PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

के मा व्यस्त छन् देउवा सरकारका विनाविभागीय मन्त्रीहरु?



पहिलोपोस्ट

के मा व्यस्त छन् देउवा सरकारका विनाविभागीय मन्त्रीहरु?

  • पासाङ ठकुल्ला - 
काठमाडौं : पुसको जाडोमा घाम ताप्नुको मजा के होला? पदमा कायमै रहेका विनाविभागीय मन्त्रीहरुका लागि पुसको घाम तपाइ जस्तै छ अहिलेका दिनहरु। सत्तामा कांग्रेससँग र चुनावमा विपक्षी दल एमालेसँग वाम गठबन्धन बनाएका मन्त्रीहरुलाई हामीले सोध्यौं : के गर्दै हुनुहुन्छ? 

उनीहरुले 'पुसको घाम तापेको' त भनेनन् तर मन्त्री भएर पनि फुर्सदमै रहेको बताए। रोचक त के छ भने सत्ता नछाडेका मन्त्रीहरु आफ्नै सरकारलाई गाली गर्न भने पछि पर्दैनन्। जिम्मेबारीबाट मुक्त भए पनि पदले मन्त्री नै रहेका उनीहरु मन्त्रीको तलब थाप्छन् र निजी जीवन बिताउँछन्। र, काठमाडौंमा डेरा खर्च बचाउँदै मन्त्री क्वाटर प्रयोग गर्छन्। सुरक्षाकर्मी र गाडीको मजा त छँदैछ। 

केही दिनअघि भने विना विभागीय मन्त्रीलाई भ्याइनभ्याइ थियो। मन्त्री नै रहेर चुनावमा भिड्दा आफ्नै सत्ता सहयात्रीलाई सिध्याउनेगरी भाषण दिन पाउने १६ जना 'भाग्यमानी' थिए। धेरैजसोले निर्वाचनबाट आफूलाई अनुमोदन पनि गराए। नराम्ररी चुनाव हारेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रैबाट आलोचना खेपिरहँदा भने उनकै क्याबिनेटका मन्त्रीहरु भने विजय उत्सावमा रहे। 

सत्ता साझेदार हुँदाहुँदै विपक्षी दल नेकपा एमालेसँग पार्टी एकीकरण र चुनावी एकतामा जुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुको जिम्मेबारीको मन्त्रालय खोसे र आफैले लिए। राजनीतिमा त्यति महत्वपूर्ण ट्विस्ट आउँदा पनि देउवाले मन्त्रीहरुलाई वर्खास्त गरेनन् – विनाविभागीयमात्र बनाए। त्यसकै फाइदा लिइरहेका छन् विना विभागीय मन्त्रीहरु। 

विना विभागीय भएसँगै निर्वाचनमा होमिएका मन्त्रीहरुमध्ये अझै केही त गाउँघरतिर मतदाता भेटघाट तथा धन्यवाद ज्ञापनमा व्यस्त छन्।
विना विभागीय मन्त्री आशा कोइरालालाई गजब समयमा पदविहीन मन्त्री हुन पुगेको महसुस रहेछ। हाम्रो प्रश्नमा कुटनीति शैलीमा प्रस्तुत भएकी कोइरालाले – निर्वाचन सघाउन राजीनामा नगरेको बताइन्।  

'विभागीय जिम्मेवारी नहुँदा माओवादी केन्द्रका मन्त्रीहरुलाई औपचारिक काम समेत छैन,' उनले भनिन्, 'सरकारका केही कामका लागि मन्त्रिपरिषद् बैठकमा बोलाए पनि उपस्थित हुन सकिनँ।' 

त्यसो त चुनावी परिणामले वेरोजगार मन्त्रीलाई रोजगारी दिएको छ। अर्को रोचक पक्ष के छ भने विना विभागीय भएर केन्द्रको क्याबिनेटमा रहेका मन्त्रीहरु प्रादेशिक सांसदमा खुम्चिसकेका छन्। कोइराला तिनैमध्येकी एक हुन्। 

‘अहिले प्रदेश ४ बाट प्रदेशसभामा विजयी भएकी छु,' केन्द्रकी मन्त्री कोइरालाले भनिन्, 'विजयी भएपछि मतदातलाई धन्यवाद दिन र विजय उत्सवमा व्यस्त छु।’ 

माओवादीका अर्का मन्त्री महेन्द्र बहादुर शाही भने निर्वाचनमा विजयी भएपछि मतदातालाई धन्यवाद दिएर काठमाडौं फर्किएका छन्। विभागीय जिम्मेबारी खोसिएपछि कामको चाप ह्वात्तै घटिहाल्यो। 'विना विभागीय बनाइएपछि काम गर्न परेन,' शाहीले भने, 'समसामयिक राजनीतिक विषयमा छलफल र भेटघाटमा समय बित्छ।' 

अर्का राज्यमन्त्री कर्णबहादुर बिकले निर्वाचन र पार्टीको काममा व्यस्त रहेको बताए। मन्त्री पद लिएर जिम्मेवारी भने पार्टीकैमात्र पूरा गर्न पाउनु उनीहरुका लागि विशेष बनेको छ। तर पनि यति चाहिँ भन्न भ्याए, 'विना विभागीय भए पनि सरकारका काम कारबाहीलाई सहज र प्रभावकारी बनाउनेतर्फ भूमिका खेलिरहेको छु।'

देउवा सरकारको नेतृत्वमा रहेका विना विभागीय मन्त्रीहरुमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु साह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल केवट, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारु, मोहम्मद जाकिर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर बिक, छमबहादुर गुरुङ, गोमा कुँवर र वाङदी शेर्पा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell