PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

९० लाख नगदसहित नक्कली लुटपाटका योजनाकार पक्राउ



पहिलोपोस्ट

९० लाख नगदसहित नक्कली लुटपाटका योजनाकार पक्राउ

इलाम :  इलाममा बेवारिसे हतियार फेला परेको केही दिन बित्न नपाउँदै सोही घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ का ३२ वर्षीय राजबहादुर तामाङ, फिदिम नगरपालिका–१० का ३३ वर्षीय भयप्रसाद विक, पाँचथर फालेलुङ गाउँपालिका–८ का ५४ वर्षीय महेन्द्रकुमार दर्जी, फाल्गुनन्द गाउँपालिका–४ का ४४ वर्षीय रुद्रकुमार नेम्वाङ र फाल्गुनन्द गाउँपालिका–६ का ६० वर्षीय योगेन्द्रप्रसाद आङ्दम्बे छन्। 

जिल्ला प्रहरी कार्यालय, इलामले आइतबार पत्रकारसम्मेलन गरी घटना सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुका साथबाट ९० लाख १० हजार रकमसमेत बरामद गरिएको इलामका प्रहरी प्रमुख विपिन कर्माचार्यले जानकारी दिए। 

सोही घटनामा संलग्न विर्तामोडका योगेश राईलाई पनि जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

मंसिर २५ गते राति इलामको तिल्केनीमा भएको लुटपाटको घटना सार्वजनिक भएको थियो। प्रहरी अनुसन्धानबाट उक्त लुटपाट भनिएको घटना नक्कली भएको खुल्न आएको छ। लुटपाटका योजनाकार राजबहादुरले योजनाबद्ध तरिकाले सो घटना घटाएको पनि अनुसन्धानमा खुलेको बताइएको छ । 

योजनाकार तामाङले प्रहरीसमक्ष आफूसँग बहुमूल्य रत्न छ भनी पाँचथरका राजेन्द्र रिजाल, तारा भट्टराई र डिल्ली ढुंगानालाई रत्नको मूल्य धेरै पर्ने तर तपाईंलाई सस्तोमा दिने भन्दै नगद दुई करोड ५७ लाख ५८ हजार र ६० लाख मूल्य पर्ने जग्गा ठगेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको थियो। सो रकम लुटिएको देखाउनलाई सो घटनाको योजना गरेको पनि खुल्न आएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell