PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बाँकेमा एचआइभी/एड्सबाट ११३ जनाको मृत्य,९६२ संक्रमित



पहिलोपोस्ट

बाँकेमा एचआइभी/एड्सबाट ११३ जनाको मृत्य,९६२ संक्रमित

  •     राकेशकुमार मिश्र 
    नेपालगञ्ज :  एचआइभी एड्सका कारण बाँके जिल्लाका ११३ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७३/०७४ को असार मसान्तसम्म जिल्लामा ९६२ जना एचआइभी संक्रमित रहेका र ११३ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। 

    बाँकेमा तेस्रो लिङ्गीमासमेत एचआइभी संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका एचआइभी/एड्स फोकल पर्सन रामबहादुर चन्दका अनुसार १३ जना तेस्रोलिङ्गी, ५३५ पुरुष र ४१४ जना महिलालाई एचआइभी संक्रमण भएको छ। 

    त्यस्तै, २६ जना बालबालिकामासमेत एचआइभी संक्रमण भएको पाइएको छ। कार्यालयका अनुसार असुरक्षित यौन सम्पर्क र सुई, लागूऔषध प्रयोगकर्ता एचआइभीको उच्च जोखिममा रहेका छन्। कामका लागि विदेश गएकाबाट पनि एचआइभी सरेको पाइएको चन्दले बताए। 

३९४ जना एचआइभी संक्रमितले मात्र एआरटी सेवा लिइरहेका छन्। समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेकाहरु एआरटी सेवाबाट बन्चित भएका छन्। एक पटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनु पर्ने भएकोले केही संक्रमितले सेवा लिन नमानेको कार्यालयले जनाएको छ। 

एआरटी र पिएमटिसिटी सेवा लिन छुटेका एचआइभी संक्रमितलाई समेट्न सरकारले विशेष नीति अवलम्वन गरेको छ। सन् २०२० सम्म उपचारबाट बञ्चित भएका ९० प्रतिशतलाई सेवा प्रदान गर्र्ने र ९० प्रतिशतलाई सर्वसाधारणालाई एचआइभी संक्रमणको बारेमा जानकारी दिने सरकारको नीति रहेको छ। 

    सरकारी नीति अनुसार बाँकेका प्रत्येक गर्भवतीको एचआइभी जाँच गरिदै आएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले बताए। उनका अनुसार गर्भ जाँच गराउन आउने महिलाको अन्य जाँच सँगै एचआइभी जाँच गरिएको छ। 

    भेरी अंचल अस्पतालले एचआइभी संक्रमितलाई निःशुल्क उपचार सेवाको व्यवस्था गरेको छ। सिडिफोर काउन्ट, एआरटी, पिएमटिसिटी सेवालगायत एचआइभी संक्रमितका लागि छुट्टै वार्डको ब्यवस्था गरिएको भेरी अंचल अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. वीरेन्द्र बहादुर चन्दले बताए । 

    भेरी अंचल अस्पतालबाट ३९४ जना एचआइभी संक्रमितले एआरटी सेवा लिइरहेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell