PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अपूरो शिक्षाले लियो भूकम्पमा धेरैको ज्यान



अपूरो शिक्षाले लियो भूकम्पमा धेरैको ज्यान
काठमाडौँको श्री जनोदय निम्न माध्यमिक विद्यालयका एक विद्यार्थी भूकम्प आउँदा टेबलमुनि लुक्ने अभ्यास गर्दै गरेको यो फोटो युएसएडको प्रकाशनबाट साभार गरिएको हो।

  • ऋषिराम पराजुली
वैशाख १२ र २९ गतेका भूकम्पका कारण हताहत हुनेको संख्या ८ हजार ६५० (नेपाल पुलिसले उपलब्ध गराएको तथ्यांक, जेठ ९) अपेक्षाकृत कम नै हो। किनकि हामी भाग्यमानी रह्यौं। भूकम्पको समय र तरङ्गले यो संभव बनायो। भूकम्पको तरङ्ग काठमाडौँको बीच भागमा (कान्तिपथको तथ्यांक हेर्दा) यति सुस्त खालको आयो कि जुन अन्य ठूला भूकम्पभन्दा भिन्नै थियो। अनुसन्धानकर्ताहरुले सोचे भन्दा फरक थियो। यसको असर होचा संरचनामा खासै धेरै नपर्ने तर अग्ला संरचनाहरुमा बढी पर्ने थियो। जब नेपालमा ७.९ मोमेन्ट म्याग्निच्युडको भूकम्प गयो भन्ने थाहा पाएँ तत्कालै मैले मनमनै भनेको थिएँ मृत्युसंख्या १० हजारभन्दा माथि नकटिदिओस्। करिब-करिब त्यस्तै भयो। यति हुँदाहुँदै पनि अझै हामीले केही मृतकका संख्या घटाउन सक्थ्यौं, कहाँ भयो त हाम्रो कमजोरी? 
 

हामीले दिएको अपूरो शिक्षा

नेपाल भूकम्पीय जोखिममा थियो, हामीले यस्तो आँकलन पहिल्यै गरेका थियौं। त्यसैले त हाम्रा दाताहरुले यस्तै प्राकृतिक प्रकोपबाट सकेसम्म कम क्षति गराउन के गर्न सकिन्छ भन्ने बारेमा लगानी गरिदिए। हाम्रो देशमा गजबको कुरा कसले के शीर्षकमा कति डोनेसन ल्याए भन्ने खासै हिसाब हुँदैन। बिबिसीले  जनाएअनुसार बेलायतले मात्र पछिल्लो ४ वर्षमा करिब ३ अर्ब नेपाली रुपैयाँ भूकम्पीय सुरक्षा तयारी भनेर डिएफआइडीमार्फत् दिएको रहेछ। यसको प्रभावकारिता कति रह्यो भन्ने मूल्याङ्कन अब दाताकै देशबाट समेत हुन थालेको छ। 

के सिकायौं?

भूकम्पको धक्का महसूस हुनासाथ पहिले हामीले भन्यौं- आफ्नो वरिपरि रहेको सुरक्षित स्थानमा लुक्ने। टेबल, खाट या ढोकाको तल। त्यसरी बस्दा सकेसम्म निहुरिने, घुँडा टेक्ने अनि टाउको लुकाउने। यदि केही छैन वरिपरि भने भुइँमै भए पनि गुडुल्की परी टाउको लुकाउने। यसो भनेर हामीले पछिल्लो समय मन्त्रीलाई नै घुँडा टेकाएर कार्यक्रम गर्‍यौँ र यही सिकायौं। स्कूलहरुमा गयौँ। बालबालिकालाई यही सिकायौं। हामीले गाउँदेखि शहरसम्म एउटै कुरा फुक्यौँ, रेडियो टेलिभिजनहरुले यही कुरा सुनाइरहे, देखाइरहे। यसले गर्दा जब भुइँचालो आयो,  बाहिर पिंढीमै भए पनि घरभित्र छिर्यो र खाट या टेबुलमुनि लुक्यो।
 
के यो सही हो त? यो प्रश्न मेरो मनमा पहिलेदेखि थियो। सन् २०१२ र १३ मा म इन्डोनेसिया पुगेको थिएँ स्वयंसेवीको रुपमा। त्यहाँ हाम्रो मुख्य उद्देश्य थियो, ४-६ कक्षा पढ्ने विद्यार्थीहरुलाई भूकम्प र सुनामीबाट कसरी सुरक्षित रहने भन्ने बारे केही ज्ञान बाँड्ने। इन्डोनेसिया भूकम्प र सुनामीको निकै धेरै जोखिम भएको राष्ट्र हो। सन २००४ मा आएको भूकम्प र त्यसका कारण आएको सुनामीले करिब २ लाख ३० हजार मानिसको ज्यान लिएको थियो। त्यसपछि यस सम्बन्धी सुरक्षा चेतना जगाउन क्योटो विश्वविद्यालयका प्राध्यापक जुन्जी कियोनोको अग्रसरतामा प्रत्येक वर्ष यसै विश्वविद्यालय अध्ययन गर्ने जापानीसहित केही विदेशी स्वयंसेवीहरु इन्डोनेसियामा जाने गर्छन्।
 
त्यहाँ गएर हामीले के सिकाउने भन्ने कुरा जापानमै तय गरिन्छ र तयारीसमेत गरिन्छ। यसमा मुख्यतः दुई भाग छन् जसमा पहिलो भागमा भूकम्प र दोस्रो भागमा सुनामीबाट सुरक्षित कसरी हुन सकिन्छ भनेर सिकाइन्छ। तयारीका क्रममा नेपालमा सिकाउँदै आएको विधिबारे मैले प्रश्न गरेको थिएँ, आफू बसेको घरको मुख्य संरचना नै सुरक्षित छैन भने यसरी लुक भनेर उनीहरु सुरक्षित हुनसक्छन्? त्यसबेला केही छलफल भएपछि विधिमा केही सामान्य परिमार्जन गरियो।
 

कस्तोमा यो ठीक कस्तोमा बेठीक?

यो विशेष गरी विकसित देशहरुमा प्रयोगमा आउने विधि हो, जुन प्रभावकारी पनि छ। विकसित देशमा ठूलै भूकम्प आउँदा पनि घरहरु पूरै ढल्ने खालका हुँदैनन्, पार्टिसन वालहरु भत्कन सक्छन्, सिलिङ खस्न सक्छ, कोठामा राखिएका दराज, टेलिभिजन, सोकेसहरु पल्टन सक्छन् र लाग्न सक्छ। त्यसैले यस्तोबाट बच्न त्यहाँ यसो गर्ने गरिन्छ।
 
नेपालजस्ता विकासोन्मुख या अल्पविकसित देशहरुका भवनहरु जथाभावी निर्माण गरिएका हुन्छन्, सुरक्षित हुने गरी मापदण्ड अपनाएर बनाइएका हुँदैनन्। ग्रामीण क्षेत्रमा निकै कमजोर संरचनाहरु छन्। त्यस्ता संरचनाहरु भूकम्पको धक्काले पूर्णरुपमा क्षति हुने संभावना ज्यादा छ।
यो पनि हेर्नुस्

भूकम्प आएमा खाटमुनि लुक्नु कि नलुक्नु?

धादिङका जनताले भूकम्प आएमा खाटमुनि लुक्नु भन्ने रेडियो सन्देश रोक्नुपर्ने माग गरेको सभासद्ले संसदीय समितिमा बताए।  राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिको बैठकमा बोल्दै सभासद् टोपबहादुर रायमाझीले भूकम्पबाट बच्न के के गर्ने भन्नेबारेको सन्देश अपूरो र गलत सन्देश दिने खालको भएको बताए।  उपसमिति जिल्लामा जाँदा रेडियो सन्देश अनुसरण गर्दा बालबालिकाको ज्यान गएको पीडितहरुले सुनाएका थिए। भूकम्पले घर भत्किँदा खाटमुनि लुकेर बसेकाको ज्यान गएको उनीहरुको गुनासो थियो। विस्तृत पढ्नुस्
 
हाम्रै गाउँघरमा ढुंगामाटोले बनेका १-२ तले घरहरु धेरै छन्। यसपटकका भूकम्पको धक्काले केही निमेषमै ती भग्नावशेषमा परिणत भए। त्यस्ता ठाउँमा भूकम्प आउँदा खाटमुनि, टेबलमुनि लुक या जहाँ छौ त्यहीं गुडुल्की परी बस भनेर सिकाउँदा झनै जोखिम बढेन र? हो, कुनै अवस्थामा भाग्न खोज्दा माथिबाट झर्ने या पल्टने सामानका कारण पनि मृत्यु हुनसक्छ तर यस्तो जोखिमको बारे थाहा हुने अवस्था भएमा के गर्ने निर्णय गर्न सजिलो हुनेछ।
 
उदाहरणको लागि हेरौं अहिलेको चर्चित अपार्टमेन्ट होराइजन, जसको मुख्य संरचनागत क्षति कम छ, ढलेको छैन तर भित्र वालहरु धेरैजसो लडेका छन्, सामानहरु छरपस्ट भएको छ। यस्ता खालका संरचनाहरुमा हुँदासम्म हामीले सिकाएको विधि ठीक हो। तर हाम्रो गाउँघरमा ढुंगा माटोले बनेका संरचनाहरु भित्र या शहरी क्षेत्रमै पनि पूर्णरुपमा ढलेका संरचना भित्र यसो गर्दा के हामी सुरक्षित हुनसक्छौं त?
 
पक्कै पनि सक्दैनौं। हामीले हेर्नसक्छौं यस समयमा जीवितै उद्दार हुनेको संख्या तुलनात्मक रुपमा कम होइन र?
 
त्यसो भए के सिकाएको भए हुने थियो होला त? यसको उत्तर सजिलै भन्न सकिँदैन। यसको लागि हामीले केही गृहकार्य पहिले नै गरेको भए सायद केही हुने थियो कि? तर पनि सम्बन्धित क्षेत्रमा अब यसबारेमा अनुसन्धान र बहसको आवश्यकता छ। यसबाट हामीलाई त भविष्यमा हुनसक्ने विपद्बाट जोगिन सहयोग पुग्छ नै, सँगसँगै विश्वका अन्य भूकम्पीय जोखिम रहेका हामी जस्तै अल्पविकसित देशहरुलाई पनि सहयोग पुग्नेछ।

जोखिमको आंकलन गरौं र निर्णय गरौं भनेर सिकाउँदा कसो होला?

अब हाम्रो शिक्षामा कस्ता घर भूकम्पको बेला कसरी भत्कन सक्छन, भत्कने जोखिम कति हुन्छ भन्ने बुझाउने हुनुपर्छ। भूकम्प कत्रो आउँदैछ भन्ने शुरुमै थाहा नपाए पनि यदि उसले आफू रहेको स्थानको जोखिम मूल्याङ्कन गर्न जान्यो भने तत्कालै आफू भाग्ने या त्यहीँ सुरक्षित स्थानमा रहने भनेर निर्णय गरी सोहि अनुरुप आफूलाई परिचालन गर्नसक्छ भन्ने मेरो बुझाई हो।
 
कुनै पनि भूकम्पको धक्का आउँदा हामीले थाहा पाउने समयमै एकैचोटी संरचनाहरु ढल्ने होइनन्। त्यहाँ पनि केही सेकेन्डको समय हुन्छ। यदि नजिकै सुरक्षित स्थान छ भने भागेर त्यहाँ जानु सुरक्षित हुनसक्छ। तर यदि आफू भागेर सुरक्षित स्थान पुग्न धेरै समय लाग्ने छ भने नजिकैको टेबुल, खाट या कुनै सुरक्षित स्थानमा बस्नु राम्रो हुन्छ।
 
पहिले संरचनाहरुलाई मुख्य २ भागमा बाँडौः

१) बलियो घर (पिलर/वाल सिस्टमको भवनसंहिता मानेर बनाइएको भवन)
यदि बलियो घरभित्र छौं भने भागेर थप जोखिममा पार्नुहुँदैन त्यसैले नजिकैको सुरक्षित ठाउँ(टेबुल, खाटमुनि) बसौं।
 
२) तुलनात्मक कमजोर घर (पुरानो/ढुंगामाटो/ईट्टाले बनाईएको घर)
यदि हामी यस्तो घरको तल्लो तलामा छौं केही सेकेन्डमै बाहिर सुरक्षित ठाउँमा पुग्न सकिन्छ भने त्यसतर्फ लागिहालौं, यदि माथिल्ला तलाहरुमा छौं भने नजिकैको सुरक्षित स्थानमा बसौं।
 
संरचनालाई यसरी सिधा रुपमा बुझ्न सर्वसाधारणलाई गाह्रो हुन्छ भन्ने कुरा आउला तर हामीले यसलाई साधारण तरिकाले नै बुझाउन सक्छौं। केही समय त लाग्ला तर असम्भव होइन। सर्वसाधारणमा इन्जिनियरिङका केही सामान्य ज्ञानहरु पुग्न पनि यसले मद्दत गर्नेछ। यसो गर्दा एक त भूकम्प आउँदाको तयारीमा फाइदा पुग्छ भने अर्को आफ्नो घर बनाउँदा पनि सबैले बलियो बनाउन के गर्नुपर्छ भनेर बुझ्नेछन्।
 
जोखिम कम गर्न के गर्दा राम्रो होला भनेर अध्ययन अनुसन्धान हाम्रै आफ्नै परिवेशमा हुनु जरुरी छ। विकसित देशको कुरा सबै क्षेत्रमा सबै कुरामा हुबहु लागु गराउन खोज्नु सायद विज्ञानकै नियमको पनि विपरीत हुन्छ। समुदाय र संरचनासँग सम्बन्धित हुने कुराहरुमा न्युटनको बल सम्बन्धी नियमहरु सर्वब्यापी प्रयोग गरे जसरी प्रयोग गर्न नखोजौं, आफ्नो वस्तुस्थिति हेरेर आफू अनुकूल ढालौं।

(पराजुली जापानको क्योटो विश्वविद्यालयमा भूकम्प इन्जिनियरिङमा पिएचडी गर्दैछन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell