PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इपीएलको पहिलो दिनमा छाए भारतीय खेलाडी, यी हुन् ६ विशेषता



गोविन्दराज नेपाल

इपीएलको पहिलो दिनमा छाए भारतीय खेलाडी, यी हुन् ६ विशेषता

काठमाडौं : सोमबारदेखि कीर्तिपुरस्थित टीयू इन्टरनेशनल ग्राउण्डमा सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल)को पहिलो दिनै विदेशी खेलाडी हावी बनेका छन्।

उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्सले काठमाडौँ किंग्सलाई ७ विकेटले पराजित गर्दा दुई विदेशी खेलाडी चर्चामा रहे। दुवै खेलाडी भारतीय थिए। बलिङमा सुबोध भाटीले ४ विकेट लिए भने ब्याटिङमा जयकिसन अनिलकुमार कल्सवालाले नटआउट ४४ रनको योगदान गरे।

लो स्कोरिङ खेलमा ललितपुरले काठमाडौंले दिएको ९० रनको लक्ष्य १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै विजयी सुरुवात गरेको हो।


पहिलो दिन उपत्यकाका दुई टिम भिड्दा इपीएलमा रहेको विशेषता

महारुफको पहिलो छक्का

सम्भवत यस इपीएलमा सबैभन्दा ठूला स्टार खेलाडीका रुपमा श्रीलंकन खेलाडी फरविज महारुफ नै हुन्। उनी काठमाडौँ किंग्सका कप्तान हुन्। इपीएलमा कप्तानी गर्ने उनी एक्ला विदेशी खेलाडी समेत हुन्। र इपीएलको पहिलो छक्का उनैको ब्याटबाट निस्क्यो। उनले ललितपुरका सुबोध भाटीको बलर स्ट्रेट छक्का प्रहार गरे। जुन काठमाडौँको इनिङ्समा सामेल एक मात्र छक्का थियो।

महारुफ र भाटी दुवै आइपीएलमा दिल्ली डेयर डेभिल्सबाट खेलिसकेका छन्।

 

भाटीको ४ विकेट

महारुफले छक्का प्रहार गरेपनि भाटी एक्लैले ४ विकेट लिएपछि ललितपुरले काठमाडौंलाई १८.३ ओभरमा ८९ रनमै अलआउट गर्‍यो। खेलको पहिलो विकेट नै भाटीले लिए। उनले काठमाडौंका ओपनर सागर पुनलाई विकेटकिपर कोल्सावालद्वारा क्याचआउट गराए।

यस्तै भाटीले अक्षु फर्नान्डो, सोमपाल कामी र जितेन्द्र मुखियाको विकेट लिए। भाटी जारी इपीएलमा ४ विकेट लिने पहिलो खेलाडी समेत बने।

भाटीले ३-३ ओभर बलिङ गर्दै १७ रन खर्चेर ४ विकेट लिएका हुन्।

 

विदेशी खेलाडीको वर्चस्व

सबैभन्दा चर्चामा रहेका महारुफले एक छक्कासहित ७ रन मात्र बनाउन सके। उनले कप्तानको रुपमा पनि खेलाडीलाई सहि डिरेक्सन गर्न सकेनन्। तर ललितपुरबाट खेलेका तिन वटै विदेशी खेलाडीले राम्रो प्रदर्शन गरे। भाटीले सर्वाधिक ४ विकेट लिदा अर्का भारतिय खेलाडी कोल्सावाले नटआउट ४४ रन बनाए। विकेटकिपर समेत रहेका उनले ३ क्याचआउट समेत गराए।

यस्तै आइपीएल खेलिसकेका अलराउण्डर योगेश नगारले १ विकेट लिए। ब्याटिङमा भने योगेश २ रन बनाएर बउट भए।

यता काठमाडौंका लागि श्रीलंकन खेलाडी फर्नान्डोले सर्वाधिक २ विकेट लिए।

 

आलमले लिए महारुफको विकेट

काठमाडौंका कप्तान तथा स्टार खेलाडी महारुफको विकेट नेपालका भेट्रान अलराउण्डर मेहबुब आलमले लिए। चौथो नम्वरमा ब्याटिङ गरेका अलराउण्डर महारुफलाई आलमले पवन सराफबाट क्याचआउट गराएका हुन्। यस्तै आलमले नरेश बुढाएरलाई शुन्यमै पवेलियन फर्काएका थिए।
 

सूर्य जस्तो ललितपुरको झण्डा

ललितपुरको जर्सी अनभेइल प्रोग्राममा मालिक किशोर महर्जनले जर्सी कलरलाई उदाउँदो सूर्यसँग तुलना गर्दै ललितपुरे टिम सूर्य जस्तै उदाउने बताएका थिए। उनको भनाई अनुसार ललितपुरले जितबाट इपीएलको सुरुवात समेत गरेको छ। जर्सी मात्र नभएर ललितपुरको झण्डमा रहेको लोगोल पनि सूर्य जस्तै देखिन्छ। टीयू मैदानमा समर्थकले फहराएका ललितपुरको झण्डा एमाले पार्टीको सूर्य अंकित झण्डाजस्तै देखियो। धेरैले त्यसलाई एमालेकै झण्डा पो हो कि भन्ने ठाने।

 

निरश चियरलिडर

प्रतियोगिताअघि आयोजकले इपीएलमा चियरलिडरको विशेष आकार्षण हुने जनाएको थियो। छिमेकी भारतमा आइपीएल हुँदा मैदानमा प्रतिस्पर्धा गर्ने दुवै टिमको चियरलिडरले दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको छ। तर टीयू मैदानमा देखिएको नेपाली चियरलिडरले भने दर्शकलाई खासै मोहित पार्न सकेनन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell