PahiloPost

Dec 15, 2018 | २९ मंसिर २०७५


चुनावको कर्मकाण्ड


किशोर नेपाल

चुनावको कर्मकाण्ड
प्रतीकात्मक फोटो : tomorrowmakers.com

-कान्तिपुर गाथा-

सकियो चुनाव। चुनाव सकिए पनि यसको कर्मकाण्ड सकिएको छैन। देशमा गणतन्त्र संस्थापनको पहिलो चरणको काम सकियो। कनिका र उ जस्ता असंख्य रिपोर्टरहरूले सुख पाए। पुस महिनाको दोस्रो शुक्रवार अफिसको ग्यालरीमा बसेर घाम ताप्दै थिइ कनिका। उसको मन उद्विग्न थियो। किनभने उसको मनलाई चुनाव प्रक्रिया शुरु भएको दिनदेखि नै सामाजिक सन्जालमा लेखिएका फोहोरी शब्दहरूले आहत तुल्याएका थिए। एकजना “नक्कला” (अन्यथा नलिनु होला नक्कला शब्दलाई। यो नक्कली शब्दको पुलिंग हो।) चुनावमा उठेका थिए। उनले आफ्नो विजय भएपछि जनताका दुःख र कष्टहरू दूर हुने बताएका थिए। उनी विदेशी रेडियोमा बोल्ने जागिरे थिए। सेलिब्रिटी शब्दको अर्थ नजान्ने लाटागाँडाहरू उनलाई सेलिब्रिटी मान्थे। त्यो विदेशी रेडियोमा बोल्ने मानिसलाई चुनावी ख्याकले तर्साउँछ भन्ने हल्ला पहिलेदेखि नै चलेको थियो। साँच्चै हो रहेछ क्या रे। उहिले रत्नाकर भारती भन्ने एकजना हिन्दी भाषी अनाउन्सरलाई पनि चुनावी ख्याकले तर्साएको थियो क्यारे।उनी आवाजको दुनियाँका साथी र समर्थकहरूलाई छाडेर जनता पार्टीमा छिरेका थिए। त्यहीँबाट चुनावको दुनियाँमा आए।  त्यसपछि अचानक हराए। चुनाव र ख्याक दुवै उस्तै हुन्। यो पनि मानिसले पाएको मनको अनन्त दुःख मध्ये एउटा दुःखै न हो। 

नक्कला खान पुगोस दिन पुगोस् (खापुदिपु) पार्टीका संयोजक थिए। उनको उम्मेदवारीको जसले विरोध गर्यो, जसले उनको उम्मेदवारीलाई जिस्क्यायो उसलाई नक्कलाका कार्यकर्ताहरूले पूरै फेसबुक नै उचालेर गाली गरे। गाली पनि कस्ता कस्ता हाँसो उठ्दा। अति साझा र अति विवेकशील गालीहरू। केही नमूना गाली यस्ता पनि लेखिए र देखिए, “यस्तो लेख्नेको हातमा किरा परिजाओस्। हरिया बाँसमा देख्न पाउँ, आर्यघाट लगेको हेर्न पाउँ, छेरौटीले टपक्क टिपेर लगोस…।”

कान्तिपुरको अपेक्षाकृत सभ्य संसारमा हुर्किएकी कनिकाले यस्ता गाली कहिल्यै सुनेकी थिइन। राजनीतिमा यस्ता गालीको चलन चल्ती त काँठ कछाडमा पनि देखेकी थिएन उसले। तै पनि, खापुदिपु पार्टीका नेता मिडिया र भिडियोमा आफनो प्रचार ब्यापक भएको देखेर दंग परेका थिए। उनले आफ्ना कार्यकर्ताहरूलाई जति नून खुवाएका थिए त्यो भन्दा बढी नै सेवा पाएका थिए। त्यहाँ नून मात्रै थियो। चूक कतै थिएन।

तर, अब चुनाव सकिसकेको छ। चुनाव आयोगले गर्नुपर्ने महत्वपूर्ण कृत्यहरू बाँकी छन्। राष्ट्रिय सभा गठन सम्बन्धी एउटा अध्यादेश जारी गर्न सरकारले दुई महिना अघि राष्ट्रपति समक्ष बुझाएको थियो। राष्ट्रपतिले त्यो अध्यादेशलाई ढाकाको खाष्टो ओढाएर खोकिलाभित्र राखिन्। आधिकारिक हिसाबले त्यो अध्यादेशलाई राष्ट्रपतिले खाष्टोभित्र लुकाएर राखेको भन्न मिलेनछ। भर्खरै अत्यधिक बहुमत पाएर विजयी भएका वाम गठबन्धनका प्रमुख नायकले भनेछन – “पुरानो सरकारले पेश गरेको अध्यादेश राष्ट्रपतिले जारीगर्नु मुनासिव हुनेछैन।” 

दुई महिनासम्म त राष्ट्रपतिलाई पनि त्यस्तै लागेछ। एक त आफनै पार्टीका अध्यक्ष। त्यसमा पनि वाम गठबन्धनका प्रमुख नायक। आज पनि उनैका जोरबलले राष्ट्रपति भएको हो, भोलि पनि उनैका जोरवलले राष्ट्रपतिमा दोहोरिने मौका पाइने हो। सुनेर कनिकालाई झोंक चलेछ : उ एक्लै वुदवुदाई, “भर्सेलै परोस।” 

आज बिहान राष्ट्रपतिले अध्यादेशमा हस्ताक्षर गरेपछि कनिकाको स्मृतिमा राष्ट्रनायकको मुहार झल्झल्ती भयो। लाग्यो - "चिसै पानीमा नुहाउनु थियो त पुसको मध्य नै रोज्नु किन पर्थ्यो?"

त्यसपछि सोची, चुनाव भनेको पनि बडो रमाइलो कुरा रहेछ। नक्कलाको हातबाट पराजयको माला पहिरिनु परेको भए के हालत हुन्थ्यो प्रकाशमान सिंहको?। गगन थापाको पछि लागेका दुष्ट मानिसहरू अक्षरका डाक्टर रहेछन् र पो गगन जोगिए। विरामीका डाक्टर भएका भए के हुन्थ्यो, के हुन्थ्यो? कामरेडहरूले मनमोहन खोलेर गगनको शल्यक्रिया पो गरिहाल्ने थिए कि?।

जे जसो भए पनि चुनाव सकिएको छ। हिरो हुने आशाले चुनावमा हाम फाल्नेहरू जिरो भएका छन्। करोडौं करोड रुपियाँको खेलकूद भएको छ। रानी पोखरी बन्दाबन्दै रोकिएको छ। देश अगाडि बढ्छ यसमा शंका छैन। तर, अहिलेसम्म चुनावी नतिजा अनुसारको सरकार नै बनेको छैन भने देश कसरी अगाडि बढ्छ?



चुनावको कर्मकाण्ड को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट