PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अवैध सुनको चलखेल : तस्करको बल्छीमा वैदेशिक रोजगारीबाट फर्किने युवा 



सविन ढकाल

अवैध सुनको चलखेल : तस्करको बल्छीमा वैदेशिक रोजगारीबाट फर्किने युवा 

काठमाडौं : बुधवार सुनसरी बराह नगरपालिका ११ घर भएका २६ वर्षीय मोहम्मद खुसिद अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ परे।

प्रहरीले अन्सारीलाई अवैध रुपमा सुनको कारोबार भइरहेको सुचनाका आधारमा पक्राउ गरेको थियो। अन्सारी खाडी मुलुकबाट देश फर्केका युवाले ल्याएको अवैध सुन संकलन गर्दै थिए। उनको साथबाट प्रहरीले ९० ग्राम सुन बरामत गर्‍यो। किलोका किलो सुन समातिने देशमा ९० ग्राम सुन समातिनु आफैमा ठूलो विषय होइन। तर, सानो सानो परिणाम जोड्दै तस्करले आफ्नो सुन तस्करीको फरक साम्राज्य खडा गरिसकेको संकेत हो यो।

केही समय अगाडि यस्तै प्रकृतिको गतिविधिमा संलग्न भएकोमा प्रहरीले विमानस्थलको पार्किङ एरियाबाटै बारा निजगढ नगरपालिका घर भइ हाल भक्तपुर लोकन्थली बस्ने २९ वर्षीय बिष्णु पण्डितलाई पक्राउ गरेको थियो। पण्डितले कतारबाट आएका युवकसँग ५ थान सुनको बाला संकलन गर्दैथिए समातिँदा।
 

विमानस्थलमा यसरी हुन्छ अवैध सुनको तस्करी

सरकारले गत साउन १ गतेदेखि विमानस्थलबाट काँचो सुन ल्याउन प्रतिबन्ध लगाएपछि सुन तस्करले वैदेशिक रोजगारीमा गएका युवाहरुलाई आफ्नो बल्छीमा पार्न थालेका छन्। 

तस्करले नेपालमा र विदेशमा दुई गुट बनाउने गर्छन्। विदेशमा बस्ने तस्करले घर विदामा फर्कने युवाको पहिचान गर्छन्। उनीहरुले विभिन्न प्रलोभन देखाएर ५० देखि सय ग्राम सुन बोकाएर नेपाल पठाउँछन्। सुन ल्याएर नेपाल आउने युवाको सम्पर्क नम्बर र फोटो तस्करले नेपालमा भएका साथीलाई फेसबुक, ह्वाट्सेप र भाइवर मार्फत् नेपालमा भएका साथीहरुलाई पठाउँछन्। विमानस्थलबाट बाहिरिने बित्तिकै तस्करले ती युवाले ल्याएको सुन संकलन गर्छन्। यदि विमानस्थलभित्र नै अध्यागमन विभागले सुनका भरिया युवालाई पक्राउ गरे उनीहरु बेखबर बन्दिन्छन्। अहिले विदेशबाट काँचो सुन र गालेको गहना ल्याउने क्रम बढेको त्रिभुवन अध्यागमन विभागका उपसचिव ध्रुव विक बताउँछन्। भन्छन्, 'साधारण रुपमा गालेर सुनका बाला र अन्य गहना बनाएर तस्करी गर्ने गरेको देखिन्छ।' 

दैनिक ३ देखि ४ जना अवैध सुनसहित समातिने उप सचिव ध्रुव विकको दावी छ। पक्राउ परेकाहरुले दिएको बयान अनुसार कतिले विदेशमा केही पैसा र टिकट समेत कटाएर सुन बोकाएर पठाउने गरेको पाइएको छ। कतिपयले भने सुन ल्याउन नपाउने जानकारी नहुँदा पनि सुन ल्याउने गरेको विकले बताए।

नेपाल प्रहरी भने अध्यागमन भित्र प्रहरीको चेक नभएको र बाहिर हुने तस्करीमा कारबाही भइरहेको दावी गर्छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपाने भन्छन्, 'अध्यागमनभित्रको पाटो प्रहरीलाई थाहा हुँदैन। विमानस्थल बाहिर भएका सुन तस्करलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएका छौं।'
 

तस्करीको ५० ग्राम सुनमा २५ हजार नाफा

यसरी विदेशबाट अवैधरुपमा ल्याएको ५० ग्राम सुनमा २५ हजारसम्म नाफा हुने गरेको छ। नेपाल सरकारलाई १ ग्राम सुनमा ४ सय २० रुपैयाँ भन्सार शुल्क बुझाउनुपर्छ। ५० ग्राममा २१ हजार रुपैयाँ सम्म भन्सार शुल्क पर्न आउँछ। यसरी तस्करले विदेशबाट एक जना युवालाई सय ग्राम सुन बोकाएर पठाउँदा ५० हजार सम्म नाफा गर्ने गरेको देखिएको छ। कतिपय तस्करले यसरी सुन ल्याएबापत युवाहरुलाई मोबाइल, टिकट खर्चसमेत दिने गर्ने गरेका छन्। 

नेपाल प्रहरीले आर्थिक वर्ष २०७१ देखि अहिलेसम्म देशभरबाट अवैधरुपमा भित्र्याएको ४ सय ३ केजी सुन बरामत गरेको छ।

सरकारले विदेशबाट ५० ग्रामसम्म सुन ल्याउन छुट दिँदा सो समयमा दैनिक ५ देखि ८ किलोसम्म सुन बिनाभन्सार नेपाल भित्रिने गरेको थियो। विदेशबाट सुन आउने क्रम बढेपछि अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै सरकारले प्रतिबन्ध लगाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell