PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महेश आचार्य भन्छन्– सत्ताको चलखेलमा कांग्रेस लाग्नु हुँदैन, प्रतिपक्षमै बस्नुपर्छ, अन्तर्घातीलाई पार्टीबाट निकाल्नुपर्छ



अनन्तराज न्यौपाने

महेश आचार्य भन्छन्– सत्ताको चलखेलमा कांग्रेस लाग्नु हुँदैन, प्रतिपक्षमै बस्नुपर्छ, अन्तर्घातीलाई पार्टीबाट निकाल्नुपर्छ
फाइल फोटो : रासस

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले अबको प्रतिनिधि सभामा कांग्रेसले सत्ताप्राप्तिका लागि चलखेल नगरेर जिम्मेवार र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने धारणा प्रकट गरेका छन्।

कांग्रेसले अबको प्रतिनिधि सभामा पनि सत्ताका लागि चलखेलको बाटो अपनायो भने पार्टी अझ क्षयीकरणको दिशामा जाने उल्लेख गर्दै नेता आचार्यले जिम्मेवार र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।

भर्खरै सम्पन्न आमचुनावमा उनलाई मोरङको क्षेत्र नम्बर ४ बाट वाम गठबन्धनका तर्फबाट उठेका माओवादी केन्द्रका अमनलाल मोदीले पराजित गरेका हुन्।

कांग्रेसभित्र तर्कशील र बौद्धिक वार्ता गर्न सक्ने नेताका रूपमा चिनिने आचार्यलाई पार्टीले अन्य समूह र दल प्रतिनिधिसित  वार्ता गर्नुपर्दा टोलीको एक सदस्य बनाउने गर्छ ।

‘सधैँ टुट र फुटको इतिहास भएका वामपन्थीको गठबन्धन बहुमतमा आएको अवस्था छ’, पहिलोपोस्टलाई आचार्यले भने, ‘नेपालजस्तो धेरै प्रकारको चलखेल हुने मुलुकका वामपन्थीको चरित्र र क्रियाकलापका बारेमा ठोकुवा गर्न सकिन्न। सत्तामा जाऊँ, हामी सहयोग गर्छौं भनेर एउटा समूह आउन पनि सक्छ। यस्तो भयो भने नेपाली कांग्रेस लोभिनु हुँदैन। प्रतिपक्षमै बस्नु पर्छ।’

प्रतिपक्षको चरित्र जुझारु तथा विवेकशील हुने अनि सत्ताले गरेका राम्रा कामको समर्थन र गलत कार्यको रचनात्मक विरोध गर्नु हो भन्ने उनको विचार थियो।

कारण हारको

नेता आचार्यका अनुसार कांग्रेसको देशव्यापी पराजय हुनुमा वाम गठबन्ठनको ‘रहस्यमय निर्माण’, कांग्रेसभित्रको साङ्गठनिक संरचना, नीति, नेतृत्व अनि निर्णय प्रक्रियाको कमजोरी र अनावश्यक रूपमा फैलाइएको जातीय भावना नै मुख्य कारण हुन्।

‘एक/डेढ वर्षयता कांग्रेस नेतृत्वले गरेका निर्णयबाट जनता उदासीन भए, सुशासनको अनुभूति भएन’, उनले भने, ‘पार्टीभित्रको आन्तरिक असन्तोष पनि प्रकट रूपमा आयो र अन्ततः मत परिणामलाई नै प्रभाव पार्‍यो।’

आचार्यले समग्रमा पार्टीको गति परिचालित हुन नसकेको र पार्टी समर्थकको एउटा ठूलो जमात चुनाव प्रचारबाट निरपेक्ष रहेको अनुभव व्यक्त गरे।

‘पछाडिबाट छुरा हान्नु पाप हो, आफ्नै साथीहरूले यसो गर्नुभयो’ उनको आग्रह थियो, ‘वामपन्थीहरू एक भएर आएको अहिलेको चुनावमा यस्तो घात गर्ने कार्यकर्तालाई पार्टीले छुट दिनु हुँदैन। यस्ता घाती कार्यकर्ता अब कहिल्यै कांग्रेसको अनुशासन र मर्यादामा बस्न सक्तैनन्। उनीहरूलाई पार्टीले विदा गर्नैपर्छ।’

आफूले बुथ समिति र क्षेत्रीय समितिलाई पनि चुनावमा असहयोग गर्ने क्रियाशील सदस्यको नामावली निर्भयताका साथ पेश गर्न आग्रह गरेको उनले सुनाए । 

पार्टीको व्यापक पराजयको जिम्मेवारी नेतृत्वमा रहेका सबैले लिनुपर्ने उनको भनाइ थियो ।

अबको दिशा कस्तो ? 

कांग्रेसले आफ्नो सङ्गठनको संरचनामा आमूल परिवर्तन गर्नुपर्ने आचार्यले बताए।

‘नयाँ संरचनाअनुसार अब कांग्रेसमा सङ्गठनको जिम्मा नयाँ पुस्तालाई दिनुपर्छ’, नेता महेशको कथन थियो, ‘पार्टीमा वर्षौं त्याग, तपस्या र योगदान गरेका अग्रजहरू धेरै हुनुहुन्छ । उहाँहरूको समन्वय र सहकार्यमा नयाँ पुस्ताले अब सङ्गठनको निर्माण गर्नुपर्छ । पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्ने नीति र कार्यक्रमहरू ल्याइनु पर्छ ।’

उनले पार्टीमा प्रशिक्षण विभाग अत्यन्त कमजोर भएको धारणा प्रकट गर्दै कार्यकर्तालाई सैद्धान्तिक र वैचारिक रूपमा तयार गर्नु जरुरी रहेको स्पष्ट पारे ।

‘कांग्रेसमा अबका सम्पूर्ण निर्णयहरू पार्टीको तल्लो तहबाट आउनुपर्छ, लादिनु हुँदैन’, आचार्यको बताए, ‘तल्लो तहबाट आएका नीति र कार्यक्रमहरू कार्यान्वयन गर्ने हो भने सम्पूर्ण कार्यकर्तामा जिम्मेवारी बोध हुन्छ । माथिबाट गरिएको निर्देशन लादिएकोजस्तो हुन्छ ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell