PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फुटले दुवै राप्रपाको 'चुनावी पतन', चौथो ठूलो दल राष्ट्रिय पार्टी बन्न सकेन



पहिलोपोस्ट

फुटले दुवै राप्रपाको 'चुनावी पतन', चौथो ठूलो दल राष्ट्रिय पार्टी बन्न सकेन
तस्बिर: फाइल

काठमाडौँः दोस्रो संविधानसभामा समानुपातिकतर्फ २५ सिट प्राप्त गरेको (राप्रपा नेपाल अहिले राप्रपा) राप्रपा योपटक राष्ट्रिय दल समेत बन्न सकेन।

हिन्दु धर्मको एजेण्डा बोकेर संविधानसभामा उल्लेख्य उपस्थिति बनाएको राप्रपाले संविधान जारी गर्दा एजेण्डामा फरक मत राखे पनि फरक मतले जनमत जोगिन नसकेको चुनावी परिणामले देखाउँछ। समानुपातिकमा एक सिट पनि हासिल गर्न नसकेको राप्रपाले प्रत्यक्षमा भने एक स्थान हासिल गरेको छ।

संविधानसभामा÷रुपान्तरित संसद्मा चौथो ठूलो शक्ति बनेको राप्रपा योपटक स्वतन्त्रको हैसियतमा एक सिटमा सीमित भएको छ।

कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शमशेर राणा नेतृत्वका राप्रपाबीच एकीकरण भएर थप शक्तिशाली आँकलन गरिएको थापाको राप्रपा एकीकरणको लामो समयसम्म टिक्न सकेन। फलतः फुटकै कारण दुवै राप्रपा राष्ट्रिय दलको मान्यता पाउनबाट चुके।

एकीकरण भएर एक भएको पार्टी अहिले तीन टुक्रा भएका छन्। तीन फरक फरक पार्टीको नेतृत्व कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले गरेका छन्।

समानुपातिकतर्फको मतपरिणाममा राप्रपाले झण्डै दुई लाख मत पाएको छ। राप्रपाले एक लाख ९६ हजार १९० मत पाएको छ। राप्रपासँग अलग भएको राणाको राप्रपा (प्रजातान्त्रिक)ले ८८ हजार २८० मत पाएको छ। दुवै दलको मत जोड्दा दुई लाख ८४ हजार ४७० मत हुन्छ। पार्टी एक भएर चुनावमा गएको अवस्थामा राप्रपाले न्युनतम थ्रेसहोल्ड पार गर्न सक्ने अवस्था देखिन्छ।

तर, फुटकै कारण राप्रपा राष्ट्रिय दल हुनबाट बञ्चित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell