PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

देउवा बन्लान् संसदीय दलको नेता? प्रत्यक्ष निर्वाचनको परिणामले देखाउँछ- 'निकै कठिन छ'



नेत्र तामाङ

देउवा बन्लान् संसदीय दलको नेता? प्रत्यक्ष निर्वाचनको परिणामले देखाउँछ- 'निकै कठिन छ'

काठमाडौं: प्रतिनिधिसभामा नेपाली कांग्रेस दोस्रो दल बन्ने निश्चित भएको छ। दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षमा १०५ सिट जितेको कांग्रेस यसपटक २३ सिटमा खुम्चिएको छ। प्रत्यक्षमा कम सिट ल्याए पनि समानुपातिकमा ४० भन्दा बढी सिट पाएर कांग्रेस दोस्रो दल भने बन्दैछ।

यसपटक पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, नेता गगन थापाले जित हासिल गरे भने रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइरालाले प्रतिनिधिसभा स्थान सुरक्षित गर्न सकेनन्।

निर्वाचन सकिएलगत्तै पराजय भोगेका नेताहरुले पार्टीले चाँडोभन्दा चाँडो समीक्षा बैठक राख्नुपर्ने र केन्द्रीय समितिको बैठक तुरुन्त डाक्नु पर्नेदेखि विशेष महाधिवेशन राखेर नेतृत्व परिवर्तन गर्नु पर्नेसम्मका मागहरु राखेका छन्।

तत्काल पार्टीको नेतृत्व परिवर्तनका विषयमा देउवाले सुनुवाइ गर्ने देखिँदैन। पार्टीको नेतृत्व परिवर्तन नभए पनि संसदीय दलको नेता बन्न निर्वाचित नेताहरुको भर पर्नु आवश्यक देखिन्छ। निर्वाचितहरुको अनुहार हेर्ने हो भने संसदीय दलको नेता बन्न  देउवालाई निकै सकस पर्ने देखिन्छ। किनकि धेरै जसो निर्वाचित अनुहार देउवाका 'एन्टी' छन्।

 

देउवा पक्षका को-को निर्वाचित?

यसपटक देउवा पक्षबाट धेरैले टिकट पाएका थिए। यद्यपि निर्वाचनबाट देउवा आफैंसहित सात जनामात्र निर्वाचित भए। निर्वाचित भएकामा  ज्ञानेन्द्रबहादुर कार्की, प्रदीप गिरि, मोहन आचार्य, भरतकुमार साह, प्रमोद यादव, देवेन्द्रराज कँडेलमात्र देउवा पक्षका हुन्। गिरि आफैं भने नेतृत्व नयाँ पुस्तालाई दिनुपर्छ भनी आवाज उठाउने मध्येमा पर्छन्।

 

पौडेल पक्षका कोको निर्वाचित?

वरिष्ठ नेता रामचन्द्र पौडेलले हार व्यहोरे। तर, निर्वाचनमा भने पौडेल पक्षका उम्मेदवारहरु धेरैको जित भयो। पौडेल पक्षमा प्रकाशमान सिंहसहित ११ जना निर्वाचित भएका छन्।

महामन्त्री डा शशांक कोइराला, डा. मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, देवप्रसाद तिमल्सिना,  मोहम्मद अफताव आलम, अभिशेकप्रताप शाह, सञ्जयकुमार गौतम, सीताराम मेहता र डा. नारायण खड्का पौडेल पक्षका हुन्। त्यसैगरी प्रकाशमान सिंह र राजन केसी पनि पौडेल पक्षकै सपोर्टर हुन्। कोइराला पक्ष र प्रकाशमानको लाइनका सबै पौडेलको लाइनमा छन्। प्रत्यक्षमा निर्वाचित अनुहार पौडेल पक्षकै देखिन्छ।

 

सिटौला पक्षबाट को-को?

कृष्णप्रसाद सिटौला पक्षबाट गगन थापा, भीमसेनदास प्रधान, उमाकान्त चौधरी निर्वाचित भएका छन्। सिटौला आफै भने निर्वाचित हुन सकेनन्। सिटौला पक्षले देउवालाई सहयोग नगरे संसदीय दलमा पौडेल हावी हुने देखिन्छ।

 

अनिर्णित सांसद्

यसपटक निर्वाचितमध्ये अमरेशकुमार सिंहलाई 'डबल स्ट्यान्ड' लिने सांसदका रुपमा चिनिन्छन्। सिंह दुबै पक्षसँग खेल्न सक्ने कांग्रेसका नेताहरु बताउँछन्।

यता भर्खरै नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदारको लाइन खुलेको छैन। कोइराला पक्षको पक्षपातपछि बाहिरिएका गच्छदार देउवा नेतृत्वमा रहँदा कांग्रेसमा पुनरागमन गरेकाले देउवाकै लाइनमा जाने देखिन्छ। यद्यपि कांग्रेसमा सेकेन्डम्यानको अभाव रहेकोले पौडेलको लाइनमा लागेर नेतृत्व लिनसक्ने सम्भावना पनि रहेको छ।

यसरी हेर्दा देउवालाई संसदीय दलको नेता बन्ने बाटो निकै अप्ठेरो देखिन्छ। गच्छदारलाई पौडेल पक्षले आफ्नो पक्षमा समेटेर संसदीय दलको नेता छानेमा देउवा पन्छिने निश्चित देखिन्छ।

तर, पार्टी सभापति देउवा भने समानुपातिक नतिजा कुरिरहेका छन् र अधिकांश समानुपातिक सिटमा आफ्नै पक्षकालाई चयन गर्ने तयारीमा छन्।
 

देउवा समूह

शेरबहादुर देउवा डडेलधुरा

ज्ञानेन्द्र कार्की सुनसरी ४

मोहन आचार्य रसुवा

भरतकुमार शाह रुपेन्देही ५

प्रमोद यादव रुपेन्देही ४

प्रदीप गिरी सिराहा १

देवेन्द्रराज कँडेल नवलपरासी पश्चिम २


पौडेल समूह

शशांक कोइराला नवलपरासी पूर्व १

मीनेन्द्र रिजाल मोरङ २

तेजुलाल चौधरी सप्तरी ४

देवप्रसाद तिमल्सिना रौतहट ४

 मोहमद अफताम आलम रौतहट २

अभिशेक प्रताप शाह कपिलवस्तु ३

सञ्जयकुमार गौतम बार्दिया १

सीताराम मेहता सुनसरी २

डा नारायण खड्का उदयपुर १


सिटौला समूह

गगन थापा काठमाडौं ४

भीमसेनदास प्रधान काठमाडौं ६

उमाकान्त चौधरी बारा १


प्रकाशमान समूह

 प्रकाशमान सिंह काठमाडौं १

राजन केसी काठमाडौं १०



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell