काउन नसकेको अवस्थामा उनीहरुको जीवन सहज बनाउन पहल गर्नु जिम्मेवारी भएपनि कानुनले धेरै कुरा रोकेको बताए। ‘उहाँहरुको नाममा संस्था वा व्यवसाय दर्ता हालसम्म सम्भव नै छैन। कानुनले हामीलाई पनि बाध्छ। यस्तोमा जिम्मेवारी बोध भएर पनि लोकल सरकारले केही गर्न नसक्दो रहेछ।’ उनले शरणार्थीको आर्ट म्युजियम बिस्तार र स्थयीत्वको लागि भने नगरपालिकाले कार्य योजना बनाइ सकेको जानकारी दिए।

………

शरणार्थी म्युजियम बिस्तार र स्थायीत्वसँगै भक्त चाहन्छन् स्थानीय सरकालले भुटानी शरणार्थीलाई व्यवसाय गरी खानका लागि पनि केही सहयोग पुर्‍याओस्। उनी चाहदैनन् आफ्नो नेपाल नछोड्ने निर्णयले आफ्नो छोराछोरीको भविष्यलाई पनि असर गरोस्। भन्छन्,‘क्याम्प पहिलेजस्तो छैन। विदेश जान पनि रोक्यो भनेका छन्। अब भएकालाई सेटल गराउनका लागि चाहिं छलफल भए हुन्थ्यो।’

शिविरको जीवन र भुटानी शरणार्थीले गरेको संघर्षलाई फिल्म ‘देश खोज्दै जाँदा’मा चित्रण गरेका निर्देशक प्रकाश आङ्देम्बे भन्छन्,‘आफ्नो पुस्ताको मुलमा आएर वर्षौ बिताएका नेपाली भाषी भुटानी शरणार्थीको जिम्मेवारी त राज्यले पनि लिनु पर्ने हो। तर कानुनको बहाना देखाउँछन्। कुनै न कुनै हिसावले देशसँग जोडिएकालाई न्याय दिंदैन भने त्यो कानुन गलत हैन?’ उनी आक्रोशित रुपमा प्रस्तुत हुन्छन्। क्याम्पको जीवन नजिकबाट नियालेका र अध्ययन गरेका उनी भन्छन्,‘क्याम्पको कुकुर, बिरालो, कुखुरा,खसी र मान्छे सबैको उस्तै गन्ति गरियो। ठूला र बिकसित देशहरुमा मात्र रहेछ ह्युमन र एनिमल राइट्सको कुरा व्यवहारमा लागु हुने।’

अभाव भएरै लाखौं शरणार्थी विदेशिए। आफूले भोगेको नेपाललाई कागज र ढुङ्गामा कुँदिराखेर। अब बाँकी भएकाको जीवन सहज रहोस् भन्ने चाहन्छन् उनी। र चाहन्छन् नरहेकाले छोडेको ती कलाहरु पछिसम्म रहोस्।

शिविरका कलाकारले गरेको प्रयासमा सहयोग छ पुनर्वासी भुटानीहरुको, साथ छ केही प्रकाश आङ्देम्बेजस्ता नेपालीहरुको जो शिविरको नजिक रहे। अब राज्यले प्रक्रियाका लागि केही सहयोग पुर्‍याए ‘शरणार्थी म्युजियम’ बन्न सम्भव छ। आज भक्त राई, प्रह्लाद गुरुङ, जोगमान राई, देवकुमार राईले आर्ट ग्यालरीलाई दिएको खाकाले भोलि ठूलो स्वरुप पाउने छ।

योजना गरेजस्तै भयो भने भोलि विदेशबाट आफन्तको चिहान हेर्न आउने भुटानी शरणार्थीहरुले शिविरमा केही मान्छे भेट्नेछन्, आफूले छोडेर गएको ठाउँ भेट्नेछन्, आज संरक्षण गर्न खोजिएको चित्र र मुर्तीहरु भेट्नेछन्। जसले उनीहरुले भोगेको जीवनलाई सजिव चित्रण गर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell