PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

समानुपातिक मतगणना अन्तिम चरणमा, पाँच दललाई मात्र ११० सिट बाँडफाँट हुने संकेत



समानुपातिक मतगणना अन्तिम चरणमा, पाँच दललाई मात्र ११० सिट बाँडफाँट हुने संकेत

काठमाडौँ : समानुपातिकतर्फको प्रतिनिधि सभा र प्रदेश सभा दुवैको मतगणना अन्तिम चरणमा पुगेको छ। बिहीबार बिहान १० बजेसम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेकोमा प्रतिनिधि सभाको समानुपातिकतर्फ ७६ लाख ८६ हजार ७३३ मतगणना भइसक्दा ११० सिट पाँच दलले मात्रै पाउने संकेत देखिएको छ।

यस पटक कूल सदर मतको तीन प्रतिशत मत नपाउने दलले समानुपातिकमा सिट नपाउने व्यवस्था ऐनले गरेको हुनाले धेरै मत ल्याउने दलले मात्रै सिट पाउने भएका हुन्। 

हालसम्मको गणनामा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउने दलहरुमा प्रमुख तीन दलहरु एमाले, कांग्रेस र माओवादीसँगै दुई मधेसवादी दलहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल देखिएको छ।

तीन प्रतिशत मत पुर्‍याउन राप्रपा र विवेकशील साझा पनि संघर्षरत छ। 

बिहीबार बिहानसम्मको मतगणनामा अझै पनि एमालेको अग्रता कायमै छ। कांग्रेस दोस्रो स्थानमा छ। यही अन्तिम परिणाम भएको भए एमालेले समानुपातिकबाट ४२ सिट पाउँथ्यो भने कांग्रेसले ४० सिट पाउँथ्यो। 

माओवादी तेस्रो स्थानमा छ तर उसको मत अनुपात दुई ठूला दलको भन्दा निकै कम छ। माओवादीले यही अन्तिम परिणाम भएको भए १७ सिट पाउँथ्यो। फोरमले ६ र  राजपाले ५ सिट पाउँथ्यो। थप मतगणनासँगै पाएको मतका आधारमा यो सिट संख्या हेरफेर हुनेछ। अरु कुनै दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाए ठूला दलले पाउने सिटको संख्या कम हुँदै जानेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell