PahiloPost

Jan 18, 2018 | ४ माघ २०७४

एमएको सर्टिफिकेट थन्क्याएर जुस व्यापार!, महिनाको कमाइ एक लाख


सागर बुढाथोकी/पहिलोपोस्ट

एमएको सर्टिफिकेट थन्क्याएर जुस व्यापार!, महिनाको कमाइ एक लाख
काठमाडौं :  नेपालमा सबैभन्दा धेरै कमाउनेहरुले तलब कति थाप्छन्? 

‘एक लाखभन्दा बढी।’

यति धेरै तलब लिनेहरु कति होलान्? 

‘अत्यन्तै कम।’

ठूलो लगानी गरेर व्यापार गर्नेहरुको कमाई त धेरै हुन्छ नै। तर, हजार लगानी गरेर लाखौँ कमाउनेहरु भने थोरै छन्। त्यसमाथि दिनको तीनघण्टामात्र काम गरेर।

लमजुङका सुरेन्द्र तिमल्सिना हजार लगानी गरेर लाख कमाउने मध्येका एक हुन्। उनी मास्टर्स पास गरेको सर्टिफिकेट घरमा थन्क्याएर घ्युकुमारीको जुस बेचिरहेका छन्।

कोटेश्वर चोकबाट करिब १० मिनेट पश्चिमतिर हिँडिसकेपछि महादेवस्थान मन्दिर आउँछ। महादेवस्थान मन्दिरको प्राङगणमा केही पुरोहितहरु बसेर ग्रह शान्ति पूजा गरिरहेका हुन्छन्। फूल व्यवसाय यहाँ वर्षौदेखि चलिरहेकै छ।

तर, २ वर्षदेखि यस ठाउँको दृश्य फेरिएको छ। 

घ्युकुमारी जुस बेच्न बसेका छन्, सुरेन्द्र। बिहानको समयमा जुस खान त्यहाँ भिड नै लाग्छ। उनले घ्युकुमारी जुस बेच्न सुरु गरेदेखि अहिले त्यहाँ जमराको जुस,ग्रीन टी र दिव्य रस स्वास्थ्यलाई फाइदा हुने भन्दै बेच्नेहरु थपिएका छन्। 

तर, सुरेन्द्रको घ्युकुमारीको जस्तो क्रेज अरुको छैन। घ्युकुमारी जुस पिउन लाइनमा हुन्छन भने अरुमा फाट्टफुट्ट।

विद्यार्थीका प्रिय ‘एलोभेरा दाइ’

मन्दिर नजिकै छ कोटेश्वर बहुमुखि क्याम्पस। क्याम्पसका शिक्षक र विद्यार्थीहरु पनि उनका ग्राहक हुन्। क्याम्पसका विद्यार्थी 'फ्रि टाइम'मा त्यहाँ झुम्मिन्छन्। जुस पिउँछन् र ‘एलोभेरा दाइ’ भन्दै बिदा हुन्छन्। कलेजका विद्यार्थीका उनी प्रिय ‘एलोभेरा दाइ’ भइसकेका छन्।

सुरेन्द्रले महादेवस्थान मन्दिरको दृश्यमात्र फेरेका छैनन्। आफ्नो जीवनको दृश्य नै फेरेका छन्। कुनै समय जागिर खान भौतारिएका उनी अहिले घ्युकुमारीको जुस बेचेर मासिक एक लाख भन्दा बढी कमाउँछन्।

बिहान ४ नबज्दै महादेवस्थान मन्दिर परिसरमा चहलपहल सुरु भइसक्छ। मन्दिरमा पूजा गर्न आउनेदेखि शारीरिक व्यायाम गर्नेहरु घ्युकुमारी जुसका स्थायी ग्राहक हुन्। स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक भएकाले घ्युकमारी जुसको व्यापार बढ्दो छ।

सुरेन्द्र बिहान पाँच बजे महादेवस्थान पुग्छन्। घ्युकुमारीको पात, मिक्सर, पानी र सानो प्लाष्टिकको टेबुल राखेर घ्युकुमारी बेच्न सुरु गर्छन्। साढे आठ बजे घर फर्कन्छन्। दुई वर्षदेखि उनको दैनिकी यसरी नै बितेको छ।  

समाजशास्त्रका विद्यार्थी उनले मास्टर्स सकेर थेसिस बुझाइसकेका छन्।

जागिर नपाएपछि व्यापार

मास्टर्सको परीक्षा सकेपछि सुरेन्द्र दोधारमा थिए। के गर्ने कसो गर्ने भेउ पाएका थिएनन्। जागिर खान धेरै ठाउँमा वैयक्ति विवरण बुझाए पनि। धेरै ठाँउमा भौतारिए। तर, भनेजस्तो जागिर कतै पाएनन्। कतै काम गरेको अनुभव खोज्थ्यो। कतै तलब र सेवा सुविधामा चित्त बुझ्दैन थियो। थोरै तलब दिने शर्तमा उपत्यका बाहिर काम नपाएका होइनन्। उनलाई कतै चित्त बुझेन। जागिर खाने इच्छा त्यागिदिए।

सुरेन्द्र काम नगरी त्यतिकै बसिरहेका थिए। उनका दाजु भोजेन्द्रले सोधे, ‘के जागिर भनेर दौडिरहन्छस्। मेरो जस्तै काम गर। आफ्नै बारीको घ्युकुमारी उपयोग हुन्छ। पैसा कमाउँछस्। महिनाभरि काम गर्दा हप्तादिन पुग्ने तलब आउँदैन जागिर भनेर व्यर्थै समय खेर नफाल्।’

सुरेन्द्र अलमलमा परे। ‘मास्टर्स गरेको मान्छे कसरी बाटोमा बसेर जुस बेच्नु?’ उनको अन्तरमनले यस्तै भनिरह्यो। तर, काठमाडौंमा बाँच्न पैसाको जरुरत भएकाले केही नगरी बस्न सम्भव थिएन।

उनी अर्को दिन बिहानै दाइसँगै उठे। घ्युकुमारीको पातहरु तयार गरे। दाजु नियमित झै युएन पार्कतिर लागे। उनी भने कोटेश्वर महादेवस्थान मन्दिरतिर।

सुरुवातका दिनहरु सम्झिँदै उनी भन्छन्, ‘सुरुमा लाज लाग्थ्यो। कोही चिनेकाले देख्लान् कि भन्ने हुन्थ्यो। तर, अहिले यसैमा रमाएको छु। खुशी छु। मेहनत अनुसार पैसा छ।’

दाइको सङ्घर्षमा भाइको सहयोग

उनको दाइ भोजेन्द्रले घ्युकुमारीको जुस बेच्न थालेको लामो समय भएको छ। दाइले घ्युकुमारी जुस बेचेर नै मासिक २ लाख भन्दा बढी कमाइ गर्ने गरेको सुरेन्द्र बताउँछन्।

‘वैद्यले हरेक झारपातमा ओखती देख्छ। मुर्तिकारले हरेक ढुङगामा मुर्ति देख्छ,’ सुरेन्द्रले मुस्कुराउँदै भने, ‘दाइले घ्युकुमारीमा सर्वश्व देख्नुभयो। मैले समस्यामा अवसर देखेँ। चित्तबुझ्दो जागिर पाएको भए म यहाँ हुन्नथेँ होला। अब त यो काम छोड्दिन्।’

सुरेन्द्रको दाइ भोजेन्द्र वैदेशिक रोजगारको लागि कतारमा थिए। विदेशबाट फर्केपछि गाउँमै घ्युकुमारी खेती गर्न थाले। २ लाख लगानी गरेर आप्नै जग्गामा घ्युकुमारी खेती सुरु भयो।

घ्युकुमारी टिप्न सात महिना कुर्नुपर्थ्यो। त्यो समयमा अर्कै व्यवसाय गरे। तर, सफल भएनन्। त्यसपछि भोजेन्द्रको घ्युकुमारीको जुस बेच्ने काम सुरु भयो।

सुरेन्द्र भन्छन, ‘दाइले घ्युकुमारीमा लगानी गरेपछि धेरै दु:ख पाउनुभयो। घ्युकुमारी खेती गर्ने बेलामा विरुवा दिने कम्पनीले घ्युकुमारी लिने भनेको थियो। पछि कम्पनी फरार भयो। मुद्धा मामला पर्यो। अनि दाई आफैले दिमाग लगाएर जुस बेच्न थाल्नु भएको हो।’

अहिले त उनी आफै पनि दाइको काममा सहयोग गर्छन्। आफ्नै गाउँमा फलेको घ्युकुमारीको उपयोग गर्छन्। उनीहरुले रोजगार पाएका छन्। काठमाडौँबासीले स्वास्थ्य। भन्छन्, ‘दाइले दु:खले सुरुवात गरेको काम मैले पनि गरेको हो। दाइ नै मेरो गुरु हो।’



हजार लगानी लाख अम्दानी

मासिक १ लाख आम्दानी गर्न धेरै ठूलो लगानी लगाउनुपरेको छैन।

उनीसँग ग्राइन्ड मिक्स्चर, २० किलोग्राम तौलको पोर्टेबल जेनेरेटर, प्लास्टिकको टेबल, २० लिटर पानीसहितको जार, जग, चपिङ बोर्ड, चक्कु, झन्डै दुई सय प्लास्टिकका गिलास र बीरे नुन हुन्छ।

घ्युकुमारीको पात भएपछि यति सामानले जुस तयार हुन्छ। जुस तीतो हुने भएकाले बिरेनुन चाहिन्छ।

दैनिक कम्तिमा सय गिलासभन्दा बढी जुस बेच्ने उनी एक गिलास जुसको २० रुपैया लिन्छन्।

यति सामानको लागि मासिक ३० हजार खर्च गर्यो भने पर्याप्त हुन्छ। आफ्नो परिवारको सबै खर्च पुर्याएर मासिक १ लाख बचाउँछ उनी। 

‘बिहानको ३ घण्टा काम गर्दा पुग्छ। दिनभरि अरु काम नहुनाले घरमा बस्दा दिक्क लागेकाले जागिर खान्छु। अरु काम छोडे पनि जुस बेच्न चाहिँ छोड्दिन,’ भन्छन्, ‘पढेलेखेको मानिसहरु सबैले जागिर खानुपर्छ भन्ने छैन्। विदेश नै जानु पर्दैन। पढेको मानिसले यस्तो काम गर्दा सर्टिफिकेटमा योग्यता पनि घट्दैन्।’ 

नाइटबसमा ल्याइन्छ घ्युकुमारी

लमजुङबाट नाइटबसमा दैनिक घ्युकुमारी काठमाडौँ आइपुग्छ। जुस धेरै तितो नहोस भनेर राति पानीमा डुबाउँछन्। टिपेको २४ घण्टाभन्दा बढी भएको पात काम नलाग्ने हुनाले प्रयोग नगर्ने उनी बताउँछन्।

अहिले उनका दाजुभाइ मिलेर मुलपानीमा तीन रोपनी जग्गा भाडामा लिएका छन्। त्यसमा घ्युकुमारीको बिरूवा रोपिसकेका छन्। उत्पादन हुन सात महिनाभन्दा बढी लाग्ने हुनाले अहिले लमजुङकै घ्युकुमारीको जुस बेचिरहेका छन्।

चिकित्सक भन्छन्, ‘मिलाएर खाँदा फाइदैफाइदा’

घ्युकुमारीको जुस खाने ग्राहकहरु सबै उमेर समूहका छन्। विशेषगरी ४० भन्दामाथि उमेर  समूहका उनका नियमित ग्राहक। एक वर्षदेखि नियमित जुस खाइरहेका कोटेश्वरका हरि दाहाल भन्छन्, ‘मेरो प्रेसर अहिले जुस खाएर ठीक भएको छ। अन्य रोगहरुलाई पनि यसले ठीक गर्छ।’

मधुमेह, उच्च रक्तचाप, दम रोगीहरुलाई विशेषगरी घ्युकुमारीको जुसले फाइदा गर्ने नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ यादव देव भट्ट बताउँछन्। स्वस्थ मानिसहरुले खाँदा पनि फाइदा नै हुने उनको तर्क छ।



चिकित्सकका अनुसार घ्युकुमारीमा रोगसँग लड्न क्षमता बढाउने तत्व हुन्छ। यसले चिनीको मात्रा सन्तुलनमा राख्न सघाउँछ। भिटामिन र खनिजको मात्रा बढाउने भएकाले यसको सेवनले कोलस्ट्रोल बढ्न दिँदैन। त्यतिमात्रै होइन, घ्युकुमारी सेवनले क्यान्सर ट्युमर बढ्न दिँदैन। 

सुरेन्द्र ग्राहकको स्वास्थ्यप्रति सचेत रहेको बताउँछन्। 

‘एक गिलास जुस बनाउन ३० ग्राम घ्युकुमारी राख्नुपर्छ। मात्रा मिलाएर दिन सकिएन भने ग्राहकको स्वास्थ्यमा असर पर्छ,’ उनले भने, ‘डाइलासिस गर्दै आएका मृगौला रोगी, निमोनिया, गर्भवतीले खान हुँदैन। युरिक एसिड भएकाले तातोपानीमा मिसाएर खानुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal