PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दोलखाका म्यादी प्रहरी आन्दोलित, प्रहरीको लाठी प्रहारबाट आठ घाइते



पहिलोपोस्ट

दोलखाका म्यादी प्रहरी आन्दोलित, प्रहरीको लाठी प्रहारबाट आठ घाइते
फाइल फोटो

चरिकोट :  म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन्। 

सरकारले खानामा म्यादीलाई पनि सिपहीसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले म्यादीलाई प्रहरीको सिपाहीसरह खानाको रकम नलिएर अत्याधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। 

सदरमुकाम चरिकोटमा आन्दोलित म्यादीमाथि प्रहरीले लाठी प्रहार गर्दा आठजना म्यादी प्रहरी घाइते भएका छन्। त्यस क्रममा म्यादी प्रहरी संगीता नेपाली गम्भीर घाइते भएकी म्यादी प्रहरी राजन बस्नेतले जानकारी दिए। अन्य सातजनाको अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जनाएको छ। 

घाइते संगीतालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। म्यादी प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको छ। 

खाना खुवाएवापत प्रहरी जवानबाट प्रतिछाक ६० रुपैयाँ काटे पनि जिप्रकाले म्यादीबाट भने ९५ प्रतिछाक पैसा काटिदिएपछि आन्दोलनमा उत्रनु परेको म्यादी प्रहरी नेत्रकुमारी घतानीले बताइन्। त्यसैगरी, महिला म्यादीमाथि दुव्र्यवहार गरिएको गुनासो पनि उनीहरुले गरेका छन्। 

जिप्रकाले सुरक्षामा खटाउन छाडेर पुरुष म्यादीलाई पर्खाल लगाउनेसहितका ज्यामी काम लगाएकोसमेत उनीहरुको आरोप छ। आफूहरु अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब ७५५ जना म्यादी बर्दीको कपडा नै लगाएर सडकमा उत्रेका छन्।

हाल जिल्ला प्रहरी कार्यालय दोलखाको कार्यकक्षमा म्यादी प्रहरीका १० जना प्रतिनिधि र प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीबीच वार्ता चलिरहेको छ। 

वार्ता निष्कर्षमा पुग्न सकेको छैन। प्रनाउ कार्कीले वार्ताबाट समस्या समाधान गर्ने बताउँदै जथाभावी आन्दोलन नगर्न म्यादीलाई आग्रह गरेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell