PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नागरिकका प्रधान सम्पादक प्रतीक प्रधानद्वारा राजीनामा, नयाँ सम्पादक 'डिसिजन भएको छैन'



नागरिकका प्रधान सम्पादक प्रतीक प्रधानद्वारा राजीनामा, नयाँ सम्पादक 'डिसिजन भएको छैन'

  • रविराज बराल/पहिलोपोस्ट -
काठमाडौँ : 'नागरिक' राष्ट्रिय दैनिकका प्रधान सम्पादक प्रतीक प्रधानले राजीनामा दिएका छन्। सोमबार साँझ ट्विट गर्दै उनले जेठ १२ गतेदेखि लागू हुने गरी जिम्मेवारीबाट विदा लिएको बताएका हुन्।

'देशमा आएको ठूलो भूकम्प पश्चात आफ्नो कामको दायरा फराकिलो बनाउने सोच लिएको छु', उनले ट्विटमा भनेका छन्।
 

प्रधानको राजीनामापछि नयाँ सम्पादक को बन्ने भन्ने निश्चित भइसकेको छैन। नागरिक र अङ्ग्रेजी दैनिक रिपब्लिकाको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोद ज्ञवालीले नयाँ सम्पादक कसलाई बनाउने भन्ने बारे निर्णय भइनसकेको बताए। 

'डिसिजन भइसकेको छैन,' ज्ञवालीले पहिलोपोस्टलाई प्रतिक्रिया दिँदै भने, 'कति कुरा त गोप्य पनि रहनुपर्ला नि।'

दुई वर्षअघि सम्पादक नियुक्त भएका प्रतीक प्रधानको राजीनामापछि 'नागरिक'ले आफ्नो स्थापना कालको सातौँ वर्षमा पाँचौँ सम्पादक पाउने भएको छ।  

'कान्तिपुर' सँग अलग्गिएपछि नयाँ राष्ट्रिय दैनिकको तयारी थालेको ज्ञवालीको प्रकाशन संस्थाले सुरुमा युवराज घिमिरेलाई प्रधान सम्पादक नियुक्त गरेको थियो। तर वैशाख ११ गते 'नागरिक' दैनिक सुरु हुँदा घिमिरेले राजीनामा दिइसकेका थिए र नारायण वाग्ले प्रधान सम्पादक भए। 

वाग्लेको तीन वर्षीय कार्यकालपछि किशोर नेपाल एक वर्ष र त्यसपछि दुई वर्ष प्रतीक प्रधान नागरिकको प्रधान सम्पादक बने। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell