PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अहिले साहित्य कम र हल्ला बढी लेखिन थालेको छः अनुपम रोशी



पहिलोपोस्ट

अहिले साहित्य कम र हल्ला बढी लेखिन थालेको छः अनुपम रोशी

साहित्यकार अनुपम रोशीका उपन्यासहरु कुमारी आमा, नाङगो मान्छे र कालो छायाँ प्रकाशित छन्। सामाजिक यथार्थवाद र महिला केन्द्रित मुद्दा उनले उठान गर्ने विषय हुन्। २०७४ का लागि उनले युवा वर्ष मोती पुरस्कार समेत पाइन्। उनका छोटा कथा र कविताहरु पनि पाठकले रुचाएका छन्। यसैबीच यसै महिनामा उनी आफ्नो पहिलो कथा संग्रह 'मध्यान्तर' सार्वजनिक गर्दैछिन्। बिएन पुस्तक संसारले उनको कथा संग्रह सार्वजनिक गर्न लागेको हो। पुस्तक विमोचनको तयारीमा रहेकी अनुपम रोशीसँग पहिलोपोस्टकी स्वेच्छा राउतले गरेको कुराकानी :


प्रकाशनका हिसाबले उपन्यासबाट चिनिएकी अनुपम रोशीलाई कथा संग्रहतर्फ केले आकर्षित गर्‍यो?

खासमा उपन्यास र कथाका धेरै कुराहरु मेल खान्छन्। कथामा छोटा घटनाक्रम हुन्छ भने उपन्यासमा लामो। कथाले घटनाको कुनै एउटा पाटोलाई ब्यक्त गर्छ भने उपन्यासले त्यो घटनाको साँगोपाँगो समेट्छ। यसकारण उपन्यास लेख्ने लेखकले कथा पनि लेखिरहेकै हुन्छ। र, मैले पनि कथाहरु लेखिरहेकै थिएँ।


आफ्ना कथाहरुका लागि विषय छनोट कसरी गर्नुहुन्छ? त्यसका लागि कति समय खर्चनु हुन्छ?

धेरैजसो विषय समाज, जीवन र संघर्षका अनुभूतिले छनोट गर्छन्। तर, कति ठाउँमा विषयले नै मलाई छनोट गरेजस्तो लाग्छ। किनकि त्यस्ता धेरै घटना म नजिक आइपुगेका हुन्छन् जसलाई म लेख्न बाध्य हुन्छु। त्यसमा बस्तुगत तथ्यका लागि आवश्यकता अनुसार अध्ययन र अनुसन्धान पनि भएको हुन्छ।


तपाईँ केका लागि लेख्नु हुन्छ? लेखेर के हुन्छ?

पहिलो त म आत्मासन्तुष्टिका लागि नै लेख्छु। हो, मैले लेखेको कुरा पढेर कोही पाठक खुशी हुन्छ भने उनीहरुको खुशी र आनन्दका लागि पनि लेख्छु। लेखेर के हुन्छ भन्ने कुरा त खासमा एउटा लेखकले लेख्दै गर्दा सोचेकै हुँदैन। तर, त्यहाँ धेरै कुरा भइरहेको हुँदोरहेछ । देशको समाजिक आर्थिक र राजनीतिक अस्तित्वलाई लेखकले एउटा विज्ञान बनाइदिन्छ। जसलाई अध्ययन गरेर सामाजिक सभ्यताले कयौं काँचुली फेर्न सक्छ।


लेखन तपाईँको पेशा की रुची?

लेखनलाई पेशा बनाउन सकेको दिन साच्चिकै देशले वैज्ञानिक फड्को मार्नेछ। तर, अहिले चै लेखन मेरो रुचीकै संरचनाभित्र परेको छ।


अहिलेको नेपाली साहित्य क्षेत्र कस्तो लाग्छ तपाईँलाई?

अहिले साहित्य कम र हल्ला बढी लेखिन थालेको छ। गम्भीर साहित्यभन्दा पनि मिडिया तताउने हल्लाहरु साहित्यको रुपमा प्रकाशित र प्रसारित भइरहेका छन्। साहित्यमा स्टन्ट देखिन थालेको छ। जसले गणनात्मक रुपमा बजार बनाए पनि गुणात्मक रुप घटाउँदै लगेको छ। हल्ला र मिडियाबाजीले कतिपय राम्रा किताबहरु ओझेल परेका छन्। जो चुपचाप सृजना क्षेत्रका लागेर काम गरिरहेको छ। त्यसलाई हल्लाले तत्कालको लागि चै ओझेल पारिदिने गरेको छ। तर, राम्रो सृजनाले एक दिन आफ्नो बजार आफै बनाउँदै आउँछ। यसमा आत्तिनु पर्दैन।


नेपाली साहित्यमा लेखक महिला र पाठकको पनि उपस्थिति कम छ भनिन्छ। तपाईँले साहित्य क्षेत्रमै रहेर यो विषयलाई कसरी हेर्नु भएको छ? रचनात्मक, समीक्षात्मक र तर्कको हिसाबले के महिला सहभागिता कमजोर भएकै हो त?

पक्कै पनि पुरुष लेखक र पाठकका तुलनामा महिलाको सहभागिता कम छ। किनकि आज पनि समाजमा जति पुरुषहरु स्वतन्त्र छन् त्यसको एक चौथाइ पनि महिलाहरु स्वतन्त्र छैनन्। सामाजिक, पारिवारिक र मनोवैज्ञानिक रुपले कतै न कतैबाट बाँधिएका महिलाहरुको सोच सृजनशील हुनु र रचनात्मक कार्यमा लाग्नु सहज कुरा होइन। पुरुषहरुको जत्तिकै मानसिक स्वतन्त्रता महिलालाई प्राप्त भएको दिन महिलाहरुको रचनात्मक कार्य पुरुषहरुको भन्दा दोब्बर हुनेछ। फेरि पनि यो बीचमा आएका महिलाहरुका बिचार सबै तर्कहीन नै छन् भन्न मिल्दैन। पछिल्लो समय टक्कर दिन मिल्ने बैचारिक तर्कहरु महिला लेखकका लेखनीबाट पनि भइरहेका छन्।


तीन उपन्यास प्रकाशित गरिसक्दा नेपाली साहित्यको बजार र बजार व्यवस्थापन कस्तो पाउनु भयो?

नेपाली साहित्यको बजार दुई प्रकारको छ। एउटा चर्चाको भरमा बिक्ने र अर्को पाठकले किताब पढिसकेपछि राम्रो सृजना छ भने सृजनाले आफ्नो बजार आफै बनाउने। त्यसमा सृजनाले आफै बनाएको बजार चाहिँ दीर्घकालीन हुन्छ। ब्यवस्थापनको कुरामा चै हरेक प्रकाशन गृहका आ आफ्नै तरिका छन्। कुनै प्रकाशनका किताब सबैतिर पुग्छन्। कुनै सीमित ठाउँमा मात्रै। अक्सर महिला लेखकका किताब चै ठूला प्रकाशन गृहले छापेको रेकर्ड त्यति छैन। छापिहाले पनि प्रचारप्रसार र राम्रो बजार ब्यवस्थापन गरेको पाइँदैन। जसले अझै पनि महिला लेखकहरु लेख्नै सक्दैनन् भन्ने कुराको पक्षपोषण गर्छ। तर, वास्तविक रुपले अध्ययन गर्ने हो भने केही लेखक महिलाका कृति त्यति कमजोर पनि छैनन् जति सोच्न बाध्य पारिएको छ।


तपाईँका रचना महिलावाद र यौन विषय केन्द्रित हुन्छन् भन्ने कुरा स्वीकार्नु हुन्छ? स्वीकार्नु हुन्छ भने जीवनसँग कति प्रभावित छन्?

पक्कै पनि म एउटी महिला भएको हुँदा, महिलाकै अनुभूति नजिक रहेर सृजना हुनु स्वभाविक हो। र, महिलावादी नै हुँ। तर, यसो भनिरहँदा मैले सिंगो मानवीयतालाई बिर्सिएकी पनि छैन। म महिलाभन्दा पहिला र पछि पनि एक मानव भएर सोच्ने गर्छु। जैविक स्वतन्त्रताको पक्षमा मेरो कलम चल्दै आएको पनि छ। र, अर्को कुरा यौन, जुन मान्छेको जीवन र सिंगो सृष्टीसँग जोडिएको छ। मानव सभ्यताको विकासलाई अघि बढाउन यौनकै मुख्य भूमिका छ। त्यस कारण म यौनसँग अत्यन्त नजिक छु। यौन नै जीवन हो र म जीवनकै कुरा लेख्छु। यसलाई स्वीकार गर्न मलाई कुनै आपत्ति छैन। तर, यौनलाई अश्लिलता बुझ्ने र त्यही ब्याख्या गर्ने समाजले यसको आलोचना गर्दै आएको छ।


अनुपम रोशीका कृतिहरुले सामाजिक परिवर्तनमा कस्तो प्रभाव पारेको छ? आफैले समीक्षा गर्नु भएको छ?

मैले आफूलाई पटकपटक समीक्षा गरेकी छु। मूलभूत रुपमा प्रजनन् स्वतन्त्रता र जैविक अस्तित्व सुरक्षाको कुरालाई मेरा सृजनाले सम्बोधन गरेका छन्। मेरा किताबहरु पढ्दा पाठकले एक किसिमको अठोट, साहस र शक्ति प्राप्त हुने गरेको कुरा सुनाउँछन्। म आँसु बेचेर होइन, असमानताहरुको बीच हिँडेर मुस्कुराउन सक्नुपर्छ भन्ने मान्यता राख्छु।


कृति सम्बन्धी कुरा जोडेर मिडिया, सामाजिक सञ्जालमा वा प्रत्यक्ष भेटघाटमा कुनै पनि दुर्व्यवहार महसुस गर्नु भएको छ? आफू वा अरुमाथि हुने त्यस्ता दुर्व्यवहार वा आक्रमणको प्रतिवाद कसरी गर्नु हुन्छ?

प्रत्यक्ष दुर्व्यवहार त त्यति भएको छैन। किनकि मभित्र अलि खरो स्वभाव छ। म तुरुन्त सवालको जवाफ दिन हिचकिचाउँदिन। तर, अप्रत्यक्ष र एकाध मिडियामा मेरो लेखनलाई यौन र अश्लिलतासँग जोडेर उडन्ते ब्यख्या चै भएको छ। पुस्तकै नपढी पछाडि कुरा गर्नेहरुको त के कुरा भो र? पहिले त निकै रिस उठ्थ्यो, किन यति सारो गरेका होलान्, भनेर दुखी पनि हुन्थेँ। तर, आजकल त्यस्ता कुराले छुँदैन। बरु खुब हाँसो उठ्छ। आखिर जसले जे भने पनि पुस्तक पढ्ने पाठकले त्यसको गम्भीर समीक्षा गरिरहेका हुँदारहेछन्। म किन बाझ्दै हिँड्नु भन्ने लाग्छ।


मध्यान्तरबारे पाठकलाई केही?

मेरा अरु किताबमा जस्तै मध्यान्तरमा पनि पाठकले केही नयाँ अवश्य पाउनु हुनेछ। हल्लाको पछाडिभन्दा पनि किताब पढेर नै त्यसको वास्तविकता थाहा पाउन सकिने छ। त्यसकारण एक पटक यो किताब पढ्न अनुरोध गर्छु। र, सबैलाई धन्यवाद भन्छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell